Sponsor

अस्ताए धनगढी क्रिकेटका अर्जुन



 अर्जुन खड्का सुदूरपश्चिमको क्रिकेटसँग जोडिएरै आउने एउटा नाम हो। उनी बुधबार क्रिकेटप्रेमीका माझबाट अस्ताए। क्रिकेटलाई धेरै दिन सक्ने बेलामा उनको ४५ वर्षमै निधन भयो। उनको निधनले सुदूरपश्चिमको क्रिकेट जगत अहिले शोकमा डुबेको छ।

उनी खेलाडी होइनन्, यहाँको क्रिकेटलाई उचाइमा पुर्‍याउने प्रशिक्षक हुन्। तर उनी सरकारी प्रशिक्षक होइनन्। क्रिकेटमा रुचि राख्ने उनले खेलाडी दौरान नै प्रशिक्षकको पगरी बाँधेका थिए। पछिल्लो समय धनगढी क्रिकेट एकेडेमीमा प्रशिक्षकमा आबद्ध थिए। त्यहीबाट उनको खर्च चल्थ्यो।

जहिलेदेखि उनले क्रिकेट सिकाउन थाले, घरेलु क्रिकेटले उचाइ छुन थाल्यो। उनकै प्रशिक्षणमा अगाडि बढेका प्रेम चौधरी कुनै बेला सुदूरपश्चिमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रने एक्ला खेलाडी थिए। उनैले तिखारेका खेलाडी अहिलेका नेपाली यू–१९ का कप्तान राजु रिजाल, सुनील धमला, सन्तोष भट्ट, सुरेन्द्र चन्ददेखि राष्ट्रिय टिमबाट खेलिसकेका भुवन कार्की र प्रदीप ऐरी पनि हुन्।

‘जतिबेला क्रिकेटलाई थोरैले
बुझ्थे र औंलामा गनिने जतिले खेल्थे, त्यो समयदेखि उहाँले सुदूरपश्चिमको क्रिकेट सम्हाल्नुभएको थियो,’ एसपीए कप आयोजक समितिका अध्यक्ष एवं धनगढी क्रिकेट एकेडेमीका निर्देशक सुवास शाहीले भने, ‘यस क्षेत्रको क्रिकेटमा उहाँको अमूल्य योगदान छ। जहिले पनि यस क्षेत्रको क्रिकेटको इतिहासमा उहाँको नाम सधैं जोडिएर आउनेछ।’ २ वर्षअघिको एसपीए कपमा आयोजक टिम उनकै प्रशिक्षणमा उत्रिएको थियो र सेमिफाइनलसम्म पुगेको थियो।

मुम्बईबाट परिवारका सदस्यसँगै उनी धनगढी आएका थिएँ। बाल्यकाल मुम्बईमा बिताएका अर्जुनको सोख क्रिकेट खेल्ने थियो। परदेशी बाल्य जीवनमा उनले क्रिकेट खेल्न सुरु गरे। नेपाल फर्कनअघिसम्म उनी क्रिकेट खेलाडी नै थिए। मुम्बईमा उनले भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकर, विनोद काम्बली र अजित अगरकर जस्तासँग क्रिकेट खेल्थे।

सचिन क्रिकेटमा कहाँ पुगे। अर्जुन कहाँ अस्ताएँ। जीवनमा अर्जुनले कहिल्यै ब्याट र बल हातबाट छोडेन्न। जीवन मरणान्तसम्म क्रिकेटसँग जोडिएर रहे। उनी कैलालीका क्रिकेटमा जीवन्त बाँचेका छन्।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment