Sponsor

असमान बुँदामा नेपालको गृहकार्य

काठमाडौं: नेपालले भारतसँगको शान्ति तथा मैत्री सन्धि (१९५०) को पुनरावलोकनका लागि प्रबुद्ध समूहको अर्को बैठकमा ठोस धारणा पेस गर्ने भएको छ ।
नयाँदिल्लीमा बुधबार सम्पन्न नेपाल-भारत प्रबुद्ध समूहको बैठकमा नेपाली पक्षले मैत्री सन्धि र त्यसका आधारमा हस्ताक्षरित लेटर अफ एक्सचेन्जका असमान बुँदाबारे समूहको आगामी बैठकमा ठोस प्रस्ताव पेस गर्ने बताएको हो ।


सन् १९५० को शान्ति तथा मैत्री सन्धि र त्यसका आधारमा हस्ताक्षरित लेटर अफ एक्सचेन्जमा भएका अधिकांश बुँदा नेपालका लागि असमान छन् । भारतको परामर्शबिना नेपालले अन्य देशबाट हतियार खरिद गर्न नपाउने, नेपालमा प्राकृतिक स्रोत उपयोगमा भारतलाई प्राथमिकता दिनुपर्नेलगायत बुँदा असमान छन् ।

भारतको अनुमतिबिना अन्य देशबाट हतियार ल्याउन नपाउने प्रावधानले नेपालको स्वतन्त्र र सार्वभौम हैसियतमाथि प्रश्नचिह्न उठाउँदै आएको छ । जसका कारण नेपालभित्र लामो समयदेखि सन्धि खारेजीको माग उठ्दै आएको छ । सन्धिकै आधारमा भारतले नेपालमाथि 'भुटान सरह' व्यवहार गर्दै आएको छ ।

सन्धि भएको ६६ वर्षसम्म पुनरावलोकनका लागि ठोस पहल हुन नसकिरहेका बेला प्रबुद्ध समूहले रचनात्मक पहल थालेको हो ।

'यसपटकको बैठक मूलतः शान्ति तथा मैत्री सन्धिलाई कसरी समयानुकूल परिमार्जन गर्ने भन्नेमा विचार आदानप्रदान भए । आगामी बैठकमा सन्धिका कुन-कुन बुँदा नेपालका लागि असमान छन् भन्नेबारे स्पष्ट अवधारणा पेस गर्नेछौं', समूहका नेपाल संयोजक डा. भेषबहादुर थापाले नयाँदिल्लीबाट टेलिफोनमा अन्नपूर्णसँग भने । उनले सन्धि र त्यसका आधारमा भएको लेटर अफ एक्सचेन्जका विषयमा आगामी बैठक विस्तृतमा कुराकानी हुने बताए ।

'अबको बैठकमा सन्धिअन्तर्गतको लेटर अफ एक्सचेन्जबारे हामी कुरा गर्छौं', उनले भने । दुईदिने बैठकको सुरुमै नेपालले सन् १९५० को सन्धि पुनरावलोकनको विषयलाई उठाएको थियो । भारतीय पक्षले नेपालले सन्धि परिमार्जन गर्न चाहेका विषयमा आगामी बैठकमा आफ्नो धारणा राख्ने भएको छ । भारतले सन्धिको नाम पुरानै रहनुपर्ने बताएको छ ।

सन्धि समयानुकूल परिवर्तन गर्न आवश्यक सुझाव दिने विषयलाई प्रतिवेदनमा समेट्न तयार रहेको भारतीय पक्षका प्रबुद्ध समहूका सदस्यले बताएका थिए । 'सन्धि अद्यावधिक गर्न भारतीय पक्षले सकारात्मक जबाफ दिएको छ । हामी अर्को बैठकमा ठोस रूपमा प्रस्तुत हुन्छौं', बैठकमा सहभागी नेपाल तर्फका कार्यकारी निर्देशक यादव खनालले भने ।

भारतीय पक्षका प्रबुद्ध समूहका सदस्य डा. महेन्द्र पी लामाले नेपाल र भारतबीचको पारवहन र व्यापारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा टिप्पणी गर्दै नेपाली पक्षका सदस्यहरूले नेपालले भारत हुँदै तेस्रो देशसँग गर्ने पारवहन व्यापार सहज नरहेको र विद्यमान पारवहन विन्दुको भरपूर उपयोग नेपालले गर्न नपाएको बताएका थिए ।

त्यस्तै भारतीय पक्षकै अर्का सदस्य डा. बीसी उप्रेतीले नेपाल र भारतको सामाजिक र सांस्कृतिक सम्बन्धबारे कार्यपत्र पेस गरेका थिए । उनले दुई देशको सामाजिक र सांस्कृतिक पक्षलाई बेवास्ता गरिएको तर्क बैठकमा गरेका थिए । 'हाम्रा दुई देशका जनताबीच सदीयौंदेखिको सम्बन्धलाई अझै सुधार्न सांस्कृतिक र सामाजिक पक्ष महत्त्वपूर्ण छ ।

तर यसलाई हामीले बेवास्ता गरिरहेका छौं । यसलाई सम्बन्ध सुधारको विशेष आधार बनाउन सकिन्छ', उप्रेतीलाई उद्धृत गर्दै खनालले भने ।

बैठकमा नेपाल-भारत सीमामा जनताले भोग्दै आएका समस्याबारे पनि कुराकानी भएको थियो । त्यस्तै नेपाल-भारतबीच जलस्रोतको दीर्घकालीन उपयोगका लागि कसरी सहकार्य गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।

संयोजक डा. थापाले भारतीय पक्षसँगको बैठक सौहार्दपूर्ण रहेको बताए । 'पहिलो बैठककै स्पिरिटमा दोस्रो बैठक पनि सकारात्मक रूपमा टुंगिएको छ', उनले भने । डा. थापाले भारत र नेपालबीचका विवादित र जटिल विषयमा समाधान खोज्न बैठक फलदायी भएको दाबी गरे । आगामी डिसेम्बर अन्तिम साता नेपालमा बस्ने भएको छ ।

समूहमा नेपालतर्फबाट संयोजक थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद डा. राजन भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय सदस्य छन् । भारतीय पक्षबाट समूहको संयोजकमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकद्वय बीसी उप्रेती, महेन्द्र लामा र भारतीय पूर्वराजदूत जयन्त प्रसाद सदस्य छन् ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment