पछि दाङबाट पनि धपाइएर बरेवा पुगेकी उनले दरबार बनाउन लगाइन्। दीपकुमारीका पतिको नाम भूपेन्द्र शाह भएको बरेवा दरबारमा खेल्दै हुर्केका उद्धव भट्टराई (६२) ले बताए।
भूपेन्द्र राजा सुरेन्द्रविक्रम शाहका माइला भाइ उपेन्द्रका खलक भएको भट्टराईको अनुमान छ।
उनका अनुसार, दीपकुमारी र भूपेन्द्रले बनाउन थालेको दरबार उनीहरूका नाति रामराजा मोहनप्रताप शाहले पूरा गरेका थिए। भट्टराईका हजुरबुबा र पिता बरेवा दरबारका पुरोहित थिए।
बरेवा दरबारको भुईंतल्लामा विशाल पुस्तकालय थियो। इष्टइण्डिया कम्पनीसँग राम्रो सम्बन्ध भएका रामराजा विद्वान र ऐतिहासिक पुस्तक–कागजपत्रका संकलक थिए। त्यो व्यवस्थित पुस्तकालयमा कास्की र तनहुँका राजा तथा पृथ्वीनारायण शाहबीच लेखालेख भएका पत्रहरू रहेको आफूले सुनेको भट्टराई बताउँछन्।
तर, अंग्रेजहरूले रामराजालाई बिहारको पश्चिम चम्पारन (रामनगर) मा निम्त्याएर राखेपछि उनका उत्तराधिकारीले मूल्यवान सामानहरू कौडीको भाउमा बेचे। १९९० सालको भुईंचालोमा दरबारको अग्रभाग भत्केर पुस्तकालयका ऐतिहासिक दस्तावेज, भोजपत्र, ताम्रपत्र र पेन्टिङहरू पुरिए, पुनर्निर्माण भएन।
अहिले यसका अंशियारहरूले सबै जमिन प्लटिङ गर्दा दरबारसहितको क्षेत्र १५―२० टुक्रा भएको छ। आफ्नो भागमा परेको खण्ड भत्काउन सबैलाई हतारो छ, यसलाई अस्वाभाविक भन्न नमिल्ला।
जोगाउने प्रयास
बरेवा दरबार जोगाउने पहल हुँदै नभएको होइन। 'पञ्चायती प्रजातन्त्र'का प्रवर्तक राजा महेन्द्र एकपटक हेलिकप्टरबाट बरेवा दरबार परिसरमा उत्रिंदा स्थानीयवासीले 'सरकारबाटै दरबारको संरक्षण होस्' भन्ने माग गरेका थिए रे। त्यसबेला चाख लिएर मुन्टो हल्लाएका राजाले केही नगरेपछि दरबार बचाउने अन्तिम पहलस्वरुप कलैयाको सबै प्रशासनिक एकाइ त्यहीं राख्ने प्रस्ताव गरिएको उद्धव भट्टराई बताउँछन्। काठमाडौंको सिंहदरबार जस्तो बनाउने त्यो सोच पनि विफल भएपछि बरेवातिर हेर्नै छाडेको उनले बताए।
0 comments:
Post a Comment