दार्जीलिङमा एकपछि अर्काे गर्दै राजनीतिक हत्याहरू भइरहेका छन् । तर हत्यारा र तिनका संरक्षकको खोजी गरी दण्ड दिलाउने कुरामा पश्चिम बङ्गाको कम्युनिष्ट सरकारले कुनै चासो राखेको देखिँदैन । आफ्ना जातीय नेता तथा राजनीतिक समर्थकहरूको क्रमिक हत्यालाई टुटुटुलु हेरेर बस्ने बाहेक सुवास घिसिङ पनि केही गरिरहेका छैनन् । कतिपय घटनामा त स्वयं घिसिङ माथि नै जनताले औंला तेस्र्याउन थालेका छन् ।
डेढ दशकअघि चर्किएको ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दार्जीलिङ क्षेत्रका कति राजनीतिक व्यक्तिहरू मारिए भन्ने सही तथ्याङ्क कसैसँग छैन । त्यसमा झ्ण्डै तीन सय मानिस मारिएको दाबी एकथरीको छ । तर त्यो आन्दोलनपछि पनि त्यहाँ विभिन्न राजनीतिक पार्टीसँग सम्वद्ध एक दर्जन नेताहरू मारिइसकेका छन् । दुई वर्षअघि खर्साङको सातघुम्तीमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) र दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) का प्रमुख सुुवास घिसिङमाथि समेत बम आक्रमण भएको थियो । त्यस घटनामा घिसिङ चतु¥याइँपूर्वक बच्न सफल भए पनि उनका गाडी चालक र अङ्गरक्षकले ज्यान गुमाएका थिए ।
श्रृङ्खलाबद्ध राजनीतिक हत्याका पछिल्लो कडी हुन् प्रकाश थिङ । उनी १ वैशाख २०६० मा पुलबजार, विजनबारीस्थित आफ्नै घरछेउमा गोली हानी मारिए । तर थिङलाई कसले र किन मा¥यो ? यसअघिका यस्तै हत्याकाण्ड जस्तै थिङ हत्या प्रकरणमा पनि प्रश्नहरू मात्र छन्, हत्यारा र हत्याको कारण कतैबाट प्रकट भइरहेका छैनन् । सिङ्गो भारतको राजनीतिमा व्यक्तिहत्या धेरै नौलो कुरा मानिँदैन । तर नेपालीहरूको बाहुल्य रहेको दार्जीलिङका निम्ति यो नयाँ मात्र नभई गम्भीर चिन्ताको विषय पनि भएको छ ।
नेपालीहरूको छुट्टै राज्य ‘गोर्खाल्याण्ड’ स्थापनाको लागि भएको आन्दोलनलाई सन् १९८८ मा यसका प्रमुख नेता सुवास घिसिङले ‘दार्जीलिङ गोर्खा पार्वत्य परिषद’ अर्थात् सीमित स्वायत्त सरकारमा सहमति जनाई अन्त्य गरेका थिए । यो सहमतिप्रति छुट्टै राज्यका प्रबल समर्थक कैयौँ नेता र समूहहरूको पक्कै पनि चित्त बुझ्ेको थिएन । त्यसपछि भएका हत्याको श्रृङ्खलालाई धेरैले यही घटनासँग जोडेर हेरेका छन् ।
कसको हत्या कसरी भयो
सुवास घिसिङ |
सुवास घिसिङले पार्वत्य परिषद् बनाउने नयाँ दिल्ली र कलकत्ताको प्रस्ताव स्वीकार गरेको केही महिनापछि नै १३ जनवरी १९८९ मा दार्जीलिङमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का शीर्षस्थ एवं लोकप्रिय नेता तथा तत्कालीन राज्यसभाका सदस्य टी.एस.गुरुङको आफ्नै घरछेउमा निर्मम हत्या भएको थियो । उनी कम्युनिस्ट नेता भए पनि गोर्खाल्याण्डका कट्टर समर्थक थिए । ८ जुलाई १९९२ मा माक्र्सवादीकै कालेबुङ नगर कमिटी सचिव सन्तोष कार्कीको हत्या भयो । त्यसपछि लगत्तै ७ सेप्टेम्बरमा पार्टीको एउटा कार्यक्रमबाट घर फर्किरहेकी माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा) समर्थक विद्यार्थी सङ्गठन स्टूडेण्ट फेडरेशन अफ इण्डियाकी सदस्य रेखा तामाङ्गलाई बेला पेशोक भन्ने ठाउँबाट अपहरण गरेर बलात्कार गरी मारियो । त्यसको दुई महिनापछि २१ नोभेम्बरमा गोर्खा लिगका महासचिव तथा नेपाली भाषा आन्दोलनका एक प्रमुख नेता सुदर्शन शर्मा गोली प्रहारको शिकार भए । यसरी सन् १९८९ मा मात्रै गोर्खाल्याण्ड समर्थक चार जनाको हत्या भयो ।
चुनाव जितेको हप्ता दिन पनि नबित्दै २८ मार्च १९९९ मा दार्जीलिङका पार्षद तथा गोरामुमोका दार्जीलिङ शाखा अध्यक्ष रुद्रकुमार प्रधानलाई बीच बजारमा खुकुरीले छप्काएर अपराधीहरू भागे । ५ मार्च २००१ को दिन तकभर चिया कमानमा रंगित ग्राम पञ्चायतका उपप्रधान तथा माकपा नेता नरेन राई मारिए । गत वर्ष २ जुलाई २००२ मा चुङथुङ चिया कमानमा पूर्व मन्त्री एवं क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टीका नेता दावा लामाका छोरा देवचन्द्र लामाको हत्या भयो । सोही वर्ष ३ अक्टोबरमा गोरामुमोका नेता सी.के. प्रधानलाई बजारमा दिउँसै गोली हानी मारियो । यी र यस्ता कुनै पनि हत्या प्रकरणको गहिरिएर छानबिन गर्ने तथा हत्यारा र तिनका संरक्षकको खोजी गरी कानूनतः दण्ड दिलाउने कुरामा शान्तिसुरक्षाको जिम्मा लिएको पश्चिम बङ्गाल सरकार र त्यहाँको प्रहरीले खासै चासो राखेको देखिँदैन । र, आफ्ना जातीय नेता तथा राजनीतिक समर्थकहरूको क्रमिक हत्यालाई टुटुटुलु हेरेर बस्ने बाहेक सुवास घिसिङले पनि कुनै पहल गरेको पाइँदैन । कतिपय घटनामा त स्वयं घिसिङ माथि नै जनताले औंला तेस्र्याउन थालेका छन् ।
राजनीतिक हत्या श्रृङ्खलाको पछिल्लो शिकार प्रकाश थिङलाई पाँच–छ जनाको समूहले उनको घरनजिकै पछाडिबाट गोली हानेर मारेको थियो । थिङले चुनाव जितेको विजनवारी क्षेत्र ‘लालकिल्ला’ अर्थात् कम्युनिस्टहरूको गढ मानिन्थ्यो । गोर्खाल्याण्ड आन्दोलनले समेत हल्लाउन नसकेको सो गढलाई गोरामुमोको पकडमा ल्याउने काममा थिङको महŒवपूर्ण योगदान थियो । गोरामुमोका प्रेम लिवाङलाई हराएर माकपाका के.पी. बातरले दागोपापको पहिलो चुनाव जितेका सो क्षेत्रमा प्रकाश थिङले सबैलाई आश्चर्यचकित पार्दै माकपाका जे.बी. मोक्तानलाई साढे चार हजारभन्दा बढी भोटले हराएर सन् १९९३ को दोस्रो चुनाव जितेका थिए । गोरामुमो दार्जीलिङ शाखाका कोषाध्यक्ष तथा परिषदको सिचाई तथा शिक्षा विभागका पार्षद रहेका थिङ दार्जीलिङमा यसबीच मारिएका गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका तेस्रो प्रभावशाली नेता हुन् ।
किन भइरहेछ गोर्खे नेताहरूको हत्या ?
स्व. सी.के.प्रधानकी श्रीमती शिला प्रधान श्रीमानको तस्वीरसँग । |
स्व. प्रकाश थिङको पार्थिव शरीर र उनका शोकाकूल श्रीमती र छोरी । |
पछिल्लो समय दार्जीलिङका गोर्खे नेताहरूको सिलसिलाबद्ध हत्या हुनु र एउटै पनि हत्यारा पक्राउ नपर्नुले थुप्रै प्रश्न तथा आशङ्का उब्जाएको छ । हिमाल प्रतिनिधिले दार्जीलिङ, कालेबुङ, खर्साङ र सिलिगुडीका नेता तथा बुद्धिजीवीहरूसँग सोधपुछ गर्दा केहीले यसलाई ‘गोर्खाल्याण्ड आन्दोलनकै उपज’ बताए भने केहीले ‘पहाडमा गोर्खा मुक्ति आन्दोलनलाई उठ्न नदिने माक्र्सवादी कम्युनिस्ट पार्टीको षड्यन्त्र’ । कालेबुङका चर्चित नेता सी.के. प्रधानको हत्यापछि सुवास घिसिङको पार्टीमा ठूलै हलचल मच्चियो । दार्जीलिङका हजारौँ मानिसहरू टिष्टा किनारमा ओइरिएका उनको अन्त्येष्टिमा । तर सुवास घिसिङ त्यहाँ गएनन्, न उनले समवेदनाका एक शब्द नै बोले । यसले गर्दा कालेबुङका जनता र गोरामुमोकै कार्यकर्ताहरू पनि घिसिङदेखि क्रूद्ध भए । परिणामस्वरुप घिसिङको गोरामुमोबाट छुट्टिएर कालेबुङ र दार्जीलिङका केही प्रभावशाली युवा नेता, सी.के. प्रधानकी धर्मपत्नीलगायत थुप्रै कार्यकर्ताहरूले गोरामुमो (सी) भन्ने छुट्टै पार्टी स्थापना गरे । गोर्खाल्याण्ड आन्दोलन सफल पार्ने उद्देश्यले अहिले त्यो पार्टी कालेबुङ र दार्जीलिङमा ठूला–ठूला आमसभा गरी सङ्गठन विस्तार गर्ने कार्यमा लागेको छ ।
यी सभाहरूमा गोरामुमो (सी) का नेताहरूले सी.के. प्रधान गोर्खाल्याण्ड आन्दोलनका कट्टर पक्षपाती भएकाले सुवास घिसिङ र बङ्गाल सरकारको मिलेमतोमा उनको हत्या गरिएको हो भन्ने आरोप लगाउने गरेका छन् । पार्टीका दार्जीलिङ यूनिट संयोजक तथा विधायक डी.के. प्रधानले एउटा सभामा गोरामुमोलाई सागरको संज्ञा दिँदै “सागरमा बसेर गोहीसँग दुस्मनी मोलेकाले रुद्र प्रधान र सी.के. प्रधान त्यसको शिकार भएको” बताएका थिए । उनले सी.के. प्रधानको हत्या हुनुअघि आफू र सी.के.ले छुट्टै राज्य गोर्खाल्याण्डको लागि गोरामुमो छोडेर अलग्गै पार्टी गठन गर्ने तारतम्य मिलाइसकेको पनि बताए । “त्यसैले षड्यन्त्रमूलक ढङ्गले उनको हत्या गरियो,” डी.के. को भनाइ थियो ।
कालेबुङस्थित सी.के. प्रधानको घरमा यस प्रतिनिधिसँग कुरा गर्दै उनकी धर्मपत्नी शिला प्रधानले भनिन्, “गोर्खाल्याण्ड आन्दोलन सफल पार्ने मेरो श्रीमानको सपना थियो, तर पहाडमा गोर्खाल्याण्ड दिन नचाहने तत्वहरूले उहाँको हत्या गरिदिए । वास्तवमा मेरो श्रीमानले घिसिङलाई आफ्नै बाऊ जस्तो मान्नुहुन्थ्यो, तर सातघुम्तीको केसमा उल्टै उहाँलाई फसाउने षड्यन्त्र गरियो । र, त्यतिले पनि नपुगेर हत्या गरियो ।”
गोरामुमो (सी) का युवा नेता मेक्सिमस कालीकोटे दार्जीलिङमा हत्याहरूको श्रृङ्खला बङ्गाल सरकार र स्थानीय दागोपाप सरकारको मिलेमतोमा भइरहेको आरोप लगाउँछन् । उनको प्रश्न छ, “हत्यामा उनीहरूको हात नहुँदो हो त किन हत्याराहरू खुलेआम घुम्दा पनि पक्राउ पर्दैनन् ?” कुराकानीको क्रममा कालीकोटेले सी.के.को हत्यारा नीरे गुरुङ्ग हो भनी स्थानीय जनताले आफ्नो पार्टी कार्यालयमा पठाएको एक पत्र देखाए । तर, प्रशासनले उसलाई पक्रने र छानबिन गर्ने कुनै काम नगरेको उनको भनाइ छ । क्रान्तिकारी माकपाका केन्द्रीय सचिवालय सदस्य तथा खर्साङका वकिल आई.के. शर्मा बङ्गाल सरकारले सुवास घिसिङलाई छाडेर दार्जीलिङमा अरू कसैलाई ‘पावर’मा आउन नदिने बताउँछन् । “किनभने यहाँ फेरि गोर्खाल्याण्ड आन्दोलन चर्कन नसकोस् भन्ने उनीहरूको उद्देश्य छ । त्यसैले पार्टी बाहिरका हुन् वा भित्रका, गोर्खाल्याण्डको आवाज उठाउने प्रत्येक गोर्खे नेताहरूको यसरी नै सफाई भइरहन्छ । माकपाका नेता टी.एस. गुरुङ्गलाई पनि गोर्खाल्याण्ड आन्दोलनको समर्थक भएका कारण उनकै पार्टीले सिध्याएको हो । माकपाले उनको हत्या गोरामुमोले गरेको आरोप लगाए पनि त्यो विल्कुलै गलत छ,” शर्मा भन्छन् ।
तर, बङ्गालको सत्तारुढ दल माकपाका दार्जीलिङका युवा नेता सुरज पाठकको विचार बेग्लै छ । उनी भन्छन्, “दार्जीलिङमा चलेको व्यक्तिहत्याको राजनीति गोर्खाल्याण्ड आन्दोलनको उपज हो । राजनीतिक क्षेत्रलाई आतङ्कित पार्ने यो षड्यन्त्र कतै न कतै एक्सपोज हुनेछ ।” माकपाका जिल्ला सदस्य गोपाल शर्मा पनि “सरकारी पैसा उपभोग गरेर गुण्डा पाल्ने घिसिङ प्रवृत्तिको परिणाम” मान्छन् व्यक्तिहत्याको यो सिलसिलालाई । दार्जीलिङको शक्तिशाली विद्यार्थी सङ्गठन ‘आग्शु’का अध्यक्ष रोशन गिरीले यसरी धमाधम समाज डो¥याउने नेताहरू मारिनु राम्रो हैन भन्दै तर यो कोबाट कसरी भइरहेको छ स्पष्टसँग किटान गर्न नसकिने बताए ।
दुई वर्षअघि खर्साङ, सातघुम्तीमा सुवास घिसिङमाथि बम आक्रमण गरेको आरोप लागेका गोर्खा लिगका नेता कालिम्पोङ्गका नर्देन लामा पहाडमा गोर्खाल्याण्डको आवाज उठाउनेलाई विभिन्न आरोप लगाई थुन्ने, मार्ने गरिएको बताउँछन् । उनलाई सो आक्रमणमा संलग्न भनी झेसपोल गरिएको आधारमा नेपालको संखुवासभाबाट पक्राउ गरी छत्रे सुब्बासँगै थुनिएको थियो । हाल तारिखमा छुटेका लामा गोर्खाल्याण्डको माग अघि बढाउन गोर्खा लिग छाडेर गोरामुमो (सी) सँग आबद्ध भएका छन् । विभिन्न पार्टी र व्यक्तिहरूले हत्याको श्रृङ्खलालाई गोर्खाल्याण्ड आन्दोलनसँग जोड्न खोजेको बेला गोरामुमोकै एक प्रभावशाली नेता तथा खर्साङका पार्षद आई.एन. प्रधान भने यो षड्यन्त्र जताबाट भए पनि गोर्खे नेताहरूलाई मारेर पश्चिम बङ्गाल सरकारलाई नै बलियो बनाउने चेष्टा भएको बताउँछन् । “प्रजातन्त्रमा व्यक्तिहत्याको राजनीति सुहाउने कुरा हैन । यो सिलसिला चलिरह्यो भने भोलि पहाड नेताविहीन बन्नपुग्छ,” उनी भन्छन् । समकक्षी पार्षदहरूको धमाधम हत्या हुन थालेकोले आई.एन. प्रधानलगायत धेरैजसो पार्षदहरू आफ्नो जीवन खतरामा परेको महसूस गरी कम्मरमा पेस्तोल र अङ्गरक्षक लिएर हिँड्न थालेका छन् हिजोआज । हालैदेखि सरकारले आफूलाई एक जना बङ्गाली अङ्गरक्षक थपिदिएको पार्षद प्रधानले बताए ।
‘जो मारियो उही दोषी !!’
पहाडमा भइरहेका श्रृङ्खलाबद्ध राजनीतिक हत्यालाई अधिकांश बुद्धिजीवीहरू ‘आफ्नै नेताहरूको कमी–कमजोरीको उपज’ ठान्छन् । प्रजाशक्ति दैनिकका स्तम्भकार वीरबहादुर गोर्खेको विचारमा, हत्याका कारण जे जस्ता भए पनि कतिपय ठाउँमा पार्षदहरूकै पनि गल्ती छ । “हाम्रा पार्षदहरूमा राजनीतिक दूरदर्शिताको अभाव छ । पढेलेखेका युवा, अनुभवी बुढापाका र बुद्धिजीवीहरूको सट्टा खुकुरी र पेस्तोल भिर्ने गुण्डा केटाहरूलाई वरिपरि लिएर हिँड्ने प्रवृत्तिको कारण उनीहरूले यो दुष्परिणाम भोग्नु परेको हो,” उनको भनाइ थियो । यहाँ स्मरणीय कुरा के छ भने दागोपापका तीनै जना पार्षदको हत्या गर्नेहरू २० वर्ष नकाटेका युवा थिए, जसलाई तिनै पार्षदले चुनावको बेला प्रयोग गर्ने गरेको बताइन्छ । पार्षद प्रकाश थिङका हत्यारा भनी आशङ्का गरिएका गोक काँइला उर्फ कमल गुरुङ्ग, विशाल राई, मिलन राई, हर्के मगर र मनकुमार राई चुनावको बेला उनकै सहयोगी भएका स्थानीय अखबारहरूले लेखेका छन् ।
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई दार्जीलिङको राजनीति प्रजातान्त्रिक र शान्तिपूर्ण तवरबाट नचलेकोमा चिन्ता व्यक्त गर्दै भन्छन्, “हिंसात्मक बाटोबाट दिगो समाधान निस्किँदैन । यो नै अहिले चिन्ताको विषय हो ।” खर्साङका साहित्यकार बुद्धिमान प्रधानको धारणा छ, “यो हत्याको कुरा पार्टीहरूको आन्तरिक समस्याबाट उत्पन्न भएको हुनसक्छ । अरू धेरै कुरा हामी नन्पोलिटिसियनहरूलाई के थाहा ?” नेपाली चलचित्रका नायक चेतन खड्का राजनीतिक हत्याले जनमानसमा नराम्रो असर पु¥याएको बताउँदै यसको अन्त्य तुरुन्तै हुनुपर्छ भन्छन् । गोर्खा जनपुस्तकालय खर्साङका सभापति तिलक शर्मा पनि सबैले हत्याको राजनीति त्याग्नु पर्छ भन्दै केही आक्रोसित मुद्रामा भन्छन्, “खासगरी यहाँका वामपन्थीहरूले मुकुण्डो ओढेर एउटा बहुसङ्ख्यक जातिको स्वार्थमा गोर्खेहरूको लागि आत्मघाती काम गर्र्दैछन् ।”
0 comments:
Post a Comment