Sponsor

गोर्खाल्याण्डका प्रणेता थिए घिसिङ



भारतमा बसोबास गर्ने भारतीय नेपालीभाषी गोर्खालीलाई एकसुत्रमा बाँध्ने एकजना पात्रका रुपमा चिनिन्छन् सुवास घिसिङ । सन् १९८० मा उनकै नेतृत्वमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गठन गरेका थिए । सन् १९८० को दसकको मध्यतिर दार्जीलिङका नेपाली भाषी गोर्खालीका लागि छुट्टै स्वायत्त राज्यको आवश्यक्ता छ भन्दै उनले गोर्खाल्याण्ड आन्दोलनको सुरुवात गरे । जुन राज्य प्राप्तिका लागि गरिएको भए पनि सन् १९८८ मा दार्जीलिंगमा छुट्टै प्रशासनिक इकाइ दार्जीलिङ गोर्खा पार्वतीय परिषदमा टुंगियो ।


गोर्खाल्याण्ड आन्दोलनले केही महिना मै दार्जीलिंगमा व्यापक असर गर्यो । विस्तारै आन्दोलनले हिंसात्मक रुप लियो । आन्दोलनले पहाडको जनजीवन ठप्प बनायो । छिमेकी राज्य सिक्किममा समेत गोर्खाल्याण्ड आन्दोलनको असर पर्यो । महिनौ दिनसम्म राजमार्ग ठप्प पारिँदा खाद्यान्न लगायत बस्तु आपूर्तिमा सिक्किम सरकारलाई समेत अप्ठ्यारो पर्यो ।
घिसिंगको जन्म सन् १९३६ मा दार्जीलिंगको मञ्जु चिया कमानमा भएको थियो । स्नातक तहमा अध्ययन गर्दा पहाडका जनताको गरिबीका बारेमा आवाज उठाउँदा उनी पक्राउ समेत परेका थिए । पढाई छाडेर तरुण संघको साधारण सचिव बनेका उनको राजनीतिक जीवन त्यसबेलाबाट औपचारिक सुरु भएको थियो ।
सन् २००७ मा दार्जीलिंगका प्रशान्त तामांगलाई इन्डियन आइडल बनाउन उनकै सहयात्री विमल गुरुङ कम्मर कसेर लागेका थिए । त्यसबेला तामाङलाई समर्थन नगरेको भन्दै दार्जीलिङका सर्वसाधारणले उनको आलोचना गरे । गुरुङले व्यापक जनसहभागित जुटाएसंगै त्यस समर्थनलाई राजनीतिक स्वरुप दिए । त्यसपछि गुरुङले गोर्खा जनमुक्ति मोर्चाको गठन गरे । उनले जन समर्थन पाएपछि घिसिङलाई परिषदको अध्यक्षबाट राजीनामा गर्न बाध्य बनाए । त्यसपछि घिसिङ पहाडबाट विस्थापित भएपछि जलपाईगुढीमा बसोबास गर्न थाले । अन्य सहयात्री नेताहरु पनि उनलाई एक्ल्याउँदै गुरुङसँग सामेल भएका थिए ।

पश्चिम बंगालको बामपन्थी सरकार र कांग्रेस नेतृत्वको केन्द्र सरकारलाई घिसिङको नेतृत्वको गोर्खाल्याण्ड आन्दोलन निकै ठूलो चुनौतिको विषय बनेको थियो । तर दार्जीलिङका मात्र होइन भारतभरका भारतीय नेपाली भाषी गोर्खालीलाई उनीहरुका हक अधिकारका लागि एकत्रित गर्न पहिलो पात्र घिसिङ नै थिए भन्छिन् छिमेकी राज्य सिक्किमकी पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारी । भण्डारीले भनिन्, ‘भारतमा बर्सौंदेखि दमनमा परेका नेपालीभाषी भारतीयलाई एकसुत्रमा बाँध्ने उनी एक होनाहार व्यक्ति हुन् ।’


उनी दार्जीलिङ गोर्खा पार्वतीय परिषदको अध्यक्षको रुपमा लामो समयसम्म रहे । सन् २००७ मा गोर्खाल्याण्ड आन्दोलन पुनः उठाउनु पर्छ भन्दै उनकै सहयोगी विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चाको स्थापना गरेपछि घिसिङका विरुद्धमा मोर्चाले गतिविधि चलाएका कारण असुरक्षित महसुस गरी घिसिङ दार्जीलिङ छाडेर तराईमा बसोबास गर्दै आएका थिए । तर, गोर्खा जनमुक्ति मोर्चाका नेता हर्कहादुर क्षेत्री गोर्खाल्याण्ड शब्दको उच्चारण नै घिसिङबाट नै भएको बताउँछन् । क्षेत्रीले भने, ‘भारतका हरेक नेपालीभाषीमा गोर्खाल्याण्ड भन्ने शब्द झुण्ड्याउने श्रेय उनैलाई जान्छ ।’

तर अलग राज्य गोर्खाल्याण्ड पाउने घिसिङको सपना अहिले पनि पूरा हुन सकेको छैन । उनी राजनीतिमा आउन अघि भारतीय गोर्खा राइफल्सका लडाकु थिए । भारतमा गोर्खाल्याण्ड आन्दोलन चर्काउने सुवास घिसिङको बिहीबार अपरान्ह राजधानी दिल्लीको गंगाराम अस्पतालमा मृत्यु भएपछि भारतीय नेपालीभाषी गोर्खाली शोकाकूल बनेका छन् । कतिपयले उनलाई हक्की स्वभावका नेताका रुपमा चित्रण गर्छन् भने कतिपयले अरुले दिएको सल्लाह नमान्ने र आफ्नो पार्टीको उत्तराधिकारी समेत बनाउन नचाहने नेताको रुपमा लिने गर्छन् ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment