Sponsor

ऐतिहासिक उपरदाङगढी



उपरदाङगढी चितवनमा भए पनि यो नाम देशकै इतिहाससँग जोडिएको छ ।  समुद्री सतहबाट १ हजार २ सय ७५ मिटर उचाइमा रहेको उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो, जसको इतिहास नेपालको एकीकरणसँग जोडिएको छ ।गढी संरक्षणको अभावमा जीर्ण हुँदै गएको छ । 



चितवन देशकै विकसित जिल्लाको सूचीमा परे पनि त्यसको प्रभाव गढीसम्म पुग्न सकेको छैन । गढीको संरक्षण तथा विकासका लागि वर्षोनि हुने जिल्लापरिषद्ले योजना बनाउँछ । तर, हालसम्म कुनै योजना पूर्ण रूपमा सम्पन्न हुन पाएका छैनन् । गढीको व्यवस्थित संरक्षण गर्ने प्रयास नभएकाले यहाँका ऐतिहासिक सम्पत्ति मासिँदै गएका छन् ।नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले 'अग्लो ठाउँ उपयुक्त हुने’ भन्दै पृथ्वीनारायण शाहका नाति तथा उपरदाङ्गढी क्षेत्रका तत्कालीन प्रशासक शत्रुभञ्जन शाहले विसं १८५७ मा गढीको स्थापना गरेको जानकारहरू बताउँछन् । २०१७ सालअघि सोही किल्लालाई चितवनको सदरमुकामका रूपमा पनि प्रयोग गरियो ।


 चारैतिर भिरालो जमीन र बीचमा रहेको थुम्को गढीको विशेषता हो । यो गढी ६ सय ३९ वर्ग मिटरमा फैलिएको छ । चौघेरामा रहेको ढुङ्गाले बनेको गढीको किल्ला प्रवेश गर्ने एक मात्र ढोका रहेको छ । यसमा लगाइएको ढुङ्गाको पर्खाल ६ मिटर अग्लो र ३ मिटर चौडा छ । किल्लाभित्र छानोविहीन कोतघर, पानी जम्मा गर्नका लागि इनार र चौतर्फी सुरक्षा घेराका लागि बनाइएका नौओटा प्वाल छन् ।




उपरदाङगढी पुग्न सदरमुकाम भरतपुरबाट एक घण्टाको गाडी यात्रा पछि शक्तिखोरबाट तीन घण्टाको उकालो पैदल यात्रा गर्नुपर्छ । ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको यस गढीको अवलोकन गर्न जिल्ला र जिल्लाबाहिरका मानिस आउने गरेका छन् । यहाँसम्म पुग्नका लागि कहीँ ठाडो उकालो त कहीँ साँघुरो बाटो हिँड्नुपर्छ ।

गढीबाट सूर्योदय र सूर्यास्तको दृश्य अवलोकन गर्न सकिन्छ । आफ्नो छुट्टै पहिचान लिएर बाँचिरहेका चेपाङ समुदायको रहनसहन नियाल्ने अवसर पनि यहाँ पाइन्छ । पछिल्लो समयमा गढी प्राकृतिक विनाशको शिकार बन्दै गएको छ । केही वर्षअघिसम्म हरियो वनजङ्गलले ढाकिएको यहाँको पहाडी क्षेत्र अहिले पूरै नाङ्गिएको छ । तैपनि विभिन्न दृश्यावलोकन गर्दै, चिसो पानी पिउँदै नागबेली उकालोको यात्रा गर्दा बेग्लैखालको अनुभव हुन्छ ।



स्वच्छ हावापानी र अत्यन्त कम जनघनत्व रहेको गढीक्षेत्र पर्यटकीय दृष्टिकोणले निकै नै उपयुक्त छ । 'किल्लाबाट चितवनका सबैजसो क्षेत्रको दृश्यावलोकनसमेत गर्न सकिने भएकाले पनि यसको महत्त्व बढी नै छ,' विगत १० वर्षदेखि गढीको संरक्षण गर्दै आएका होमबहादुर बुढाथोकी बताउँछन् ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment