Sponsor

तुल्सीलालको सम्झना

विक्रम संवत् १९७३ जेठ १४ जन्मिएका तुल्सीलालको २०५४ साल साउन १७ गते निधन भएको थियो । शोषित पीडित मानिसहरूको उन्नति, प्रगति र उत्थानका लागि थुप्रै दु:ख कष्ट र जेलनेलको यातना भोगेका उनले प्रवासमा समेत १९ वर्षभन्दा बढी समय निर्वासित जीवन बिताएका थिए । आफ्नो सिंगो जीवन राजनीतिक परिवर्तनका निम्ति समर्पण गरे ।

१०४ वर्षीय जहानियाँ शाणा शासनविरुद्धको आन्दोलनदेखि नै जनतालाई अधिकार सम्पन्न बनाउन लागिपरेका तुल्सीलालले २००७ सालमा मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि पनि अनेकौं आन्दोलनको अगुवाई गरे । प्रजातन्त्र प्राप्तिपछि देशी–विदेशी षड्यन्त्र, मुलुकको प्रजातन्त्र, सार्वभौमसत्ताको रक्षाको लागि दिल्ली सम्झौताविरुद्ध संघर्ष गर्दा भारतको मोतीहारी र भागलपुर जेलमा उनी आठ महिना बन्दी बनाइएका थिए । भारतको स्वतन्त्रता संग्राम अर्थात अंग्रेज धपाउ आन्दोलनमा समेत तुल्सीलालको योगदान रह्यो । २०४६ सालको जनआन्दोलनताका संयुक्त वाममोर्चाका मानार्थ अध्यक्षका रुपमा उनले आन्दोलनमा प्रेरणादायी भूमिका खेलेका थिए । उनको नेतृत्वमा २००९ सालमा तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका जिल्लाका विभिन्न भागमा भएको व्यापक किसान आन्दोलनका क्रममा करोडौं रुपैयाँका नक्कली तमसुक जलाउने काम भएको थियो । नेपाली समाज विशेषगरी किसान आन्दोलनमा पुर्‍याएको अतुलनीय योगदानले गर्दा आज पनि मानिसहरूको उनको नाम श्रद्धापूर्वक लिने गर्दछन् । वि.सं. २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्द लागेपछि भूमिगत कार्यशैली अपनाएर पार्टी काम र अखिल नेपाल किसान संघको अध्यक्षको हैसियतले देशका किसानहरूलाई संगठित गरेका तुल्सीलालकै अगुवाईमा नेपालमा किसान आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको थियो । २०१५ को आम निर्वाचनमा उपत्यकाको ललितपुर निर्वाचन क्षेत्रबाट निर्वाचित तुल्सीलाल नेपालको इतिहासमा नै प्रथम जननिर्वाचित कम्युनिष्ट पार्टीको नेता थिए । २०१७ पौष १ गते राजा महेन्द्रले जननिर्वाचित संसद् र सरकार विघटन गर्न शाहीसेना परिचालन गर्दै पार्टीहरूमाथि पुन: प्रतिबन्द लगाएपछि तुल्सीलाल पुन: भूमिगत भए । त्यसपछि उनी २०१९ साल वैशाखमा भारतको बनारसमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट सर्वसम्मत महासचिव चुनिए । निरंकुश निर्दलीय पञ्चायती व्यवस्था, महेन्द्रको हुकुमीशाही शासनविरुद्ध नेकपाको अग्रणी नेताको हैसियतले उनले जीवनभरि जनसंघर्ष गरे ।


 २०४६ सालको संयुक्त जनआन्दोलनमा वाममोर्चाको मानार्थ अध्यक्षको हैसियतले २०४६ फागुन ७ गते हँसिया, हथौडा अंकित रातो झण्डा फहराउँदै संयुक्त जनआन्दोलनको थालनी गर्दै काठमाडौंको सुन्धाराबाट गिरफ्तारी दिने प्रथम वामपन्थी कम्युनिष्ट नेता तुल्सीलाल नै थिए । उनी जस्ता त्याग र बलिदानका प्रेरकहरूकै कारण आन्दोलन सफल भयो । मुलुक यतिबेला संविधान निर्माणको ऐतिहासिक चरणमा छ । जनताका प्रतिनिधिले संविधान बनाउन् भन्ने चाहना उनको पनि थियो । साथै उनको चाहना नेपाली गरिब, सर्वसारा किसान र मजदुरको मुक्ति होस् भन्ने पनि थियो । उनको त्यो महान् चाहना पूरा गर्न संविधानसभाबाट छिटो संविधान निर्माण हुँदा मात्र पूरा हुन सक्दछ । त्यसोत: नेपाली राजनीतिमा त्याग, बलिदानभन्दा पदलोलुप, स्वार्थी, जनघातीहरूको बोलबाला भइरहेको छ । जनताको मुक्तिका निम्ति आफूलाई समर्पित गर्ने, जीवन सम्पनेहरूको खडेरी परेको छ । तर तुल्सीलाल जस्ता नेता निष्ठाका प्रतिमुर्ति थिए । त्यति मात्र होइन, पुष्पलाल, तुल्सीलाल जस्ता शिखर राजनीतिज्ञको चाहना कम्युनिष्ट पार्टीहरूको एकतामा पनि थियो । आफ्नो जीवनकालमै अनेक टुक्रामा कम्युनिष्ट पार्टी विभाजित हुँदा त्यसका संस्थापक र अगुवा नेताहरूको मनमा कम्ता चोट पुगेको थिएन होला । -
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment