Sponsor

युद्धबाट उदाएका हिटलर


जर्मनीका एडोल्फ हिटलर
तानाशाही शासकका रूपमा परिचित जर्मनीका एडोल्फ हिटलरले आफ्नो उदयका लागि पपुलिज्मको भरपुर उपयोग गरेका थिए। उनी प्रथम विश्वयुद्ध शुरु हुँदा जर्मन सेनामा भर्ती भएर फ्रान्सविरुद्ध थुप्रै लडाइँमा सहभागी भए। १९१८ मा जर्मनीको हारपछि हिटलरले १९१९ मा सेना छाडेर नेशनल सोसलिष्टिक आर्बिटर पार्टी गठन गरे। हिटलरको नजरमा जर्मनीको हारमा यहुदी र कम्युनिष्टहरू मुख्य दोषी थिए, त्यसैले उनीहरूको सबै अधिकार खोस्नु उनको पार्टीको मूल उद्देश्य थियो। जर्मनीको हारलाई लिएर हिटलरभित्र उत्पन्न घृणा हजारौं जर्मनको भावनासँग मेल खान्थ्यो। उनले त्यही अनुसारको नारा दिएर छोटो समयमै धेरै जर्मनलाई आफ्नो पार्टीका प्रतिबद्ध सदस्य बनाए।

विश्वयुद्धपछि जर्मनीको आर्थिक अवस्था ज्यादै नराम्रो थियो। हिटलरले ऐना अगाडि घन्टौं अभ्यास गरेर
देशको अर्थव्यवस्था ठीक पार्ने भाषण गर्न थाले। पहिलो विश्वयुद्ध अघि कसैले नचिनेका उनले ओजस्वी भाषण र कर्णप्रिय नाराबाट १९२२ सम्ममा विशाल जनसमर्थन बटुले। आफ्नो प्रचारमा पत्रपत्रिकाको अधिकतम प्रयोग गरेका हिटलरले त्यहीबीचमा खैरो पोशाक लगाउने सेनाको टुकडी पनि बनाएर १९२३ मा सरकार विरुद्ध विद्रोह गरे। तर, त्यसमा असफल भएपछि राष्ट्रद्रोह अभियोगमा पाँच वर्षको सजाय सुनाइएका उनी १३ महीनामा मुक्त भए।


जेलमा उनले 'मेरो संघर्ष' शीर्षकको मोटो किताब लेखेर संसारका जातजातिमा आर्यनहरू सर्वश्रेष्ठ हुन्, आर्यनहरूमा जर्मनहरू सर्वश्रेष्ठ हुन् र जर्मनमा पनि आफू सर्वश्रेष्ठ भएकोले विश्वको नेतृत्व गर्ने विचार दिए। १९३०–३२ ताकाको चरम आर्थिक मन्दी र बेरोजगारीबाट आक्रान्त जर्मनीमा हिटलरले जात–धर्मको 'राइट पपुलिष्ट' राजनीतिक बाटो तय गरे। उनले जनताको असन्तोष भजाउँदै व्यापक लोकप्रियता आर्जन गरे। १९३२ को राष्ट्रपति निर्वाचनमा पराजित भए पनि उनी १९३३ मा चुनावबाटै चान्सलर भए।


त्यही समयबाट दमन चक्र चलाउन थालेका हिटलरले कम्युनिष्ट पार्टीलाई अवैध घोषणा गरेर यहुदी संहार थाले। राष्ट्रपतिको मृत्यु भएको मौकामा आफ्नो लोकप्रियतालाई उपयोग गर्दै उनले आफैंलाई राष्ट्रपति र सर्वोच्च न्यायाधीश घोषणा गरे। त्यसपछि उनले युद्धको लागि जर्मन सैन्य शक्ति बढाउन थाले। तयारी पुरा हुँदानहुँदै उनले जर्मन हारको बदला लिंदै विशाल जर्मन साम्राज्य खडा गर्न पहिलो विश्वयुद्ध रोकेको अन्तर्राष्ट्रिय सन्धि उल्लंघन गर्दै पोल्याण्डमाथि आक्रमण गरे। त्यसरी शुरु भएको दोस्रो विश्वयुद्धमा हार निश्चित भएपछि हिटलरले ३० अप्रिल १९४५ मा आत्महत्या गरे।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment