Sponsor

नेपालका घुम्नै पर्ने १२ पर्यटकीयस्थल

१.रारा ताल


मुगु जिल्लास्थित रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । १० हजार फिटको उचाइमा १० वर्ग फिटमा फैलिएको यो ताल हेर्दा पानीको निकास देखिँदैन । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । राराको सफा पानीमा स्नो ट्राउट माछादेखि हाँस, जलेवा, कर्‍याङकुरुङजस्ता चराहरू जलक्रिडामा मस्त हुन्छन् । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । १८०० मिटरदेखि ४०४८ मिटरसम्मको उचाइमा रहेको रारा राष्ट्रिय निकुञ्जमा कस्तूरी, मृग, भालु, बँदेल आदि पाइन्छन् ।

२.डोल्पा(से-फोक्सुन्डो ताल)


से फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको यात्रा गर्न सकिन्छ । कर्णाली अञ्चलका पाँच जिल्लामध्ये एक डोल्पा रहेको छ । यो जिल्लाको मुख्य आकर्षण से-फोक्सुन्डो ताल हो । यो ताल ४ दशमलव ८ किलोमिटर लाम्चो, १ दशमलव ८ किलोमिटर चौडा र ६ सय ५० मिटर गहिरो छ । यो ताललाई हरियो र नीलो रंगको अनुपम मिश्रणले रंगाएको छ । आकाशमा सूर्यको स्थानसँगै रंग फेर्ने फोक्सुन्डोको सफा पानीलाई नांगा हिमालले पहरा दिएका छन् । से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा एक सय ९६ प्रजातिका चरा, ३२ प्रजातिका स्तनधारी जन्तु र चार सय सात प्रजातिका जडिबुटी पाइन्छन् । यहाँबाट तीन घन्टाको पैदल यात्रामा डोल्पाको सदरमुकाम दुनै पुगिन्छ जहाँबाट वास्तविक पदयात्राको आनन्दसहित से फोक्सुन्डोको यात्रा सुरु हुन्छ ।

३.नुवाकोट


पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दरबार नुवाकोटको आकर्षणको केन्द्र हो । वि।सं। १९९० को भुँइचालोले यो दरबारको दुई तला नष्ट भएको थियो । यो दरबार काष्ठकलाको उत्कृष्ट नमुना हो । काठमाडौंबाट ७२ किलोमिटरको दूरीमा रहेको नुवाकोटको यात्राबाट यो दरबार हेर्ने मौका मिल्छ । नुवाकोटमा बसोबासका लागि सामान्य व्यवस्था छ । यस ठाउँमा करिब दुई दर्जन होटल तथा लज छन् ।

४.जिरी


जिरीलाई नेपालको स्विट्जरल्यान्डको उपमा दिइएको छ । मनोरम प्राकृतिक भू(बनोटका कारण जिरीले आगन्तुकको मन सजिलै लोभ्याउन सक्छ । तामाकोसीको गडगडाहट हरियाली झरना र ग्रामीण परिवेशले जिरीलाई सुन्दर बनाएको छ । जिरीलाई सगरमाथाको प्रवेशद्धार पनि मानिन्छ । स्विट्जरल्यान्ड सरकारले जिरीको भू-बनोट आफ्नो जस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । जिरेल तथा शेर्पा जातिको बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन् । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा भने हिउँले पुरिन्छ । काठमाडौंबाट ६ घन्टाको बस यात्राबाट जिरी पुग्न सकिन्छ ।

५.मनाङ


मनाङमा भौगोलिक, जातीय र सांस्कृतिक विविधता छ । विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणले अन्नपूर्ण पदयात्रा मार्गलाई जीवनमा एकपटक पुग्नैपर्ने विश्वका उत्कृष्ट १० गन्तव्यमा राखेका छन् । यो अन्नपूण पदयात्रा मार्गको महत्त्वपूण हिस्सा हो । पर्यटकीय दृष्टिले यहाँका पिसाङ, भ्राखा खाडसागर, नार र फु, थोन्चे, तिलिचो ताल आदि महत्त्वपूर्ण मानिन्छन् । अन्नपूर्ण पदयात्रा मार्गमा रहेका कतिपय घरमा होमस्टेको सुविधा पनि छ ।

६.दोलखा


काठमाडौंबाट नजिक रहेको दोलखा पुग्नैपर्ने पर्यटकीयस्थल हो । भीमसेनस्थान महादेवको मन्दिर र प्राचीन शैलीको दरबार यहाँका मुख्य आकर्षण हुन् । गौरीशंकरको पृष्ठभूमिमा अवस्थित चरिकोट बजार पनि निकै सुन्दर लाग्छ । चरिकोटबाट चार किलोमिटर टाढा भीमसेन महादेवको मन्दिर छ । धार्मिक रूपमा निकै प्रसिद्ध यो मन्दिर कलात्मक पनि छ । यातायात तथा खानपानका हिसाबले दोलखा सुगम पर्यटकीयस्थल हो ।

७.इलाम


इलामलाई नगदेबाली उत्पादनमा निकै अग्रणी मानिन्छ । थुम्काथुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले पनि यहाँको प्राकृतिक सुन्दरताको झल्को दिन्छ । सूर्योदय दृश्यावलोकनका लागि नेपालमै प्रख्यात श्रीअन्तुदेखि जैविक विविधताले सम्पन्न माइपोखरी र सन्दकपुरसम्मको यात्राले इलाम भ्रमण सार्थक बनाउँछ । कन्याम चिया बगान, माइपोखरी, सन्दकपुर तथा श्रीअन्तु पर्यटकका लागि चर्चित स्थान हुन् । काठमाडौंबाट १६ घन्टाको बस यात्रा भए पनि काठमाडौं-भद्रपुर हवाई यात्राले इलामलाई केही सुगम बनाएको छ ।

८.खप्तड


सुदूरपश्चिमको अत्यन्तै मनोरम स्थान खप्तड हो । खप्तड ३२०० मिटरमा अवस्थित डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो । प्रख्यात त्रिवेणी मन्दिरका साथै भालु, हिमचितुवा, हरिण, डाँफे, ठूला पाटन यहाँका हेर्न लायक चीज हुन् । काठमाडौंबाट डोटीको सिलगढीसम्म बसमा र त्यहाँबाट पैदल हिँडेर खप्तड पुग्न सकिन्छ ।

९.पाथिभरा



पाथिभरा देवीलाई मनोकांक्षा पूरा गर्ने देवीका रूपमा लिइन्छ । ३७९४ मिटरको उचाइमा अवस्थित यो स्थानबाट कञ्चनजंघा हिमालको मनोरम दृश्य देख्न सकिन्छ । जनजाति संस्कृति, रातोपान्डा, गुराँस यहाँका हेर्न लायक चीज हुन् । काठमाडौंबाट ताप्लेजुङसम्म बसमा त्यसपछि एक दिन पैदल हिँडेर पाथिभरा पुग्न सकिन्छ ।

१०.जनकपुर



सीताको माइती जनकपुर तराईको महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल हो । प्राचीन पञ्जावी शैलीको जानकीमन्दिर, राममन्दिर, हनुमानमन्दिर तथा यादव, तेली ब्राह्मण र थारू संस्कृति यहाँका आकर्षण हुन् । काठमाडौंबाट बसमा चार सय किलोमिटर वा ४० मिनेटको हवाई उडानबाट जनकपुर पुग्न सकिन्छ ।

११.भक्तपुर



भक्तपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलमा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौँ उपत्यकाको पूर्वी भागमा पर्दछ । क्षेत्रफलको हिसाबले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो । मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला भादगाँउले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रसिद्ध छ ।

१२.लुम्बिनी


लुम्बिनी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवसथित गाउँ विकास समिति हो । लुम्बिनी गौतम बुद्धको जन्मथलो हो । लुम्बिनी अञ्चल यसै ठाउँको नामबाट नामाकरण गरिएको । लुम्बिनी युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हुनाले यो पनि एक पर्यटकीय गन्तव्यमा पर्दछ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment