Sponsor

मनै भुलाउने धार्मिक गन्तव्य मुक्तिनाथ

नेपालको हिमाली जिल्ला मुस्ताङमा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ विश्वकै प्रमुख धार्मिक गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । हिमाल पारिको जिल्लाका रूपमा चिनिएको मुस्ताङ र यसका प्राकृतिक दृश्य, सम्पदाहरूको प्रत्यक्ष अवलोकन गर्न हरेकको मन लालायित हुने गर्दछ । धार्मिकमात्र हैन हिजोआज अधिकांश मानिसहरू तनाव छल्न पनि मुक्तिनाथ पुग्ने गरेका हुन्छन् ।

यस मन्दिरमा हिन्दु पुजारी र बौद्ध झुमाहरूले परम्परागतरूपमा पूजा गर्ने गर्दछन् । मन्दिरसँगैका १ सय ८ गोमुखी धाराहरू र दुई कुण्डमा स्नान गरिन्छ । यस मन्दिरमा पूर्वराजा ज्ञानेद्र शाहले पर्खाल लगाउन लगाएका थिए । यहाँ विशेष गरी रामनवमी चैत्राष्टमी, ऋषि तर्पणी, बडा दसैं जस्ता चाडपर्वहरूमा भक्तालुहरूको ठूलो भीड लाग्छ ।


बेनी–जोमसोम र जोमसोम–मुक्तिनाथ सडक सञ्चालन भएकाले पनि तीर्थालुहरू गाडी चढेर मुक्तिनाथ पुग्छन् । जोमसोमबाट पैदल ६ घण्टा लाग्ने मुक्तिनाथसम्मको २६ किलोमिटर बाटोमा आजकल नियमित जिप चलेकाले लेक लाग्ने, सुख्खा उकाला बाटाहरूमा हिंड्नुपर्ने अवस्था छैन । बेनीदेखि घाँसासम्म र घाँसादेखि जोमसोमसम्म जिप र माइक्रोहरू चल्दछन् । मुक्तिनाथ क्षेत्रबाट धौलागिरी, खातोडखाड, थोरङ पिक र गण्श हिमालसमेत देख्न सकिन्छ ।
यसरी जान सकिन्छ मुस्ताङ 

अहिले भने मुक्तिनाथको दर्शन गर्न र मुस्ताङको पर्यटकीय सौन्दर्यमा रमाउन त्यस्तो सास्ति भोग्नु पर्दैन । अहिले हवाई र सडक दुवै मार्ग हुँदै मुस्ताङ पुग्न सकिन्छ । हवाई मार्ग हुँदै जाने हो भने पोखराबाट १५ मिनेटमा जोमसोम विमानस्थल पुगिन्छ । जोमसोम मुस्ताङको सदमुकाम हो । जोमसोम विमानस्थलमा झरेपछि शिरमा रहेको मुक्तिनाथ पुग्न जीपको यात्रा तय गर्नुपर्छ । आधा पक्कि र आधा कच्चि सडक पार गरेपछि डेढदेखी दुई घण्टामा मुक्तिनाथ पुगिन्छ ।
छोटो समयमा मुक्तिनाथ पुगेर फर्कन चाहने तथा अशक्त तिर्थालु, तथा बृद्धबृद्धा मानिसहरुले हवाई मार्ग बढी प्रयोग गर्ने गर्दछन् । सडक मार्ग हुदै जानको लागि पोखराबाट करिब ३ घण्टामा म्याग्दीको बेनी पुगिन्छ । बेनीको उत्तर भागबाट सुरु हुन्छ मुस्ताङको यात्रा । बेनी बजारबाट मुस्ताङ जाने जीप पाइन्छ । बाटोमा नअल्मल्लिइ जाने हो भने करिब ४ घण्टाको जीप यात्रापछि मुक्तिनाथ पुगिन्छ । तर, बेनीबाट एउटै जीपले मुक्तिनाथ भने पु-याउदैन ।

यात्राको क्रममा देखिने ठुला पहाड, पहाडको फेदमा साघुँरो बाटो र नागबेली हुँदै बगेकी कालीगण्डकीको दृश्य जति मनमोहक छ त्यो भन्दा कठिन हुन्छ यात्रा । कच्चिबाटोमा मुसो झै दौडने जीपको यात्रा कहालिलाग्दो हुन्छ। अझ वर्षायामको बेलाको यात्रा त निकै जोखिमपूर्ण हुन्छ । बाटो विस्तार हुन नसक्नु र बैकल्पिक रुटको ब्यवस्था नुहुँदा यात्रा निकै कष्टप्रद हुन्छ । बेलाबेलामा जीपहरु सडकबाट ओइरिदै कालिगण्डकीमा पानी पिउन नपुग्ने पनि होइनन । जोखिमयुक्त यात्रा रुचाउँनेका लागि भने रोेमाञ्चक हुन्छ यात्रा ।


मुक्तिनाथ कागबेनीबाट जीपको यात्रा तय गरेपछि बढीमा एक घण्टामा मुक्तिनाथ पुगिन्छ । जिपको यात्रापछि करिब १५ मिनेटको ठाडो उकालो उक्लिएपछि पवित्र धाम मुक्तिनाथ बाबाको मन्दिर आईपुग्छ । डाँडाको टुप्पोमा रहेको मन्दिर पुग्दा जो कोहीले पनि शान्तिको लामो सास फर्ने गर्दछन् । मुक्तिनाथ मन्दिरको अगाडि रहेको दुई वटा पानीको कुण्डले मुख्य गरी मानिसको पाप धर्मको आंकलन गर्ने कुराले मानिसहरुलाई थप आकर्षण प्रदान गर्छ ।

त्यहाँ तातो र चिसो पानीको दुई वटा कुण्ड रहेका छन् । जसले चिसो र तातो दुवै कुण्डमा लगातार डुबेर निस्कन सक्छ ऊ सम्पुर्ण पापबाट मुक्त हुने र धर्मात्म कहलिने जनविश्वास रही आएको छ । मुक्तिनाथ मन्दिरपछाडि रहेका १०८ धाराले मुक्तिनाथ मन्दिरमा थप सौन्दर्य थपेको छ । १०८ धाराको पानीमा नुहाएर मुक्तिनाथ बाबाको पुजाअर्चना गर्ने गरिन्छ ।

मुक्तिनाथ मन्दिर प्रवेशद्वारको रानीपौवा बजारमा पर्यटकका लागि सूचना केन्द्र र सञ्चारका लागि पनि राम्रो व्यवस्था रहेको छ । यहाँ रहेको नेपाल टेलिकमको यो टावरले पर्यटक तथा आगन्तुकलाई आँफू सञ्चारबाट नजिक रहेको महसुस गराउँदछ । अझ बाटोमा पर्ने मार्फामा देखिने यो स्याउबारीले पनि सबैको ध्यान केन्द्रित गर्दछ । त्यस्तै म्याग्दी जिल्लामा पर्ने यो रूपसे झरनाले यात्राको थकाई हटाइदिन्छ ।

यो क्षेत्र अन्नपूर्ण पदयात्राको मार्ग पनि हो । विश्वको उत्कृष्ट १० स्थानमध्ये एकमा पर्छ अन्नपूर्ण पदमार्ग । मुक्तिनाथ धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रको प्रचारप्रसार तथा विकासका लागि सरकारले उचित कदम चाल्न सके नेपालको आर्थिक, धार्मिक र पर्यटकीय आधार बलियो बन्ने प्रसस्त सम्भावना देखिन्छ ।


Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment