Sponsor

साहसिक लडाइँको विम्ब: नालापानी युद्ध


ज्वालामुखी लामिछाने
तीन हजार पाँच सय भर्सेज छ सय। तोप, गोला, बम, बन्दुक भर्सेज ढुंगा, खुकुरी, गुलेली र तरबार । बलवान्, बलिष्ठ, तालिमप्राप्त पेसेवर लडाकु भर्सेज वुद्ध, बालबालिका र महिला।

अंग्रेजी क्रूरता भर्सेज गोर्खाली मानवता। अंग्रेजी कायरता भर्सेज गोर्खाली साहस। हो, यस्तैयस्तै विरोधाभासपूर्ण पक्षहरूको अपत्यारिलो लडाइँको विम्ब बनाइएको छ नालापानीको लडाइँलाई। सात दिनसम्म अन्न नखाई र तीन दिनसम्म पानी पनि नपिई लड्नसक्ने वीर गोर्खालीहरूको अदम्य साहस बलिदानीको अभेद्य (? ) विम्ब बनेको छ नालापानीको लडाइँ। वीरहरूमात्र नभएर विरंगनाहरू पनि अंग्रेजविरुद्धको युद्धमोर्चामा डटेर लडेको र प्रशस्त बलिदानीसमेत गरेको किस्सा लोकप्रिय छ नालापानी अध्यायमा। वेद, पुराण र अन्य धार्मिक ग्रन्थहरूका कथाहरूमा वर्णित दुर्गा र कालीहरूको झझल्को दिलाउने चित्रण गरिएको छ विरंगनाहरूको। अझ साना बालबालिका र वुद्धहरूले समेत लडेका छन् अजीवको लडाइँ।

नेपालको इतिहासका समग्र अध्यायहरूमध्ये नालापानीको अध्याय असाध्यै 'हिट' हुनुमा लडाइँको अतुलनीय साहसिकता एउटा पाटो होला तर पनि यसको वास्तविक कारणचाहिँ बालबालिका र महिला पनि संलग्न भएर पुरुषजत्तिकै साहसिक युद्ध लड्नु नै हो। 

इतिहासकार (? ) हरू, जो यो युद्धको इतिहास लेखिरहेछन्, उनीहरू असाध्यै प्रख्यात र वरिष्ठ आख्यानकारजस्ता प्रतीत हुन्छन्। हारको इतिहास पढ्दा पनि जितकै इतिहास पढेझैं यो गोर्खाली गाथाले आनन्दानुभूति हुनुले यो लडाइँको आख्यानीकरणको पाटो शिल्प र शैलीको हिसाबले निकै मजबुत रहेको देखिन आउँछ। 

युद्ध हारेर देशको भूभाग गुमाएर फर्केका ती हरुवा (?) सिपाहीहरूप्रति पनि प्रशस्त गौरवानुभूति र सम्मानभाव बटुल्न सफल नालापानी किस्सा आफैंमा रोमाञ्चक कहानीजस्तो लाग्छ।

नालापानीको इतिहास: मस्तिष्कमा संक्रमण
इतिहासको नालापानी अध्यायमा रचित नालापानीको कहानी एक अत्यन्त सफल अस्त्र बनेको छ मानिसको मनोविज्ञान एकोहोर्‍याउनका लागि । विद्यालय तहका पाठ्यपुस्तकहरूमा तल्ला कक्षाहरूदेखि नै समेटिएको छ नालापानी युद्धको इतिहास।

झन्डै असम्भवजस्ता घटनाहरू निकै सहजताका साथ घटेजसरी सकभर रोमाञ्जक कहानीका रूपमा पाठ्यपुस्तकमा समावेश गरिएकाले सानासाना विद्यार्थीसमेत निकै मोहित भएर पढ्ने र सुन्ने गर्छन् यो युद्धको इतिहास। र, विद्यालय तह पार गरेर बाहिर निस्केका विद्यार्थीको मस्तिष्क नालापानी संक्रमित हुन्छ। 

'नालापानीको लडाइँ लडियो र त नेपाल छ। बलभद्रको जन्म बेलैमा भएछ र त नेपाल शत्रुको हातमा परेन । बलभद्रबिनाको नेपालको परिकल्पना पनि गर्न सकिँदैन। धन्य बलभद्र।' यिनै मान्यताहरूको जालो लागेको हुन्छ एउटा विद्यार्थीको चेतनाग्रन्थीमा, जुन जालो समय बित्दै जाँदा समेत उसैगरी चेतनालाई जेलिरहन्छ।

'नाइँ नभन्नु ल-२' नामक चलचित्रको नायक एक बालक विद्यालयमा दिउँसो पढेको नालापानी युद्धको कहानी सम्झन्छ र सपनामा उसलाई ऐंठन हुन्छ। ऊ अंग्रेजप्रतिको घुणा र गोर्खालीप्रतिको समर्पणभावले सपनामै अंगे्रजसँग लडेको देख्छ। 

नालापानी कहानीले कसरी बालमस्तिष्कमा संक्रमण गर्छ भन्ने एउटा गतिलो दुष्टान्त दिन्छ चलचित्रको यो दुश्यले। उडन्तेजस्तो लाग्ने कथालाई यथार्थ धरातलमा पछारेर निकालिएको यो 'किस्सा' सायद इतिहासमै सबभन्दा बढी पढिने, सुनिने र गर्वबोध गरिने कथा बनेको छ।

नालापानी र बलभद्र हेजेमोनी
निकै उदेकलाग्दो बनेर देखा परेको छ यो 'नालापानी बलभद्र हेजेमोनी' नेपाली इतिहासका पाटाहरूमा। इतिहासको सामान्य पाठक नराम्ररी दिग्भ्रमित हुन्छ नालापानी र बलभद्र हेजेमोनीले। नेपाल-अंग्रेज युद्धमा नालापानी लडाइँबाहेक अन्य लडाइँ भए कि भएनन् भन्ने विषय नै अलमलमा पर्छ नालापानी पढिरहँदा। बलभद्रमात्र हुन् देशभक्त सेनापति कि अरू पनि थिए? प्रश्न उठ्छ एक पाठकको मनमा। 

बालमस्तिष्क त यो 'कन्फ्युजनबाट' उम्कनै सक्दैन । हुन पनि नालापानी किल्लाको लडाइँको चर्चा परिचर्चाको उचाइसामुन्ने रामगढ, जितगढ वा देउथलको उचाइ त कता हराउँछ कता ! बलभद्रको चर्चा, सम्मान र लोकप्रियतासामु उजिरसिंह र अमरसिंहहरू त ढिम्किनै पाउँदैनन् इतिहासका पानाहरूमा।भक्ति थापाको बलिदानीलाई भगौडा बलभद्रको देशभक्तिको टापले यसरी कुल्चेको छ कि अब यो बलिदानीले शिर उठाउनै सक्लाजस्तो देखिन्न। नेपाल-अंग्रेज युद्धका अन्य दुश्यहरूलाई समेत 'नालापानी बलभद्र' पर्दाले छपक्कै छोपिदिएको छ। 

लखन थापा वा भीमदत्त पन्त बलभद्र पर्दाकै पछाडि थन्किरहेछन् । कहिलेकाहीँ त यस्तो लाग्छ राणाविरोधी क्रान्ति वा दसवर्षे 'जनयुद्ध' समेतलाई 'नाथे' ठहर्‍याइएको छ 'नालापानीको युद्ध'को सामुन्ने।

नालापानी: लेखिएको इतिहास
इस्वी संवत् १८१४ अक्टोबर ३१ मा प्रारम्भ भएको थियो नालापानीको युद्ध अंग्रेज जनरल रोलो जिलेस्पीद्वारा किल्लामाथि गरिएको हमलासँगै। एक हजारजना 'ओरिजिनल' अंगे्रज सेना र दुई हजार पाँच सय तेह्रजना भारतीय ब्रिटिस सेना (भारतका जनता ब्रिटिस सेनामा भर्ती भएका)सहित गंगा र यमुना नदीबीचको गोर्खाली आधिपत्यको भूभाग कब्जा गर्ने जिम्मेवारी पाएका जनरल रोलो जिलेस्पीका सहयोगी थिए कर्णेल सब्राइट मबी। अत्याधुनिक हातहतियारसहितको तालिमप्राप्त बलियो आर्मी थियो त्यो। 
अर्कोतिर नेपालका तर्फबाट लडाइँ लड्ने सेना भने पुरानो गोरखा बटालियनका मगर सिपाहीहरूका अतिरिक्त कुमाउ गढवालबाटै जम्मा पारिएका केही युवासहित ६०० भन्दा केही बढीको संख्यामा रहेको परम्परागत हातहतियार बोकेको सेना थियो। सोचेभन्दा अगावै रोलो जिलेस्पीको फौज देहरादुन त्यागी नालापानीको डाँडातिर उक्लिए र नालापानीको थुम्कामा किल्ला निर्माणमा जुटे। हतारहतार बनाइएको किल्लाको संरचना कमजोर थियो।

किल्लाका चारैतर्फबाट एकसाथ लडाइँ लड्ने रणनीति बनाएका थिए जिलेस्पीले। यसै रणनीतिअनुरूप आफ्ना सेनालाई चार समूहमा बाँडे उनले। कर्णेल कार्पेन्टरको नेतुत्वमा ६११ जना, मेजर केलीको नेतुत्वमा ५४१ जना, क्याप्टेन फास्टको नेतुत्वमा ३६३ जना र क्याप्टेन क्याम्पबेलको नेतुत्वमा २८३ जनाले एकसाथ किल्लामाथि धावा बोल्ने योजना थियो (यद्यपि यो आंशिक रूपमा मात्र सफल भयो)। 

मेजर लोड्लोको नेतुत्वमा ९३९ सेना 'रिजर्भ'मा राखेका थिए जिलेस्पीले । महिला, बालबालिका र वुद्धवुद्धासहित ६०० जनाको सानो गोर्खाली फौज ‘डिफेन्सिभ’ भएर बस्यो किल्लाको सुरक्षार्थ। पहिलो दिनको लडाइँमै जनरल जिलेस्पी मारिएपछि अत्तालिएको अंगे्रज फौज रिट्रिट भई देहरादुन फर्कियो र नोभेम्बर २४ सम्म त्यहीँ रह्यो । नोभेम्बर २५ देखि कर्णेल सव्राइट मबीको नेतुत्वमा पुनः हमला सुरुरू भयो नालापानीमाथि।

तीन दिनको लडाइँपछि नै किल्ला लगभग ध्वस्त भएको र अधिकांश गोर्खाली सेना मारिएपछि २९ नोभेम्बरको रात शेष रहेका आफ्ना सेनासँगै ‘किल्ला त्याग’को घोषणासँगै बलभद्र किल्ला छोडी भागेका थिए।

महिला, बालबालिका र वुद्धहरू: नालापानीको किल्लामा
लडाइँमा संलग्न एकदुई अंग्रेज सेनाले बहादुरीपूर्वक युद्ध लडेका गोर्खाली महिलाका बारेमा केही लेखेका छन् र यो पनि उल्लेख उनीहरूले गरेका छन् कि गोर्खालीहरूको 'किल्ला त्याग'पछि किल्लामा पस्दा केही महिलाका लास पनि किल्लामा भेटिएका थिए। 
बालबालिका पनि किल्लामा लडाइँ लड्न गएको कुरा छ इतिहासको कहानीमा। अब प्रश्न उठ्छ, उक्त युद्धमा महिला र बालबालिकाको उपस्थिति कसरी सम्भव भयो? इस्वी संवत्को १७९१ मा कुमाउ गोर्खा साम्राज्यमा गाभिएपछिको इतिहासको फेहरिस्त उतार्दा देखिने महिलाका कारुणिक दुश्य र दयालाग्दो अवस्थाले नालापानीको लडाइँमा महिला सहभागिता हुनसक्ने सम्भावनालाई ठाडो इन्कार गर्छ। 
श्रीकुष्णकी प्रेमिका राधाको जस्तै लाग्छ बलभद्रको जीवनका दुश्यहरू जो आधा बाटोबाटै बेपत्ता हुन्छन्, त्यसपछि कहिल्यै भेटिन्नन्। नालापानी किल्लाको लडाइँपछि इतिहासको पानाबाट एकाएक अलप हुन्छन् बलभद्र। आखिर कहाँ गए उनी? के गरे उनले? युद्ध सुरु नहुँदै अंग्रेजहरूले पश्चिम गढवालको गभर्नर बनाइदिन्छौं भन्दा पनि नमान्ने देशभक्त (?) बलभद्र कता पसे? 
भेरीपश्चिमको गोरखा अधिनस्थ भूगोल आन्तरिक उपनिवेशको नराम्ररी सिकार भएको थियो त्यतिखेर। गोर्खाली सेनाको बटालियनहरू जो कुमाउ गढवालमै रहन्थे, ती बटालियनद्वारा गरिएका जनतामाथिको अत्याचारको दुश्यले झलझली प्राचीन रोमको दासयुगको सम्झना गराउँछ। ती क्रूर सैनिकहरूका हातबाट क्रूरतापूर्वक कति स्थानीय फूलहरू निमोठिए र कति कोपिलाहरू फूल बन्ने अवसरबाटै वञ्चित गरिए, त्यसको त के लेखाजोखा हुन सक्ला र? 

अर्काकी श्रीमतीका बलात्कारीहरूलाई रासनपानी उपलब्ध गराउँथे निरीह गढवालवासी। यो स्थितिमा 'जागिर'बाट आफू टाट पल्टिएका ती गढवालीहरू कसरी लड्न सक्थे गोर्खालीको पक्षमा ? त्यसमा पनि महिला? 

आफ्ना गरिखाने जमिन र अन्य स्रोतमाथिको गोर्खाली ब्रह्मलुट टुलुटुलु हेर्न विवश ती निरीह गढवालीहरू बस्तीका बस्ती गाउँ छोडेर रातारात दक्षिणका मैदानहरूमा नोकर बन्न जान विवश पारिए। जनसंख्या ह्वात्तै घट्यो गढवालमा गोर्खा अधिनस्थ भएपछि। 

इस्वी संवत्को १८१२ मा त काजी बस्नेतलाई काठमाडौंबाट उक्त जनसंख्या बहिर्गमन रोक्न आदेश नै जारी गर्नुपर्‍यो गोर्खाली शासकले । यसरी पीडित उनीहरू कसरी गर्न सक्थे गोर्खालीसँग हातेमालो? पुरानो गोरखा बटालियनमा मगरहरूबाहेक अन्य गढवाली थिए भनेर विश्वास गर्ने आधार के? 

बरु गोर्खालीविरुद्ध पटकपटक विद्रोहको प्रयास भएको देखिन्छ। नेपाल-अंग्रेज युद्धकै अवधिमा थुप्रै युवाले गोर्खाली दमनविरुद्ध अंगे्रजलाई साथ दिएको इतिहास प्रमाणित छ।गोर्खाली सेनामा महिला सहभागिता थियो कि भन्ने त प्रश्नै उठ्दै उठ्दैन। 

भएको भए नालापानीबाहेक अन्यत्र पनि महिलाले युद्ध गरेको इतिहास पढ्न पाइन्थ्यो। आजभन्दा ठ्याक्कै दुई सय वर्षअघिको मनुवादी समाजमा हिन्दुत्वप्रति प्रतिबद्ध गोर्खाली शासकहरूले महिलालाई लडाइँ किन र कसरी लडाए भन्ने सवाल बडो रहस्यमयी प्रतीत हुन्छ। 

भेरीपश्चिमबाट सेनामा भर्ना नै नगर्ने गोर्खालीले नालापानीमा भेरीवारिदेखि नै अत्यन्त कष्टकर र महँगो हुलाकी यात्रामार्फत महिला लगेको त हुनै सक्दैन । आज पनि पूर्ण चेतनशील नभएको र पुरुषको तुलनामा निकै पछि पारिएका महिलाहरू दुई सय वर्षअघिको समाजमा पुरुषसँगै लडाइँ लड्ने कुरा हास्यास्पद लाग्छ। 

दिनको २२ घन्टा काम गर्दा पनि गोर्खाली शासकलाई विभिन्न बहानामा तिर्नुपर्ने कर तिर्नसमेत नसक्ने गढवालवासी आफूखुसी घर, बालबच्चा त्यागेर युद्धमा जानसक्ने परिस्थिति थिएन त्यतिखेर।फेरि किल्लामा त बालबालिका र महिलाका लास थिए भन्ने प्रशस्त आधार देखिन्छ। 

सेनामा कति महिला कति पुरुष कति वुद्ध कति बालबालिका भन्ने तथ्यांक छैन। एकोहोरो '६००' सेना त्यसमा पनि महिला, वुद्ध, बालबालिकासहित भन्ने कोरसमात्र अलापिरहन्छ इतिहास। पुरानो गोरखा बटालियनमा मगर कति र गढवाली युवा कति? केही बताउँदैन राजाको दरबारमा रचिएको कथित इतिहास।

गढवाली महिलाहरूलाई जबर्जस्ती स्वास्नी बनाउने र दाससरह व्यवहार गर्ने गोर्खाली सेनाले आफूले राखेका यस्तै रखौटीहरूलाई जबर्जस्त युद्धमा त लगेनन्? उनीहरूबाटै जन्माइएका अवैधानिक बालबालिकाका लास त थिएनन् ती? तिनै रखौटी र बालबालिका पनि राजीखुसी त पक्कै गएनन् लडाइँ लड्न, जबर्जस्ती स्वास्नी न बनाइएको थियो तिनलाई।

कुरा प्रस्ट छ, कि जबर्जस्त गढवाली महिला र बालबालिकालाई युद्ध गर्न बाध्य पारियो कि त त्यहाँ महिला र बालबालिका छँदै थिएनन् । मात्र हारेको इतिहासलाई सहानुभूति मिल्ने आशासहित यो प्रचारको नाटक मञ्चन गरियो।

नालापानीपछिका बलभद्र: एक उत्खनन
श्रीकुष्णकी प्रेमिका राधाको जस्तै लाग्छ बलभद्रको जीवनका दुश्यहरू जो आधा बाटोबाटै बेपत्ता हुन्छन्, त्यसपछि कहिल्यै भेटिन्नन् । नालापानी किल्लाको लडाइँपछि इतिहासको पानाबाट एकाएक अलप हुन्छन् बलभद्र। आखिर कहाँ गए उनी? 

के गरे उनले? युद्ध सुरु नहुँदै अंग्रेजहरूले पश्चिम गढवालको गभर्नर बनाइदिन्छौं भन्दा पनि नमान्ने देशभक्त (?) बलभद्र कता पसे? नोभेम्बर २९ को राति किल्लाबाट भागेपछि केही पश्चिमी पहाडमा अंग्रेजसँग मुकाबिला गर्दै पछि हट्दै गरेको कुरा गर्छ इतिहासले तर महाकालीवारि तरेपछि रहस्यमय तरिकाले हराउँछन् उनी इतिहासको पानाबाट। 

उनको पछिल्लो जीवनबारे अड्कल अनेक छन्। दाबी अनेक छन्। पूर्ण प्रमाणित कुनै छैनन्।केहीको दाबी छ, सुगौली सन्धिपछि उनि अंग्रेज सेनामै भर्ती भए र ब्रिटिस सेनामा गोर्खाली भर्तीको अनौपचारिक उद्घाटन गरे र आफू मरेपछि पनि 'ब्रिटिस गोर्खा भर्ती'मार्फत लाखौं नेपाली युवालाई विदेशीको गुलाम बन्ने बाटो देखाए। 

अर्का थरीको दाबी छ, 'अंग्रेजसँग अत्यन्त घुणाभावले भरिएका बलभद्र अंग्रेजसँग मिल्न गएनन् बरु पञ्जाबका सिख सम्राट् रञ्जित सिंहको सिख सेनामा भर्ती हुन पञ्जाबको राजधानी लाहोरतिर लागे। पछिपछि अन्य युवा पनि यसरी जान थाले र यो एउटा संस्कुति नै बन्यो। 

लाहुर जाने वा लाहुरे बन्ने संस्कुति ! त्यसअघि नै मुगल सम्राट्को सेवा गर्न नेपालीहरू जान्थे। उनीहरूलाई 'मुगलाने' भनिन्थ्यो । सन् १८२२ मा सिख सेना र अफगानी सेनाबीचको लडाइँमा उनी पेसावर क्षेत्रको नौसेरामा मारिए।'

बलभद्र अंग्रेज सेनामा गएनन् बरु पञ्जाबी सेनामा गए भनेर उनलाई सम्मान दिनुपर्ने कुनै कारण छैन। यो त उनले करेत समातेनन् बरु गोमन समाते भनेजस्तै हो । छोरी बेच्नेभन्दा बुहारी बेच्ने ठीक भनेजस्तै हो । गोर्खाली साम्राज्यका लागि पञ्जाब नरेश रञ्जित सिंह पनि ठूलै शत्रु थिए। 

सतलज नदीभन्दा पश्चिम काँगडा किल्ला कब्जा गरेका गोर्खालीलाई त्यहाँबाट लखेट्ने उनै सिंह थिए, जसका कारण काँगडामाथि गोर्खाली आधिपत्य चार वर्षभन्दा टिकेन र सतलज नदी पूर्वमै चाउरिन पुग्यो गोरखा साम्राज्य। 

देहरादुन छोडेर नालापानी उक्लँदा होस् वा नालापानीबाट अंग्रेजको आँखा छलेर उम्कँदा, बलभद्रले राष्ट्रघात नै गरेका थिए। घुमाउरो पाराले आत्मसमर्पण गर्दै नालापानीको तालाचाबी अंग्रेजलाई बुझाएपछि पनि उनले अर्को गल्ती गरे विदेशी सेनामा भर्ती भएर। तर, उनलाई नेपाली इतिहासमा ‘हिरो’ बनाइएको छ । कुरो गज्जबको लाग्छ।

किल्ला नवनिर्माण: खुल्न नसकेको रहस्य
किल्लामा पुग्ने बाटो असहज नै लाग्छ आजसम्म पनि । किन सहज पारिएन भन्ने कुरा अर्कै हो। यो भारत सरकारको सरोकार बनेको छ अहिले, नेपालको होइन। 

देहरादुनदेखि पुगनपुग पाँच माइलको दूरीमा उत्तरपूर्वी दिशामा अवस्थित किल्ला पुग्दा यस्तो लाग्छ, नालापानी किल्ला भनेर अर्कै ठाउँ आइएछ। भग्नावशेष, यत्रतत्र छरिएका ढुंगा, भत्किएका पर्खाल आदि दुश्य त कहिले गायब पारियो पत्तै छैन। 

बरु त्यहाँ त सिमेन्ट र सेरामिक्सले चिटिक्क पारिएको प्रतीक्षालयजस्तो ठाउँ पो देखिन्छ। गेटमा 'बलभद्र-खलंगा युद्ध स्मारक' लेखिएकाले किल्ला यहीँ रहेछ भन्ने थाहा पाइन्छ। 

सेरामिक्सले चिल्लो पारिएको अग्लो स्तम्भमा दुईवटा क्रस खुकुरी, गेटैनेर सिमेन्टेड भित्तामा लेखिएका युद्धसम्बन्धी केही विवरण, चिल्लो भुइँ र सिमेन्टेड पर्खाल। बस ! यति छ त्यहाँ। लोकगाथा गाउन छोडेर हिपहप राग अलापिरहेछ नालापानी। 

यस्तो लाग्छ, यसलाई पनि आधुनिक बन्ने जङ चलेछ । किन गरियो यसरी किल्लाको आधुनिकीकरण ? किन गायब पारियो पुरानो संरचना ? एउटा खुल्न बाँकी रहस्य बनेको छ यो।

नालापानी लडाइँ: यथार्थ दुष्टिकोण
नालापानी लडाइँको शुंखला नेपाली इतिहासको मैदानमा एउटा यस्तो पोखरीका रूपमा रहेको छ, जुन पोखरी बाहिरबाट सतहमा नियाल्दा त्योजति सुन्दर पोखरी अरू कुनै लाग्दैन । जब पोखरीको सतह छिचोलेर भित्र पसिन्छ, त्योजति दुर्गन्धित र कुरूप पोखरी अरू छ जस्तो लाग्दैन। 

सतहबाट हेर्दा माछाहरू पौडीरहेजस्तो देखिने पोखरीमा भित्रपट्टि भने साँप गुँडुल्किरहेको भेटिन्छ। लडाइँ समयको एउटा संवेदनामात्र हुनसक्ला र लडाइँका पात्रहरू पनि नालापानी लडाइँको मामलामा निर्दोष नै हुन÷छन्, बलभद्रबाहेक। 

तर इतिहासकारहरू, जसले ‘दरबारको पटांगिनीमा बसेर लेखिएको स्तुतिगान’लाई नै इतिहास बनाइदिए, तिनैले काँडा र फूलसहितको नालापानी लडाइँलाई काडाँजति सबै झारेर केवल फूलैफूलको इतिहास बनाइदिए। विचरा बलभद्रलाई सम्मान र सहानुभूतिको यति गह्रुँगो भारी ती इतिहासकारहरूले बोकाइदिए कि जुन भारी उनको भारवहन क्षमताभन्दा कैयौं गुणा बढी छ।

गोर्खाली सेनालाई वीर गोर्खालीको रूपमा संसारभर परिचित त नालापानीले गरायो तर यसको परिणाम लाखौं नेपाली विदेशीको गुलाम बन्न पुगे । न नालापानीको लडाइँले नेपाल बचाएको हो न त नालापानीको लडाइँले अंग्रेजहरू पछि हटे। बरु नालापानी गुमायौं हामीले र मनोबल बढ्यो अंग्रेजको यो लडाइँपछि। 

हारको इतिहास हो यो। हारमा गर्व गर्न पनि आनन्द मान्दा रहेछौं हामी। इतिहासमा नालापानीलाई यस्तो घातक इजलासका रूपमा देख्न सकिन्छ जसले लाखौं कुमाउ र गढवालीमाथिको गोर्खाली अत्याचारलाई सदर गर्छ।
~annapurnapost.com
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment