Sponsor

पृथ्वीनारायण शाह र दिव्योपदेशको प्रासङ्गिकता

आधुनिक नेपालका राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह एक अद्वितीय युगपुरुष हुन्। 

झन्डै पाँच दर्जनभन्दा बढी स–साना राज्यहरूमा विभाजित भएर रहेको तत्कालीन नेपाललाई अत्यन्त सुझबुझ र विवेकयुक्त तरिकाबाट उनले राष्ट्रनिर्माण गरेका हुन्, जुन धर्तीमा उभिएर आज हामी गौरवका साथ बहस गरिरहेका छौं। पृथ्वीनारायण शाहको नेतृत्वमा गरिएको नेपालको एकीकरणलाई चीन, जर्मन, अमेरिका, बेलायत र इटालीलगायत विश्वका महान् राष्ट्रका महान् एकीकरणकर्तासँग तुलना गर्न सकिन्छ। उनको कृति दिव्योपदेश नेपाली जनमानसको सिङ्गो भूगोल हो। अझ भनौं नेपाली साहित्यिक फाँटको पहिलो सुन्दर निबन्धकला हो।

एकीकरणको समयमा आर्जित वस्तुपरक अनुभवहरूका सम्पूर्ण सारतत्वको रूपमा उनका दिव्योपदेशलाई प्रस्तुत गर्न सकिन्छ। मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको पूmलबारी हो, सबैलाई चेतना भया, आफ्ना कुलधर्म नछोड्नू, प्रजा मोटा भया दरबार बलियो हुन्या छ, राजाका भण्डार भन्याका रैतीहरू हुन्, नियानिसाफ बिगान्र्या भन्याको घूस दिन्या र घूस खान्या यी दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, यी राजाका महासतुर हुन्, जनता जोदेखि राजी हुन्छन् उसैलाई पद सुम्पनुजस्ता सारपूर्ण तथ्यहरू पृथ्वीनारायण शाहका महत्वपूर्ण दिव्योपदेश हुन्। उनको दिव्योपदेशलाई मात्र चिन्तन मनन गरेको भए पनि आज मुलुक यो विचलनको अवस्थामा पुग्ने थिएन। घूस लिने र दिने भनेको एक प्रकारको चरम भ्रष्टाचार हो। आज देशमा भ्रष्टाचाररूपी संस्कृति यति मौलाएको छ, जसले देश र समाजलाई नै आक्रान्त बनाएको छ।

दिव्योपदेशमा व्यक्त विचार नेपालका लागि राष्ट्रिय घोषणापत्रसमान स्थापित हुन पुगेको छ। राज्य व्यवस्था सञ्चालनका क्रममा रहेका प्रमुख तीन आधारभूत पक्ष आर्थिक विकास, परराष्ट्रनीति र राजनीतिक शासन प्रणालीका बारेमा दिव्योपदेशले मूर्त व्याख्या गरेको छ। दिव्योपदेशमा अन्तर्निहित अर्थनीति, परराष्ट्रनीति, राज्यप्रणाली, न्यायव्यवस्था, सैन्यव्यवस्था आदि विषयबारे व्यापकरूपमा चर्चा गरिएको छ।
कालजयी कृति दिव्योपदेशको बारेमा प्रशस्तै अध्ययन, अनुसन्धान, व्याख्या, विवेचना विश्लेषण र समालोचनाका हजारौं पृष्ठहरू लेखिएका छन्। यति हुँदाहुँदै पनि अत्यन्तै कठिन र जटिल परिस्थितिभित्र इतिहासको एक कालखण्डमा नेपाली राष्ट्रियता र राष्ट्रहितको पक्षमा अचुक सूत्र बनेर रहेको दिव्योपदेश नेपाल एकीकरण अभियानकै महायज्ञमा घटित घटना एवम् जय–पराजय आदिको बारेमा प्रस्तुत गरिएको छ। आज २९४ औं पृथ्वीजयन्ती तथा विगतमा मान्दै आएको राष्ट्रिय एकता दिवस पुस २७ को अवसरमा पृथ्वीनारायण शाहको दिव्योपदेशको महत्वलाई मात्र आत्मसात् गरे पनि प्रत्येक नेपालीको मन हल्का, आन्नदित र पवित्र भएको अनुभूति हुन्छ। इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहजस्ता युगपुरुष अत्यन्त विरलै जन्मछन्। राष्ट्रनिर्माणको पक्षमा उनले गरेको सकारात्मक, रचनात्मक र निर्माणात्मक योगदानलाई एक संस्थापकका रूपमा सदा सम्झिरहनु आमसचेत नागरिकहरूको दायित्व र कर्तव्यबोधभित्र पर्दछ।


पृथ्वीनारायण शाह नेपाली राष्ट्र र समाजका आभूषण हुन्। नेपालको अस्तित्व र अस्मितालाई युग–युगान्तरसम्म जीवन्त राख्न पृथ्वीनारायण शाहले साना राज्यहरूमा टुक्रिएर रहेको तत्कालीन नेपाललाई सिङ्गो राष्ट्र बनाउने अभियानमा एकीकरण आरम्भ गरेका थिए। पृथ्वीविचारका प्रमुख चार आधार थिए– पहिलो जनताले चाहेको योग्य मान्छेको नेतृत्वमा प्रजातान्त्रिक शासन सञ्चान गर्ने, दोस्रो सबै किसिमका अन्याय समाप्त गर्ने, तेस्रो घूस भ्रष्टाचारलाई शत्रु घोषणा र सुशासन सुनिश्चित तथा चौथो आत्मनिर्भरताका साथ राष्ट्रलाई सम्पन्न बनाउने स्वदेशवादी आर्थिक तथा सांस्कृतिक नीति अवलम्बन गर्नु उनका प्रमुख नीति हुन्। पृथ्वीविचारका यिनै चार आधारवरिपरि सबै विचार केन्द्रित छन्। धेरै नै योग्य व्यक्तिहरूको त्याग, सल्लाह, सुझाव र बलिदानीपूर्ण घटनाहरू महान एकीकरण अभियानमा सहज भएर जोडिएका छन्। राष्ट्रनिर्माणको अचुक मार्गदर्शन बनेर रहेको दिव्योपदेशले आजको देशको बिग्रँदो अवस्थालाई पनि अभिप्रेरित गरेको छ। युगद्रस्टा र दिव्योपदेशका स्रस्टा पृथ्वीनारायण शाहको राष्ट्रचिन्तन पक्षलाई मात्र आत्मसात् गर्ने हो भने पनि आज देशले जुन अधोगति भोगिरहेको छ, त्यो कल्पनासम्म गर्नुपर्ने अवस्था आउने थिएन।

पृथ्वीनारायण शाहले राज्यविस्तार होइन, राष्ट्रको एकीकरण गरेका हुन्। उनको भावनात्मक उद्देश्य जय–पराजयको भन्दा पनि सवाल नेपाल एकीकरणको थियो। एकीकरणपश्चात् राज्यको नामकरण गर्ने क्रममा आफू जन्मे, हुर्के र बढेखेलेको राज्य गोर्खाको नाम नराखी नेपाल राष्ट्र राखेबाट पनि यो प्रस्ट हुन्छ। सबै प्रजा समान हुन्, सबैले आ–आफ्नो धर्म, संस्कृति र कलाको रक्षा गर्नुपर्छ भन्ने उनको शाश्वत मान्यता थियो। पृथ्वीनारायण शाहले जहाँ–जहाँ विजय प्राप्त गरे, ती इलाकाहरूमा त्यहाँको सामाजिक संरचनामा खलल नहोस् भन्ने उद्देश्यले स्थानीय व्यक्तिहरूको चाहना र भावनाअनुरूप शासन सुम्पेका थिए। पृथ्वीनारायण शाह आधुनिक नेपाल एकीकरण अभियानका एकमात्र महानायक राजा हुन्। लोकजनमतमा विश्वास राख्ने आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका यावत् योगदानलाई ओझेलमा पार्न आज कथित षड्यन्त्रहरू भइरहेका छन्। आफ्ना अग्रजहरूको योगदानको सम्मान नगर्नेहरूले सधैँ इतिहासलाई सरापेर मात्र देशको विकास कदापि सम्भव छैन।

इतिहासको एक कालखण्डमा एसियावासीहरू पराधीन हुँदै गैरहेका थिए, तर पृथ्वीनारायण शाह भने एक अखण्ड राष्ट्रको परिकल्पनामा आफ्नो स्वतन्त्र अस्तित्वलाई बचाइराख्न सङ्कल्पित थिए। वि.सं. १७७९ पुस २७ गते गोरखा दरबारमा जन्मेका पृथ्वीनारायण शाहको देहावसान ५२ वर्षको कलिलो उमेरमा वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको हो। त्यसैले राष्ट्रिय, अन्तर्राष्ट्रिय वीर पुरुष र विद्वान्हरूले समेत अत्यधिकरूपमा प्रशंसा र श्रद्धा गरेका पृथ्वीनारायण शाह नेपाल र नेपालीका लागि सदा–सर्वदा आभूषण हुन्।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment