म ०५४ सालमा म कान्तिपुरको विचार पृष्ठ हेर्थेँ । त्यतिबेला माधव घिमिरेले एउटा राष्ट्रिय गीत लेखेका थिए । गीतका चार पंक्ति यस्ता थिए :
फणीन्द्र नेपाल |
पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
बुद्धले यहीँ पाएथे शान्ति पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो विहान
यी चारवटा पंतिहरु भारतलाई बिझाउने खालका थिए । जब यो गीतको अडियो र भिडियो रेकर्ड भयो, ती चार पङ्तिहरु रहस्यमय रुपमा गायब गरिए ।
त्यतिबेला म कान्तिपुर दैनिकको सम्पादकीय पृष्ठमा काम गर्थेँ । खोजी गर्द जाँदा भारतीय राजदूतले दरवारका सचिव नारायण श्रेष्ठलाई भनेर घिमिरेको गीति संग्रह किन्नर-किन्नरीबाट समेत यी चार पङ्ति मेटाउन लगाएका रहेछन् । यो विषयमा मैले कान्तिपुरमा एक लेखमार्फत प्रश्न उठाएँ । हाम्रो इतिहास मेटाउन खोज्ने को ? भन्ने शीर्षकमा लेखिएको उक्त लेख निकै प्रभावशाली सावित भयो । त्यतिबेला कान्तिपुर निकै शक्तिशाली पनि थियो । फलस्वरुप, हटाइएका यी पङ्तिहरु पछि जोडिए ।
कान्तिपुरमा काम गर्दा मैले ग्रेटर नेपालका विषयमा धारावाहिकरुपमा ५७ वटा लेख लेखेको छु । ५६ औं लेख छापिने क्रममा मलाई एउटा फोन आयो । विजयमणि आदिका नामबाट । मैले नचिनेका व्यक्ति थिए । उनले मलाई सुनाए, ‘आज तिम्रो विषयमा एम्बेसीमा मिटिङ बस्यो । अब एक दुई-दिनमा तिम्रो लेख बन्द हुन्छ ।’
त्यसको तीन-चार दिनपछि प्रकाशक हेमराज ज्ञवालीले मलाई बोलाए । ‘तपाईंले राम्रो कुरा उठाउनुभएको हो,’ उनले सम्झाए, ‘तर चिनी पनि धेरै खायो भने तीतो हुन्छ । त्यसैले अब यो श्रृंखला बन्द गरौं ।’ त्यसपछिको एक अंक छापियो, अनि बन्द भयो । केही समयपछि मैले कान्तिपुर छाडेँ ।
राजदूतबाटै आर्थिक प्रलोभन
ग्रेटर नेपाल अभियानका क्रममा मैले समानान्तर रुपमा धाक-धम्की र आर्थिक प्रलोभन पाइरहेको छु । सौभाग्यवस यी दुवैले मलाई अहिलेसम्म छुन सकेका छैनन् ।
कान्तिपुरमा काम गर्दाताका नै भारतीय गृहमन्त्री एसबी चौहानले पश्चिम बंगालका मुख्यमन्त्री ज्योती बशुलाई चिठी लेखेर दार्जीलिङको आन्दोलन दवाउन निर्देशन दिएका थिए । उनले पठाएको पत्रको कपी मेरो हातमा आइपुग्यो । त्यसलाई पनि मैले कान्तिपुरमा छापेँ । त्यसपछाडि हो, मलाई धेरै ठूलो आर्थिक धनराशीको प्रलोभन आयो ।
‘नेपालको राष्ट्रवादी आन्दोलन यहीँ आएर टुंगिने हो,’ प्रलोभन दिने व्यक्तिले भने, ‘यसलाई चाँडै सल्ट्याउँ ।’
राकेश सुद राजदूत हुँदा एक चिजानका पत्रकारले मलाई सद्भावनाका एक नेतालाई भेट गराए । ती नेता पछि मन्त्री पनि भए । उनले मलाई ठाडै पैसाको अफर गरे । इन्डियन एम्बेसीले उनलाई मसित भेट्न अह्राएका रहेछन् । ती नेता मिडियटर हुन खोजेका थिए । दोस्रोपटक त्यसको एक वर्षपछि राकेश सुद आफैंले भेट्न खोजेको सन्देश आयो । ‘उनी दूतावास भित्र वा बाहिर जहाँ गएर पनि भेट्न तयार रहेको’ सन्देश मसम्म आइपुग्यो । मैले टिमका साथीहरुसँग छलफल गरेँ । पैसाको अफर गर्नलाई नै भेट्न खोजेको लगभग पक्का थियो । भेटेपछि उनको अफर अस्वीकार गर्नुपर्ने र त्यसपछि उनी अर्को एक्सनमा जान सक्ने सम्भावना साथीहरुले औंल्याए । त्यसपछि म उनीसँग भेट्न गइँन ।
पछि दूतावासकी सांस्कृतिक सहचारी अपुर्वा श्रीवास्तवले पनि पहिलेकै पत्रकारमार्फत मसित भेट्ने प्रस्ताव गरिन् । यो कुरा मैले एक जना वरिष्ठ पत्रकारलाई सुनाएँ । ती पत्रकारले अपूर्वालाई फोन गरेर सोधेछन्, ‘उहाँलाई भेट्न खोजेको हो ?’ उनले तपाईंलाई कसरी यो कुरा थाहा भयो ? भन्दै फोन राखिछन् ।
लगातार प्रलोभनहरु आउन थालेपछि मलाई लाग्यो मैले गरेको काम ठिक रहेछ । कम्तिमा यसले उनीहरुको टाउको दुखाउने काम गरिरहेको रहेछ । त्यसपछि अठोट गरेँ, आजीवन यही बाटोमा हिँड्नेछु ।
0 comments:
Post a Comment