Sponsor

कहाँ कहाँ मिचियो सीमा

केशबराज जोशी,काठमाण्डौं । भारतसंग जोडिएका नेपालका २६ जिल्लामध्ये २१ जिल्लामा सीमा विवाद छ । भारतले २१ जिल्लाका ७१ भन्दा वढी स्थानमा नेपाली सीमा अतिक्रिमण गरेको छ । भारतसंग जोडिएका नेपालका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमण भएको छैन । अन्य जिल्लाको सीमा हेर्ने हो भने भारतले लगभग ६० हजार हेक्टरभन्दा बढी नेपाली भु–भाग भारतले मिचेको विभिन्न तथ्यहरुमा देखिदै आएको छ । यी मध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित हुन पुगेको छ ।

यतिमात्रै होइन,भारतले पुर्व मेचिदेखि पश्चिम माहाकालीसम्म पुग्दा भारतसंग सीमा जोडिएका १८ जिल्लामा चारसय ७४ सीमास्तम्भ भारतले गायब पारेको छ,विभिन्न सरकारी तथ्याङमा पाइन्छ ।नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा सीमा जोडिएको छ । भारतसंग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ । त्यो पनि सीमाभन्दा ३–४ किलोेमिटर भित्र रहेको छ । कतिपय ठाउमा त सदरमुकामै छ,सीमा सुरक्षा बल ।


भारतसंग सीमा जोडिएका चितवन, दाङ , इलाम, पाँचथर, ताप्लेजुङ, डडेलधुरा, बैतडी र दार्चुलामा नेपालको तर्फबाट सीमा सुरक्षाका लागि कुनै सशस्त्र प्रहरीको टोली अझैसम्म राखिएको छैन । त्यही छिमेकी चीनसंग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ ।
ती क्षेत्रमा साना चौकी बाहेक सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएइएको छैन । भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ । नेपाल भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । छ भने औषतमा प्रत्येक तीन किलोमिटरमा एक क्याम्प हुन आउछ । नेपालले भने सीमा सुरक्षाका लागि ४५ सय देखि ५ हजारको विचमा सशस्त्र प्रहरी खटाएको छ,त्यो पनि सीमाभन्दा निकै टाढा ।

एकजना सशस्त्र प्रहरीका डिआइजीका अनुसार अहिले हराएका ती स्तम्भ खोज्न सरकारलाई निकै समस्या भइरहेको छ । हराएका स्तम्भमा जंगे पिलर ९ मुख्य स्तम्भ २८ वटा रहेका छन् । जो सबै भारतसंगको सीमाका स्तम्भ हुन । हराएका भनिएका सीमा स्तम्भ कि त भारतीय पक्षले रातारात उखेलेर फालेको छ भने कतिपय प्राकृतिक प्रकोपका समयमा हराएका छन् । हराएका स्तम्भमा सहायक स्तम्भ ४५ वटा र साना स्तम्भ चार सय ३१ वटा छन् । नेपालका पाँच हजार ९ सय ४७ कूल सीमा स्तम्भमध्ये चीनतर्फ ११ र भारततर्फ पाँच हजार ९ सय ३६ छन् । तीन हजार ८० सीमा स्तम्भमात्र सामान्य अवस्थामा रहेका छन् । भारततर्फ रहेका अधिकांश स्तम्भ मर्मत गर्नुपर्ने र केही पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन् । कतिपयलाई नदीले पनि बगाएको बताइन्छ ।

गृहमन्त्रालयले गरेको एक अध्ययन अनुसार सात सय ६० मुख्य स्तम्भ ९ जंगे पिलर मध्ये चार सय ९४ मात्र ठीक अवस्थामा छन् । एक सय ९५ वटा मर्मत गर्नुपर्ने, १० वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् भने ३३ खोलाले बगाएको छ ।
सीमामा रहेका सहायक स्तम्भ कूल एक हजार तीन सय १६ वटा रहेका छन् । यी मध्ये ४५ वटा फेला परेका छैनन् , खोलाले बगाएकामा एक सय ११ परेका छन् । पुनर्निर्माण गर्नुपर्ने ३३ वटा र मर्मत गर्नुपर्ने दुई सय ४३ वटा रहेको बताइन्छ । साना स्तम्भ तीन हजार आठ सय ७१ वटा छन् भने एक हजार ६ सय ९९ वटा सामान्य अवस्थामा छन् ।

मर्मत गर्नुपर्ने एक हजार चार सय ४५ वटा र पुनर्निर्माण गर्नुपर्ने स्तम्भ दुई सय ६६ वटा रहेका छन् । त्यसमा खोलाले २४ बगाएको तथ्याङ्क रहेको छ । उत्तरी सीमा चीनतर्फ रहेका ११ स्तम्भमा मुस्ताङमा ३ वटा, सिन्धुपाल्चोकमा ७ वटा र ताप्लेजुङमा एउटा छ ।
गृहमन्त्रालयले सशस्त्र प्रहरीलाई सीमा सुरक्षा जिम्मवारी सुम्पीएको छ । सशस्त्रमा प्रहरीमा सीमा सुरक्षा विभाग गठन गरेर सीमा स्तम्भ रहेका स्थानको पहिचान गर्दै ती स्थानको लोकेसन जिपिएसको माध्यमबाट अभिलेख राख्न सुरु पनि गरेको छ ।

कहाँ कहाँ मिचियो सीमा
पुर्वमा ताप्लेजुङमा टिम्बापोखरी क्षेत्रको डाँडामा भारतले पार्क बनाउँदा कञ्चनजङ्घा दक्षिण १५ किलोमिटर सीमाको रेखा मिचिएको छ । कञ्चनजङ्घा हिमालको दक्षिण क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने मार्ग भारतले नेपाली भूमिलाई आफ्नो दावी गर्दै आएको छ । त्यसैगरी पाँचथरको च्याङथापु क्षेत्र भारतीय सेनाले नेपाली भूमि प्रयोग गरिरहेको छ ।तिब्बु पोखरी क्षेत्रमा सीमा एकिन हुन सकेको छैन । जसका कारण नेपाली कृषकलाई समस्या उत्पन्न भएको छ । चिवाभन्ज्याङमा भारतले सीमारेखामा जोडेर राष्ट्रिय निकुञ्ज बनाएको छ । इलाममा पशुपतिनगरको नेपाली दशगजा क्षेत्रमा भारतले भन्सार कार्यालय भवन बनाउन नेपाली भूमि मिचेर काडेतार समेत लगाएको छ ।
यस्तै पशुपति हिलेमा २०५९ असार २४ मा गाडेको ४ सीमास्तम्भमध्ये ७१÷२२ नम्बरको सहायक स्तम्भका कारणले नेपालीको ६ घर एवं एउटा छोटी भन्सार कार्यालय समेत भारतमा पर्न गएको छ ।

मानेभन्ज्याङःक्षेत्रमा सीमा मिचिएको बारेमा स्थानीय जनताले आवाज उठाउँदै आएपनि सम्बोधन हुन सकेको छैन । सन्दकपुरःअग्लो डाँडोबाट कञ्चनजङ्घा र दक्षिणमा तराई भू–भाग देखिने हुनाले भारतले सडक बनाउँदा सीमाना मिचेको छ ।

यस्तै भारतले झापामा पाठामारी, महेशपुर, भद्रपुर, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी क्षेत्रमा भारतले करिब दुई हजार चारसय ६२ बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । मोरङमा जोगवनी सीमानामा दशगजा क्षेत्र नै देखिदैन । नेपाली भू–भाग बुद्धनगर, पोखरिया, रङेली, डाइनिया, सोराभाग, मझारे गाविसका दशगजा क्षेत्रमा भारती पक्षले नेपाली भूमि अतिक्रमण गरेका छन ।
मोरङको रङेली, चेप्राहा, आमगाछी, झुर्किया, महादेवा र कसरिया सीमाक्षेत्रको नेपाली भूमिको दशगजामा भारतीय नागरिकको बसोबास छ । बझाह लुना नदी चुनिमाडी नजिकको एक किलोमिटर जमिन पनि भारतले अतिक्रमण गरेको छ । सप्तरीमा कटैया–भन्टावारी हर्निगरिया साहेवगन्जको भागमा भारतले सात हजार बिघा नेपालको भूमि मिचेको पाइन्छ ।

सप्तरीको सुवर्णपट्टी क्षेत्रमा ५० मिटर सीमास्तम्भ नेपालभित्र सारिएको छ । जसका कारण ६० बिघा जमिन भारतबाट अतिक्रमण भएको छ । सखडा छिन्नमस्ता भगवतीभन्दा दक्षिण बरामपुरको जग्गा भारतीयहरुले लामो समयदेखि उपयोग गरिरहेका छन । गोविन्दपुर लालपट्टीमा ५० देखि १०० मिटरसम्म जङ्गे स्तम्भ सारेर नयाँपिलर गाडिएको छ । दशगजा भित्रको करिब ५० बिघा नेपाली जमिन अतिक्रमण भएको छ ।
कुनौली भारतीय रेल्वे स्टेसनतर्फ जाने सडक दक्षिणतर्फ करिब ५ किलोमिटर सीमा क्षेत्रको नेपाली भूमि अतिक्रमण हुँदा ६० बिघा जमिन मिचिएको छ ।


त्यसैगरी सिराहामा चन्द्रगन्जको दक्षिणी भू–भाग र टाँडीको दशगजा क्षेत्रभन्दा भित्रको जमिन भारतले मिचेको छ । सर्लाहीमा सीमास्तम्भ नं.२९ र ३० देख्नै नसकिने गरी दशगजा क्षेत्रदेखि २०० फिटभित्र नेपाली भूमि मिची सिसौका रुख लगाइएको छ । सीमास्तम्भ नं. ३५, ३८ र ३९ को नेपाली भूमि मिची भारतीयहरुले घर बनाएका छन । त्यसैगरी स्तम्भ नं.२८, २९ र ३० वरपर २० घर रहेका छन ।

स्तम्भ नं.२५, २६ छेउ ११ घर बनाई सीमा मिचिएको छ । सङग्रामपुर र हथिऔल गाविसहरुको दशगजाभित्रको नेपाली भूमि विगत २० वर्षदेखि भारतीयहरुले उपयोग गर्दै आएका छन । रौतहटमा जमुना गाविसको वडा नं.८ को दक्षिण भागमा भारतीयहरुले वृक्षारोपण गरेर रुखहरुको उपयोग गरिरहेका छन । गौर नजिकै भारतीय क्षेत्रमा भारतले चारसय चौहत्तर सीमास्तम्भ गायब पारेको छ भने बाध बाँधिएको हुनाले वर्षामा बाढी र डुबानबाट नेपालीहरु पीडित हुदै आएका छन् ।

पर्सा जिल्लाको ठोरीमा भारतीयहरुले पुराना सीमास्तम्भ हटाई नेपालतर्फ ५०० मिटर सीमाना सारी नेपाली भूमि मिचेका छन । पिपरा क्षेत्र पनि अतिक्रमणमा परेको छ । वीरगञ्ज, अलौ तथा सिक्टा क्षेत्रमा पनि नेपाली दशगजा भारतीय नागरिकहरुले मिचेका छन । वीरगन्जको सिसरीयामा भारतले वाणिज्य कन्सुलेट अफिस र भन्सार कार्यालयय नेपाली भूमिमा बनाएको छ । रक्सौलमा नेपालको स्वामित्व भएको जमिनमाथि भारतीयहरुले अतिक्रमण गरेका छन । रक्सौलमा नेपाल सरकारले रेल्वेका लागि सन् १९२४ किनेको १६ विगाहा १० कठ्ठा जमिन भारतीयहरुले एकपक्षीय रुपमा प्रयोग गर्दै आएको छ । चितवन जिल्लामा बाल्मीकि आश्रमक्षेत्रको जगलमा बेलामौकामा भारतीयहरुले अतिक्रमण गरी रुखसमेत काटी लैजाने गरेका छन ।

दारनाला दारीचुरे क्षेत्रको भू–भागमा भारतीयहरुले वर्षेनी अतिक्रमण गरेका छन् । नवलपरासीको सुस्ता क्षेत्रमा २०११ सालभन्दा अघिदेखि भारतीयहरुले नेपालको सीमाक्षेत्रको भूमि अतिक्रमण गर्दै आएको पाइन्छ । त्यसपछि नारायणी नदीले धार बदलेपछि भने नेपाली भूमि अतिक्रमणको क्रम झन बढेको छ । सुस्ता क्षेत्रको करिब २१ हजार नौ सय ५० विगाह जमिन भारततर्फबाट मिचिएको छ । यस्तै घोङखीनाला नजिकको दशगजा क्षेत्रमा पनि विवाद विद्यमान छ ।

रुपन्देही जिल्लामा खुर्दलोटन बाँध नेपालको मर्चावार क्षेत्रमा सीमासंगै सटाएर भारतले ३ किलोमिटर लामो बाँध बनाउनाले मालिगाव, थुमुवा, पिप्रवा, असुरनैया, बेचकुइया, रोइनिहवा, फेरना, सिलौटिया, बोगडी, सिवुवा, अमा, बभनी गाविसहरु बर्षेनी डुबानमा पर्दै आएका छन् ।
सुनौली नाका बेलहियाको नेपालतर्फको दशगजा क्षेत्रमा भारतीयहरुले अनधिकृत झुपडी र पानी टयाङकी बनाई सीमा अतिक्रमण गरेका छन । सुनौली सीमाक्षेत्रभन्दा ९.१ मिटर नेपालभित्र परेको भारतीय प्रहरी थाना हटाइएको छैन । कपिलवस्तु कृष्णनगर ठन्डानदी किनारको दशगजाको दुवै भागमा भारतीयहरुले घर बनाएकाले नेपाली दशगजा क्षेत्र अतिक्रमण भएको छ ।

पश्चिममा पनि उस्तै पीडा
पुर्वमा मात्रै होइन पश्चिम नेपालमा पनि सीमा दुखाइको पीडा उस्तै छ । दाङकोे कोइलाबास सिवालिक, श्रृखंलामा रहेको कोइलाबास क्षेत्रमा भारतीयहरुले साविक सीमाभन्दा उत्तरपूर्वसम्म भारतको पर्छ भन्दै मिचेका छन । हर्नाडाँडा क्षेत्रमा चुरे फेदीको सीमानालाई उत्तर सारी चुरे श्रृखंलाको सीमाना सारिएको छ । बाँकेमा अधिकाशं ठाउमा दशगजा मिची भारतीय नागरिकले घर बनाएका छन । सीमामा भारतले २०५६ सालमा राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध तथा तटबन्धबाट बाँकेको बेतहनी, होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, नैनापुरसमेत गरी ९ गाविसको खेतबारी र धनजन डुबानमा पर्ने गरेको छ ।

लक्ष्मणपुर बाँध २२ किलोमिटर लामो तटबन्ध निर्माण गर्नाले सीमास्तम्भहरु लोप भएका छन । नेपाली भू–भाग जलमग्न हुने गरेको छ । बर्दिया जिल्लाको करिब ६० किलोमिटर नेपाल–भारत सीमावर्ती क्षेत्रको स्तम्भ नं.४१ देखि ९८ सम्मका प्रायः जसो दशगजाको भू–भाग भारतीय पक्षबाट खेतीयोग्य जमिन बनाइएको छ । बर्दिया गुलेरियाबाट मुर्तिया जाने बाटोमा पर्ने सीमाक्षेत्रको जमिन अतिक्रमणमा परेको छ । मानपुर, भीमापुर र नकुवा नालादेखि उत्तरतर्फको क्षेत्र मिचिएको छ ।

सुदुर सबैभन्दा वढी प्रताडित
नेपालको सीमा मिचाइको पीडा सवैभन्दा वढी खेपेको क्षेत्र हो सुदुरपश्चिम । त्यसमा पनि नयाँ मुलुकका कञ्चनपुर,कैलालीसंगै दार्चुला पर्छ । कालापानीदेखि,लिपुलेक सुदुरमै पर्छ ।
कैलाली जिल्लाका धेरै सीमास्तम्भहरु लोप भएका छन । दशगजा भन्दा केही भित्री भाग पनि मिचिन पुगेको छ । यस्तै फूलबारी गाविस नजिकको भागमा मोहना नदीले आफ्नो बहाव बदलिरहने कारणले आसपासको जगंल भारतीयहरुले अतिक्रमण गर्ने गरेका छन । भजनी, कुसुमघाट र लालबोझी कौवाखेडाको सीमास्तम्भ नेपालतर्फ सारिएको छ ।

कञ्चनपुरमा ब्रम्हमदेव– मण्डिमा रहेको सीमास्तम्भ बगाएपछि केही नेपाली भूमि अतिक्रमित हुन पुगेको छ । टनकपुर ब्यारेज तथा डुबान क्षेत्रको करिब २२२ हेक्टर नेपाली भूमि अतिक्रमित भएको छ । भारतले टनकपुर बाँध निर्माणको लागि ५७७ मिटर लामो पुल बनाउँदा नेपालतर्फको जमिन मिचिन पुगेको छ ।
बनबासा, गड्डाचौकी क्षेत्रमा नेपालतर्फको भू–भाग भारतीय पक्षले मिच्दै आएको छ । लक्ष्मीपुर, रामपुर, बिलासपुर, चाँदनी, दोधाराको पूर्वी भाग मेलाघाट तथा सुन्दरनगर क्षेत्र त्रिभुवनबस्ती बेलडाँगी गाविस दशगजामा करिब ३० बिघा नेपाली भू–भाग अतिक्रमण गरी भारतीय नागरिकहरुले ३० वर्षदेखि उपयोग गर्दै आएका छन । शारदा ब्यारेजक्षेत्र निर्माण गर्दाका समयमा ३६.६७ एकड अर्थात् २२.४४ बिघा जमिन मिचिएको छ।

त्रिभुवनबस्तीदेखि ब्रम्हदेवमण्डीसम्म नेपाल–भारत सीमाक्षेत्रका सीमास्तम्भहरु मध्ये १२ वटा गायब छन् । दार्चुलामा कालापानी, लिम्पियाधुरा क्षेत्रमा तिब्बतको ताक्लाकोट व्यापारिक केन्द्रतर्फ जाने लिपुलेकदेखि कालापानीमा भारतीय अर्धसैनिकले ओगटेको भाग र पश्चिमतर्फका गुन्जी, कुटी, नाभी, छोटाकैलाश, जोलिङकाङ पर्वत हुँदै लिम्पियाधुरासम्मको भू–भाग पनि भारतबाट अधिक्रमणमा परेको तथ्य दुनियालाई थहा छ ।

सीमामा नेपालको २४ जिल्लालाई नदी र विभिन्न स्तम्भले छुट्याएको छ । तर लामो समयदेखि भारतीय पक्षले सीमा स्तम्भ तोड्ने, गायव गर्ने सार्ने काम भैरहदा पनि नेपाल सरकारको प्रभावकारी उपस्थिती र भारतसंग डिल गर्ने हैसियत देखिदैन् ।

सीमामा अन्तराष्ट्रिय कानुन विपरित एकतर्फी रुपमा ठूलाठूला बाध बनाएर नेपालको हजारौ बिघा जग्गा बर्षेनी जलाशयमा परिणथ हुदै आएको छ । विभिन्न बाहनामा गरिएको गरिएको कोशी, गण्डक, महाकाली सम्झौता नेपाल र भारत बीचको अर्को तितो यथार्थ हो । राजनीतिक अस्थिरता, सत्तामोहकै कारण सीमा समस्या झन् बढ्दै गएको हो । सीमा विवाद र गुमेको भू–भागको बारेमा नेपाल–भारत विभिन्न समयमा छलफल भएपनि त्यसको निकास भने पाउन सकेको छैन । यो समस्याको दीर्घकालिन समाधानको लागि सबैभन्दा पहिला त नेपालमा राजनीतिक स्थायित्व र स्थिर सरकार बन्न जरुरी छ ।

आफू सत्तामा पुग्दा नतमस्तक भएर भारतका अघि लम्पसार पर्ने सत्ता बाहिर पुगेपछि बाघ जस्तो गर्जने प्रवित्तिले नेपालको भू–भागको समस्याको सहि सामाधान हुन सकेको छैन ।

निकासको यो बाटो
मुलकले ६० वर्षको बलिदानीपुर्ण संघर्षपछि नयाँ संविधान पाएको छ । मुलूकमा दिगो शान्ति, राष्ट्रको पुनर्संरचना, दिगो र स्थिर सरकारको निर्माण हुन आवश्यक देखिन्छ । त्यस्तै सन १९५० को असमान सन्धि, खुल्ला, सीमाना, असमान जलस्रोत सन्धि, बढ्दो व्यापार घाटा, भूपरिवेष्ठित राष्ट्रले पाउने सुविधा लगायतका तमाम समस्याको सामाधान कुटनीतिक रुपमा खोज्न जरुरी छ । नेपालका शासकहरुले स्वाधिनतको पक्षमा उभिएर हिम्मत नगर्ने हो भने सीमा दुखाइको पीडाले सधै चहर्याइरहने छ । 
Share on Google Plus

About Rahul

0 comments:

Post a Comment