Sponsor

गुगल भन्छ: सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा !


काठमाडौंः पृथ्वीकै सबैभन्दा अग्लो हिमाल समगरमाथा (माउन्ट एभरेस्ट) नेपालमा रहेको कुरामा कुनै विवाद छैन । 

अंग्रेजीमा माउन्ट एभरेस्ट र चिनियाँ भाषामा चोमोलुङ्माको नामले तिब्बत र चीनमा चिनिने विश्वकै अग्लो यो हिमालकै कारण नेपाल विश्वभर चिनिएको छ । 

वैज्ञानिक मापन अनुसार ८ हजार ८ सय ४८ मिटर (२९ हजार २९) फिट अग्लो यो हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा चीनले पनि स्वीकारिसकेको छ । 

विश्वचर्चित इन्टरनेट इन्साइक्लोपेडिया विकिपिडियामा सर्वोच्च शिखर नेपालको सगरमाथा अञ्चलस्थित नेपाल–तिब्बत सीमामा पर्ने उल्लेख गरिएको छ । 
नेपाल र नेपालीले गर्ब गर्ने र विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् । 

केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ । गुगल म्यापले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि यसबारेमा चीनमै पनि संशयपूर्ण प्रतिक्रिया आइरहेको छ । 

गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार गरेको छैन । उसको यो त्रुटिबारे गुगललको प्रेस हेर्ने इमेलमा जबाफ माग्दा कुनै प्रतिक्रिया आएको छैन । 

गुगल म्यापले सगरमाथालाई आफ्नो भूमिमा देखाएपछि चीनकी एक फेसबुक प्रयोगकर्ताले यसतर्फ सजग हुन नेपालका साथीहरुलाई आग्रह गरेकी छन् । 

‘नेपाली साथीहरु सजग हुनुहोस, गुगलले माउन्ट एभरेस्टलाई चीनको भूमिमा देखाइरहेको छ । तर चीनले यसमा केही गर्न सक्दैन’, म्युई चुङ नामकी चिनियाँ नागरिकले लेखेकी छन्, ‘चीनमा गुगलसहितका सर्च इन्जिन र म्याप प्रयोग गर्न प्रतिबन्ध छ । यहाँ गुगल गर्न सकिँदैन । फेसबुक, गुगल, युट्यूबसहितलाई यहाँ सन् २००९ देखि खोल्न प्रतिबन्ध छ ।’

उनले नेपाली भूमिमा रहेको सगरमाथलाई चिनियाँ भूमिमा रहेको देखाई विवाद सिर्जना गर्ने काममा भारत र अमेरिका लागेको तर्क गरेकी छन् । भारतीय नागरिक सुन्दर पिचाई गुगलका सिईओ भएसँगै सगरमाथालाई चीनतर्फ देखाइ चीन र नेपालबीच विवाद बढाउन खोजिएको उनको तर्क छ ।

‘अमेरिकन कम्पनी गुगलमा भारतीय नागरिक सुन्दर पिचाई सिईओ भएपछि यस्तो गर्न थालिएको हो’, उनले भनेकी छन्, ‘तर आम चिनियाँहरु सगरमाथा पनि नेपालमै रहेको र भगवान गौतम बुद्ध पनि नेपालमै जन्मेको कुरामा विश्वास गर्छन् ।’

गुगलले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि त्यसविरुद्ध सामाजिक सञ्जालमा अभियान नै छेडिएको छ । 

गुगललको गल्ती नै भएपनि या प्राविधिक कारणले त्रुटि भएर यस्तो भएपनि तत्काल यसमा सुधार गर्नुपर्ने सामाजिक सञ्जालका प्रयोगकर्ताको भनाइ छ । 

गुगलको नेपालस्थित प्रतिनिधिलाई यसबारेमा प्रश्न गर्दा उनले आफूलाई त्यसबारे बोल्ने अधिकार नभएको प्रतिक्रिया दिए । आफ्नो नामसमेत सञ्चारमाध्यममा प्रकाशित नगरिदिन आग्रह गर्दै उनले गुगलको केन्द्रीय कार्यालयलाई नै यसबारेमा प्रश्न गर्न आग्रह गरे । 

गुगलको यस लापबाहीबारेमा नबिन पराजुली ट्वीटरमा लेख्छन्, ‘एभरेस्ट नेपालको गौरब हो । हामी यसप्रति गौरबवान्वित छौं । तर, गुगलले माउन्ट एभरेस्टलाई चीनतर्फ देखाउने घृणित कार्य गरेको छ ।’ 

त्यसैगरि क्रिस कार्कीले लेखेका छन्, ‘हामी सबैलाई थाहा छ, सगरमाथा नेपालमा छ भन्ने कुरा तर गुगलले सगरमाथालाई चिनियाँ भूमिमा देखाएर मुर्ख हुने काम गरेको छ ।’

अरुण साहले ट्वीटरमार्फत गुगलका सीईओ सुन्दर पिचाईलाई मेन्सन गर्दै माउन्ट एभरेस्टको लोकेशन नेपालमै भएकाले चीनमा देखाइएको म्यापमा सुधार गर्न आग्रह गरेका छन् । 

सगरमाथालाई चिनियाँ भूमिमा देखाइएपछि ट्वीटर प्रयोगकर्ताहरुले गुगललविरुद्ध #Backoffgoogle ह्यास ट्याग अभियान नै चलाएका छन् । 


Share on Google Plus

About Rahul

0 comments:

Post a Comment