Sponsor

आठ वर्षपछि चित्रकार आरबी भोला

५७ वर्षे चित्रकार आरबी भोला एकल प्रदर्शनीको तयारीमा
वरिपरि झारैझारले घेरेको जीर्ण घर । भित्र छिर्दै गर्दा दैलोमै अँध्यारो र असुरक्षित कोठा देखिन्छ, जहाँ सेताम्मे फुलेका चित्रकार क्यानभास उज्यालो पार्न रंग पोतिरहेका छन् । कोठामा छरिएका काठका मूर्ति, ढुंगा, ब्रस र केही टुटेफुटेका कलासम्बन्धी सामग्री उनका साथी हुन् ।

वरिष्ठ चित्रकार आरबी भोला यिनै निर्जीव वस्तुमार्फत मनको भाव दर्साउने गर्छन् । र, मनमनै गन्थन गर्छन् । नागपोखरीस्थित पुरानो भवनमा ५७ वर्षे चित्रकारको दैनिकी यसै गरी बित्छ ।
साढे तीन दशकको चित्रकारिता अनुभव बटुलेका आरबी अस्वस्थताका कारण आठ वर्षसम्म ओझेलमा रहे ।
इलाममा जन्मिएका उनी मुम्बईबाट सन् १९६४ मै जेजे कलेज अफ फाइन आर्टस्मा स्नातकोत्तर सकाएर काठमाडांै भित्रिएका थिए । त्यस बेलादेखि नै मोडर्न र अमूर्त कलाका हस्ती चित्रकारका रूपमा चिनिने आरबीले हालसम्म ३२ वटा त एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । अमेरिका, अस्ट्रेलिया, भारत, क्यानाडा, जापानमा उस बेला गरेका चित्रकला प्रदर्शनी उनका आँखाअघि अझै नाचिरहेका छन् ।
‘त्यो बेला त म सेलिब्रेटी चित्रकार नै थिएँ,’ बुधबार दिउँसो
उनले चस्मा मिलाउँदै भने, ‘अहिले सपनाजस्तै लाग्छ ।’
सन् १९९९ मा जापानमा भएको मोडर्न आर्ट कम्पिटिसनमा उनले प्रथम पुरस्कार प्राप्त गरेका थिए । अहिलेका प्रख्यात चित्रकार शशिविक्रम शाह, उत्तम नेपाली, रवीन्द्र ज्यापू लगायत उनका उस बेलाका समकक्षी थिए ।
मुुटुको दुवैतिर प्वाल परेपछि थलिएका आरबीले उपचार पाएनन् । परिवार र कमजोर शरीरले साथ नदिँदा उनको करिअरको उचाइ खस्किँदै गयो । निराश जीवनले रंगीन चित्र कसरी कोर्न सक्छ ? यसपछि उनी वर्षौं ओझेलमा रहे । पछिल्लो समय स्रष्टा अनल गौतम आरबीका बैसाखी बन्न आइपुगे । अनलले आरबीको बस्ने, खाने, उपचार गर्ने र खुम्चिएको सिर्जना फेरि फुकाउने प्रयास डेढ वर्षदेखि निरन्तर गर्दै आएका छन् । ‘क्यानभासमा कोरिएका अहिलेका चित्र यत्तिकै भएका होइनन्,’ अनलले भने, ‘निकै प्रयासपछि उहाँको वास्तविक सिर्जना देखिन थालेको हो ।’
आरबीको एउटा मुटुको प्वाल टालिएको छ । अर्को निको हुन बाँकी नै छ । उनी भने यति बेला चित्रलाई कसरी सुन्दर बनाउने भन्नेतर्फ लाग्दै छन् । उनी आउँदो एकल चित्रकला प्रदर्शनीमा पहिलेकै क्षमता दर्साउन चाहन्छन् ।
कुराकानी क्रममा उनी निकै नोस्टाल्जिक भए, ‘कुनै समय हरेक पाँचतारे होटलमा मेरा चित्र सजिएका हुन्थे ।’ कोठाको भित्तामा नारायणगोपाल, मदन भण्डारी, सत्यमोहन जोशी लगायतका व्यक्तित्वका पोट्रेट झुन्ड्याएका उनले समाजसेवाका लागि पनि थुप्रै कला प्रदर्शन गरिसकेका छन् । पासाङ ल्हामुको सालिक निर्माण, धरानमा बीपी कोइराला क्यान्सर अस्पताल, गंंगालाल हृदय रोग अस्पताल स्थापनामा समेत उनले च्यारिटी गरेका थिए ।
मुम्बईमा अभिनेता अमिताभ बच्चनले आफ्नो चित्रकला उद्घाटन गरेको क्षण सम्झेर उनी रोमाञ्चित हुन्छन् । उस बेला एकल चित्रकला गर्नु कलाकारका लागि सपनाजस्तै हुन्थ्यो । ग्यालरीसम्म धाएर कसैले चित्र किन्नु भनेको उच्च स्तरको सम्मान मानिन्थ्यो । आरबीको उमेरमा ग्राहकको कहिल्यै कमी भएन । नेतादेखि व्यापारीसम्मले उनका चित्र घरमै आएर किन्ने गर्थे । पहिलो पटक हिमालको ल्यान्डस्केप बनाएका उनले जम्मा डेढ सय रुपैयाँमा बिक्री गरेका थिए । त्यसपछि अमूर्त चित्र उनले २०५४ मा ओम सिटौलालाई ३ लाख रुपैयाँमा बेचे । ‘फ्रिडम’ थिममा कोरिएको त्यो चित्र आरबीले नेपालमा उस बेला बेच्ने महँंगो चित्रमध्ये पथ्र्याे । त्यस्तै, अमेरिकामा १९९८ मा मोडर्न शैलीको उनको चित्र ६ हजार डलरमा बिक्री भएको समेत उनी सम्झिन्छन् । जीवनले कति बेला कोल्टे फेर्छ पत्तो हुँदो रहेनछ । अहिले पैसाको सम्बोधन गर्दै आरबीले भित्तामा लेखेका छन्–
पैसा भगवान् त होइन
तर भगवान् कसम
पैसा भगवानभन्दा कम होइन...

खासमा उनी मोडर्न र अमूर्त कलाका सोखिन हुन् । रंग छर्किंदैमा अमूर्त हुन्छ भन्ने उनी मान्दैनन् । अमूर्त चित्रकलामा रंग र सन्देश दुवैको उत्तिकै महत्त्व हुने उनको ‘स्कुल अफ थट’ छ । विगत भुल्दै फेरि आफूलाई एकपटक क्यानभासमा झल्काउन चाहने आरबीले अहिले अमूर्त र मोडर्न शैलीका ३० चित्र तयार पारिसकेका छन्, जुन छिट्टै प्रदर्शनीमा आउँदै छन् ।
अनलले आरबीको जीवन र आफ्नो संयोजन समेटेर कथा संग्रह पनि निकाल्ने तयारी गरेका छन् । ‘एउटा नामुद चित्रकारको उकाली–ओराली लेख्न मन लाग्यो,’ अनलले भने ।


स्रोत : कान्तिपुर

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment