चीनबाट नेपालले व्यवसायिक रुपमा इन्धन खरिद गर्ने समझदारी भइसकेको छ । भारतले अघोषितरुपमा लगाएको नाकाबन्दी एक महिनासम्म जारी रहेपछि बुधबार नेपालले चीनबाट इन्धन ल्याउने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसकेको छ ।
यो सहमतिले वषौंदेखिको भारतीय इन्धनको एकाधिकार तोडिएको छ । तर, चीनबाट इन्धन ल्याउने विषय भारतको भन्दा सजिलो छैन भन्नेहरु पनि धेरै छन् ।
भौगोलिकरुपमा सीमाक्षेत्रमा फैलिएको हिमश्रृङ्खला र उच्च पहाडी क्षेत्रका कारण चीनको इन्धन नेपाल ल्याउने विषयलाई महत्वाकांक्षा मान्ने पनि छन् ।उनीहरु चीनका नाकाहरु जोड्ने भौगोलिक मार्गहरुको असहजतालाई चीनसंग इन्धन किन्ने योजनाको बाधक मान्छन् । उनीहरुको तर्कजस्तै चीनका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी नाका पुग्ने सडकहरु वषर्ाका समयमा प्रायः बन्द हुने गरेका छन् ।
बीच-बीचमा पर्ने ठूला-ठूला पहिरोले चीनसंगको ब्यापार प्रभावित हुने गरेको छ । सडकको समस्या घटाउन गर्न सकिने प्रयासहरु एकातर्फ होलान् तर, सडकबाहेक अन्य कुनै विकल्पटबाट चीनबाट तेल आउन सक्दैन ?
सडकको विकल्प के ?
कतिपय भूगर्भविद र विज्ञहरु चीनतर्फको भौगोलिक बनावटकै फाइदा उठाएर सजिलै चीनबाट तेल ल्याउन सकिने बताउँछन् । उनीहरु नेपाल र चीनबीच पेट्रोलियम पाइपलाइन बनाउने हो भने भारतबाट भन्दा कम लागतमै तेल ल्याउन सकिने रुसुवा उद्योग बाणिज्य संघका अध्यक्ष कैसाङ तामाङले बताए ।भारतको रक्सौलबाट बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति भइसकेको छ । तर, पाइपलाइनमै तेल ल्याउने हो भने भारत भन्दा चीनबाट सहजै तेल र ग्यास ल्याउन सकिने देखिएको छ ।
अहिले चीनले अनुदानको तेल केरुङबाट दिँदैछ । तर, केरुङसम्म चीनको पेट्रोलियम पाइपलाइन छैन । चीनले ल्हासासम्मको पेट्रोलियम पाइपलाइन सिगात्सेसम्म ल्याउने योजना बनाएको छ । अहिले ल्हासासम्म पाइपलाइनमा आएको तेल रेल र ट्यांकर मार्फत ढुवानी गरी चिनियाँ क्षेत्रमा वितरण गर्ने गरिएको छ । यदि नेपालले चीनलाई निश्चित प्रतिशत तेल र ग्यासको बजार दिने ग्यारेन्टी गरेमा चीनले सिगात्सेसम्म पेट्रोलियम पाइपलाइन तीव्ररुपमा विकास गर्नैपर्छ ।
व्यवसायिक रुपमा तेल कारोबार भएमा सिगात्सेबाट चीनले कुनै रुपमा तेल केरुङसम्म ल्याएर बिक्री गर्ने योजना बनाउनेछ । यहीअनुरुप नेपालले केरुङबाट बेत्रावतीसम्म पाइपलाइन विकास गर्ने हो भने भौगोलिक कारण कुनै पनि किसिमको अप्ठेरो नपर्ने भुर्गभविद प्रमोद सिंखडा बताउँछन् ।
यसरी बन्न सक्छ केरुङबाट बेत्रावतीसम्म पाइपलाइन
चीनको केरुङ भौगोलिकरुपमा नेपाली भूगाग भन्दा उच्च स्थानमा छ । केरुङ समुन्द्री सतहबाट १८ सय २० मिटरको उचाइमा छ । यदि केरुङमा चीनले तेल डिपो खडा गरेर त्यहाँबाट पाइपलाइन बनाउने हो भने स्याफ्रुबेसी हुँदैै बेत्रावतीसम्म सहजै इन्धन आइपुग्नेछ । खोलाको किनारै किनार पाइपलाइन ल्याएमा गुरुत्वाकर्षणकै भरमा तेल बेत्रावतीसम्म आइपुग्ने अध्यक्ष तामाङले दाबी गरे ।रसुवाको स्याफ्रुबेसी समुन्द्री सतहबाट १४ सय ९० मिटरको उचाइमा छ भने बेत्रावती ७ सय ६० मिटरमा छ । चीनको केरुङबाट बेत्रावतीसम्मको उचाइ निरन्तर घट्दो छ ।
केरुङबाट खोला/खोल्सा हुँदै बेत्रावतिसम्म पाइपलाई बिछ्याउने हो भने कुनै पम्पिङको आवश्यक्ता नहुने भूगर्भविद सिंखडाले पुष्टि गरे । केरुङबाट स्याफ्रुबेसी १४ किलोमिटरको दुरीमा छ भने स्याफ्रुबाट बेत्रावती २९ किलोटिरको दुरी छ ।यसरी झण्डै ४५ किलोमिटर पाइपलाइन बनाउने हो भने चीनको तेल नेपाल सहजै आउन सक्छ । अहिले बनाउने भनिएको भारतसँगको पाइपलाइन पनि ४१ किलोमिटर लामो हुनेछ । रक्सौलबाट अमलेखगञ्जमा पाइपलाइन बिछ्याउँदा पम्पिङ सेट अनिवर्य हुन्छ ।
किनभने रक्सौल सुमुन्द्र सतहबाट ८० मिटरको उचाइमा छ भने अमलेखगञ्ज झण्डै १ सय ५० मिटरमा अवस्थित छ । यसरी पनि चीनसँगको पाइपलाइन भारतको भन्दा सस्तो र सहज हुने देखिएको छ । यदि बेत्रावतीमा डिपो बनेमा ८० किलोमिटरको सडकमार्गबाट काठमाडौंमा इन्धन भित्रिने छ । तर, पाइपलाइन बनाउने पाटोमा सरकारी पहलकदमी भने जरुरी पर्नेछ ।
Source : Onlinekhabar.com
The Elevation of Kathmandu is lower than that of Kerung. So the pipeline can be longer than 45 km, as it can be continued to closer to Kathmandu rather than ending at Betrawati. However, only a feasibility study can ascertain that possibility.
ReplyDelete