Sponsor

यसरी बनेको थियो सिंहदरबार


 श्री ३ चन्द्रशमशेरले प्रधानमन्त्री भएपछि स्व. श्री ३ वीरशमशेरको सेतो दरबार र लाल दरबारहरु खरिद गर्नका निमित्त आफुले भन्न नसकी डिल्लीशमशेर थापा र माहिला पण्डित काशीनाथ आचार्य दीक्षितहरुद्वारा भन्न पठाए । तेजशमशेरले आफ्नो लालदरबार विषयमा ‘महाराजमा चाहिए लागोस् टक्र्याउँछु तर मुमाज्यु (श्री ३ कान्छी बडामहारानी तोपकुमारी देवी) लाई कहाँ राखूँ ?’ भनी प्रश्न गरी पठाए ।


गेहेन्द्रशमशेरले चाहिँ आफ्नो सेतो दरबार विषयमा ‘महाराजले मैले चाहेको मोल बक्सन सकिबक्सन्छ कि बक्सदैन पहिले सो बुझी आओ’ भनी दुवैजनालाई फिर्ता गरी पठाए । श्री ३ चन्द्रले सेतो दरबार र लाल दरबार लिने आँट गर्न सकेनन् ।

त्यसपछि जीतशमशरेको लाजिम्पाट दरबार (हाल शंकर होटल) र रुद्रशमशेरको चारबुर्जा दरबार (हाल निर्वाचन आयोग भवन) हरु जम्मा ६ /६ लाख रुपैयाँ दिई खरिद गर्ने कुरा हुँदा यी दुवैजनाले महाराजमा चाहिए लागोस् जो निगाहा भनेकाले श्री ३ चन्द्रले उपरोक्त दुवै दरबारहरु खरिद गर्ने भए, तर इन्जिनियर कुमार नरसिंह राणा र इन्जिनियर कर्णेल किशोरनरसिंह राणाहरुले ‘महाराज १ यिनी सोझाहरुको किन चित्त दुखाइबक्सन्छ हुकुम भए वर्षदिनमै महाराज लायकको नयाँ दरबार तयार गर्दछौं ।’ भनेकाले उपरोक्त दरबारहरु खरिद नगरी सिंहदरबार निर्माण कार्य शुरु भयो ।


१९६० साल फागुनमा सिंहदरबार तैयार भयो, पुरश्चरण, कोटी होम, रुद्री इत्यादि अनेक कर्मकाण्ड गराइ श्री घ चन्द्रले आफ्नो पुरानो थापाथली दरबार सिंहमहल (हाल नेपाल राष्ट्र बैंकको थापाथली शाखा) बाट सिंहदरबार सरे । सिंहदरबार बन्न सुरु गर्नुअगावै श्री ३ चन्द्रले प्राइम मिनिष्टर बस्न लायकको ठीकैको दरबार बनाउनुपर्ला भनेका थिए तर पछि बनाउँदा बनाउँदै त्यो दरबार भयंकर ठूलो बन्यो ।

सिंहदरबार जे जत्रो बनेपनि त्यस समयमा श्री ३ चन्द्रको पचास लाख रुपैयाँभन्दा बढी खर्च सो दरबारको निर्माणमा लागेन भन्ने अनुमान तत्कालीन दोश्रा जनरलपछि फिल्ड मार्शल रुद्रशमशेरको अनुमान छ । कारण काठ काठमाडौ नजिक ‘छरिया’ को जंगल जुन जंगलमा स्व. श्री ३ जंगले वि.सं १९१७ तदनुसार सन् १९६० मा अनेक प्रकारका अहिंस्रक जनावरहरु र चराहरु त्यस जंगलमा छोडी गोकर्ण, नागार्जुन वन झैं रेखदेख गरी संरक्षण पुर्‍याइराखेका थिए सो वन साफ हुने गरी लकडी ओसारे ।

काठमात्र ओसारेनन् ‘छरिया’को नामो निशान राखेनन् आज काठमाडौ निवासी धेरैलाई थाहा छैन होला ‘छरिया’ भन्ने ठाउँ कहाँ हो ? त्यस घोर जंगलको लकडी साफ हुने गरी काठमाडौंमा ‘झ्लारी’ द्वारा ओसारे । लकडीमा श्री ३ चन्द्रको एक पैसा पनि परेन । काठको काम गर्ने सिकर्मी, गारोको काम गर्ने डकर्मीदेखि कुल्ली इत्यादि सम्पूर्ण कार्य सैनिक, पुलिस, पीपा र कैदीबाट लिइन्थ्यो । बीच बीचमा राँगो खानेहरुलाई राँगो र खसी खानेहरुलाई खसी काटी अवश्य भोज खुवाउँथे ।

चन्द्रशमशेरको पैसा पर्‍यो भने खाली कीला काँटा, फलामे छड, फलामे सत्तरी, दलीन इत्यादि जुन भारतबाट खरिद गर्नुपर्दथ्यो र सो सामानको भन्सार पनि कत्ति पर्दैनथ्यो, तसर्थ श्री ३ चन्द्रले यस सिंहदरबार निर्माणार्थ पचास लाख रुपैयाँभन्दा बढी खर्च गरेका छैनन् ।
सिंहदरबार बनी तयार भएपछि श्री ३ चन्द्रले भारदारी सभा गठन गरी सबै समक्ष ‘अबदेखि जो श्री ३ महाराज हुन्छ उ यस सिंहदरबारमा बस्न पाउने छ तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजदेखि बेचेँ’ भनी सरकारी ढुकुटी– कौसीबाट तुरुन्त दुई करोड रुपैयाँ झिकेर लिए । यसरी श्री ३ जंगले संकटकालीन अवस्थामा, दैवीप्रकोप परेमा मात्र प्रयोग गर्नु भनी राखेको एघार करोड रुपैयाँबाट सर्वप्रथम यिनले झिकेर लिए । यसरी श्री ३ चन्द्रले कमसेकम डेढ करोड रुपैयाँ सिंहदरबार बेची आर्जन गरे साथै दरबारमा आफु नमरुन्जेल (२८ वर्षसम्म) बसे ।

दरबार बनिसकेपछि एक दिन चन्द्रशमशेरले सो विशाल सिंहदरबारको निरीक्षण गर्दै जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग दरबारको कौसीमा पुगे । चन्द्रशमशेरले कौसीबाट ‘बागदरबार’ देखेकाले औल्याउँदै ‘ऊ बागदरबार’ भनी लोकभक्तलाई देखाए । लोकभक्त लक्ष्मीले ‘महाराज ! त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न कसो होला ?’ भनेर प्रश्न गरिन् । चन्द्रशमशेरले मुसुक्क हाँस्दै सो नयाँ दरबारको नाम ‘सिंहदरबार’ राखिदिए ।

पुरुषोत्तमशमशेर जबराद्वारा लिखित श्री ३ हरुको तथ्य वृतान्त पुस्तकबाट
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment