Sponsor

नाकाबन्दी गरेर टिंकर नाका खान खोज्दैछ भारत, हाम्रो कालापानी फिर्ता गर

यतीबेला भारतले मानविय संवेदनालाई पनि विर्सिएर नेपालमाथि नाकाबन्दी लगाएको छ । २५ वर्षसम्म भारतसँगै तेल लगायतका इन्धनजन्य पदार्थ किन्नुपर्ने सम्झौता गराउन सफल भएको भारतले चाडवाडको मुखमा र्आर नाकाबन्दी लगाएर नैतीकहिन राजनीति गरिरहेको छ । 

 नेपालका विभिन्न स्थानमा सीमा मिच्ने, रातारात सीमास्थित नेपालीहरुमाथि लुटपाट गर्ने घटना त सामान्य नै थिए । अहिले आएर गरेको नाकाबन्दीले जनजीवन कष्टकर बनेको छ । यस्तो बेला सरकार संवेदना हिन भएको छ । लाग्छ, यो मुलुकमा हाम्रो भन्न लायक सरकार नै रहेन ।

प्रधानमन्त्री सुशील कोइराला र उनका केही मन्त्रीहरु समेत नाकाबन्दी शब्द उच्चारण गर्न डराइरहेका छन् । अनि भारतले भने पेलीरहेको छ । यस्तोबेला नेपालको राष्ट्रियता बलियो बनेको छ र नेपालीहरु बरु भोकै बस्छौं, भारतसँग नझुकौं भनिरहेका छन् । अब हामीले भारतले लुटेको कालापानी फिर्ता लिनुछ ।

दादागिरी देखाउने भारतलाई घुँडा टेकाउनुछ । कालापानी नेपाल र चीनको सिमानामा पर्दछ कालापानी । यो नेपालको भू–भाग हो र ३ हजार ६ सय मिटरको उचाइमा रहेको छ । सन् १९६२ देखि कालापानीमा भारतीय सेनाहरू तैनाथ गरिदै आएको छ ।
लिपुलेक बारे २०३८ मा बनाइएको एक गोप्य स्केच 


सुदूर पश्चिम नेपालको दार्चुला जिल्लाभित्र पर्ने कालापानीमा ३५ वर्गकिलोमिटर भू–भागभित्र भारतीय सैनिक क्याम्प खडा गरिदै आएको छ । चीनको जासुसी गर्नका लागि भारतले नेपालको कालापानीमा भारतीय सेनाको क्याम्प खडा गरेको हो ।

एउटा स्वतन्त्र र स्वाधीन मुलुकको भूभागभित्र सेना तैनाथ गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत रहदै आएको छ ।

दार्चुला जिल्लाको ब्यास गाउँ विकास समितिका वडा नं. १ मा पर्ने कालापानी क्षेत्रमा भारतले जवर्जस्ती आफ्नो सैनिक क्याम्प राखिरहेको छ । यसप्रति जनस्तरबाट जति विरोध भएको छ, त्यसका विपरीत सरकारले चाहिँ त्यसलाई अनावश्यक भण्झट ठानेको देखिन्छ । एउटा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देशको भूमिमा विदेशी सेना रहँदा पनि त्यसलाई हटाउन सरकारी तवरबाट पर्याप्त प्रयास भएको पाइँदैन ।
यहाँसम्म कि त्यहाँ भारतीय सेना बसेको जानकारी सरकारले कहिले पायो र नेपालको उत्तरी भेकमा रहेका १४ वटा भारतीय सैनिक चौकीहरुलाई २०२६ सालमा हटाउँदा पनि कालापानीस्थित क्याम्पलाई किन हटाइएन भन्ने बारे पनि सम्बन्धित निकायहरुले स्पष्ट चित्तबुझ्दो जवाफ दिन सक्दैनन् ।
कालापानी अतिक्रमणको चुरो भनेको महाकाली (चलनचल्तीको भाषामा काली) नदीको उद्गमस्थलसम्बन्धी विवाद हो । भारतले ‘तुल्सी न्यूराङ’ अर्थात कृत्रिम कालापानीमा कालीको कृत्रिम मुहान खडा गरेर अतिक्रमणलाई ‘वैधानिकता’ दिन जाली कसरत गरिरहेको छ । त्यहाँ पहाडबाट रसाएको पानीलाई सानो तलाउमा जम्मा पारेर एउटा कुलो लिपुखोलामा जोडिएको छ र त्यही तलाउलाई कालीको स्रोत भन्ने हास्यास्पद दाबी गरिएको छ ।


नेपालको सरकारले चाहिँ तुल्सी न्यूराङभन्दा ६ किमि उत्तरमा पर्ने लिपुधूरा वा लिपुलेक (सक्कली कालापानी) कालीको उद्गम हो भनेको छ । यस भनाइअनुसार लिपलेकबाट निस्कने लिपुखोला काली नदीका रुपमा सीमा नदी हुन आउँछ र यो स्थितिमा भारतले करिब ३५ कि.मि. भूभागमाथि अतिक्रमण गरेको देखिन्छ ।

यसबाहेक, नेपालका सम्बन्धित विशेषज्ञ र स्थानीय बासिन्दाहरुले लिम्पियाधुराबाट निस्कने कुटी नदीलाई मूल काली नदीका रुपमा सीमा नदी हो भन्ने तथ्यहरु अघि सारेका छन् । लिम्पियाधुरा कालीको उद्गम सावित भएको खण्डमा भारतले करिब १९६ वर्ग कि.मि. नेपाली भूभागमाथि अतिक्रमण गरेको मानिनेछ ।

हाल भारतीय सैनिक क्याम्प रहेको कारण चर्चामा आएको कालापानीको खास नाम तुल्सी न्यूराङ हो । सक्कली कालापानी त्यहाँभन्दा ६ कि.मि. माथि लिपुधुरा वा लिपुलेकमा छ, जहाँबाट काली निस्कन्छ भन्ने सरकारी मान्यता छ । सक्कली कालापानीमा काली मन्दिर छ । भारतीयहरुले तुल्सी न्यूराडमा पनि त्यस्तै मन्दिर बनाएर कालीको महान भएको कालापानी त्यही हो भनी झुठको खेती गरिरहेका छन् ।

सो विवादास्पद क्षेत्रभित्र पर्ने तुल्सी न्यूराङ नक्कली कालापानीसहित नाभीडाङ, गुन्जी र छोटा कैलाश गरी जम्मा चार ठाउँमा भारतले सैनिक क्याम्पस राखेको छ । तीमध्ये तुल्सी न्यूराङ सामरिक, व्यापारिक र धार्मिक सबै दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण स्थानमा रहेको छ । त्यसैकारण भारतले सो ठाउँको निम्ति मरिहत्ते गरिरहेको छ ।
नेपालको बैतडी जिल्लाको पारिपट्टि पर्ने भारतको उत्तर प्रदेश पिथौरागढ जिल्लाको जौलजिवीदेखि माथिको सम्पूर्ण क्षेत्रलाई भारत सरकारले निषेधित क्षेत्र घोषित गरेको छ । विशेष अनुमतिपत्र नलिएका भारतीयहरुले समेत जौलजिवीदेखि माथि जान पाउँदैनन् । सो क्षेत्रमा हरेक १०–१५ मिनेटमा सैनिक क्याम्पहरु भेटिन्छन् ।

कालापानी क्षेत्रमा चाहिँ भारतले भारत–तिब्बती सीमा प्रहरी आई.टि.बि.पि. नामको अर्धसैनिक बल तैनाथ गरेको छ । सन् १९६२ का भारत–चीन युद्धताकादेखि त्यहाँ आई.टि.बि.पि. तैनाथ गरिएको हो । त्यसअघि सन् १९५७ देखि नै त्यहाँ स्पेसल पुलिस फोर्स (एसपीएफ)को चेकपोष्ट राखिएको थियो ।

भारतले कालापानी क्षेत्रमा कब्जा जमाउनुको खास कारण त्यहाँको सामरिक महत्व नै हो । तुल्सी न्यूराङको जस्तो समतल भू–बनौट त्यस भेकमा अन्यत्र छँदै छैन । त्यहाँ एकैचोटि दुई वटा हेलिकप्टर ल्याण्ड गर्ने ठूला हेलिप्याड छन् भने १० वटा गुम्बज आकारका फलामे घरहरुसहित अन्य सिमेन्टेड घर पनि छन् । वरिपरि अग्ला पहाडहरु छन् । उत्तरको लिपुलेकमा चिनियाँ सेना आयो भने पनि त्यो हिमाली खोँचबाट सर्लक्कै देखिन्छ ।

कथंकदाचित फेरि भारत–चीन युद्ध भएमा चिनियाँ पैदल सेना अघि बढ्न सक्ने सबैभन्दा खतरनाक सामरिक नाका नै लिपुलेक–तुल्सी न्यूराङ हो ।

किनकि चीनबाट भारतको नयाँ दिल्लीसम्मको सबैभन्दा छोटो दूरीको बाटो लिपुलेक कालापानी भएर जान्छ । र तुलनात्मक रुपले लिपुभन्ज्याङको उचाइ ५०९८ मिटरभन्दा पनि कम छ । कालापानी नेपाललाई फिर्ता दिइएमा निरन्तर खतरा भइरहने निष्कर्ष भारतीय सैन्य रणनीतिकाहरुले निकालेको पाइन्छ ।

लिपुभञ्याङभन्दा केही तल चीनसँग टाँसिएर रहेको सामरिक महत्वको अर्का नेपाली नाका टिंकर भञ्ज्याङ (उचाइ ५२५८ मि.) तर्फ पनि अब भारतको आँखा गढ्न थालेको संकेत पाइएको छ ।

यस कारण नेपाली जनता एक भएको अवस्थामा सबै मिलेर कालापानी फिर्ता लिन सक्नुपर्छ । कालापानी फिर्ता लिन सकीएन भने भारतले अझै हेप्ने छ र कुनै दिन टिंकर नाका पनि हाम्रो हो भन्न बेर लगाउँदैन ।

अब एक बनेको नेपाली मन भारतको सामन्तवादी सोच र बक्र दृष्टिका विरुद्ध लाग्नु छ र अब भारतलाई नेपालीको शक्ति देखाउनुपर्ने आवश्यकता छ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment