प्रधानमन्त्री इन्दिरा गान्धीका पालामा तराई टुक्रयाएर भारतमा गाभ्ने अपरेसनको खाका बनाइएको थियो । गान्धीले तराई टुक्रयाएर भारतमा गाभ्ने अपरेसनको जिम्मा रअ का संस्थापक प्रमुख रामेश्वर नाथ (आरएन) काओलाई दिएकी थिइन् । तर, आन्तरिक राजनीतिक उतारचढावले योजना सफल नभएको दाबी यादवले आफ्नो पुस्तक ‘मिसन र’मा गरेका छन् ।
यादवले सन् १९७३ मा ‘र’मा भर्ती भएर लामो समय काम गरेका थिए । २६ अप्रिल १९७५ मा सिक्किम भारतमा गाभिएपछि नेपालमा चिनियाँ उपस्थिति बढेको विश्लेषणसहित काओलगायतको टिमले तराईलाई नेपालबाट टुक्रयाउने योजना बनाएको पुस्तकमा उल्लेख छ । आफ्नो असफल योजनाबारे काओले नै यादवलाई जानकारी दिएका थिए ।
‘काओले मलाई भन्नुभयो कि सिक्किम भारतमा मिलाएपछि नेपालमा बढेको चिनियाँ उपस्थिति प्रधानमन्त्री इन्दिरा गान्धीलाई असहज भएको थियो । त्यसकारण तराई टुक्रयाउने योजना थियो,’ यादवले सन् २००० को डिसेम्बर अन्तिम साता काओसँग सिक्किम विलयको अन्तरकथाबारे विस्तृतमा कुराकानी गरेको र काओले हाँसेर सविस्तारमा जवाफ दिएको किताबमा उल्लेख गरेका छन् । नयाँदिल्लीबाट टेलिफोनमा कुरा गर्दै यादवले आफूले किताबमा लेखेको प्रसंग आधिकारिक भएको बताए ।
‘मैले काओ साहेबसँग लामो कुराकानी गरेको थिएँ र उहाँले विस्तृतमा मलाई भन्नुभएको थियो,’ उनले भने, ‘सिक्किमपछि नेपालको तराईलाई भारतमा एकीकृत गर्ने योजना थियो । भारतमा संकटकाल लाग्यो र पछि इन्दिरा गान्धीको पार्टीले चुनाव हारेपछि यो योजनाले मूर्तरूप पाउन सकेन । मैले किताबमा उल्लेख गरेको यही हो । योभन्दा बढी सूचना अहिले मसँग छैन ।’
सिक्किम विलयलगत्तै गान्धीले सन् १९७५ मा संकटकाल लगाइन् । त्यसलगत्तै अधिकांश विपक्षी नेता गिरफ्तारीमा परेका थिए । ‘संकटकालसँगै अधिकांश विपक्षी नेता समातिए र आन्तरिक राजनीतिक आँधीले गान्धीको नेपालको तराई गाभ्नेलगायत बाह्य योजना तर्जुमामा अवरोध खडा गर्यो,’ पुस्तकमा उल्लेख छ, ‘दुर्भाग्यवश, सन् १९७७ को निर्वाचनमा इन्दिरा गान्धी पराजित भइन् । योसँगै तराईको विलय र अन्य गृहकार्यले मूर्तरूप पाउन सकेन ।’
सिक्किमको संचार पनि ईण्डीयनको हातमा |
त्रिभुवन विश्वविद्यालयका इतिहासका प्रोफेसर डा। सुरेन्द्र केसीले तत्कालीन नेपाल सरकार स्थिर र राष्ट्रवादी भएका कारण भारतको त्यसखाले योजना कार्यान्वयन हुने अवस्था नरहेको बताए । ‘उसको मक्सद थियो होला, तर नेपाललाई अहिलेजस्तो अस्थिरतातर्फ लैजाने हैसियत त्योवेला भारतसँग थिएन,’ केसीले भने, ‘भारतको आन्तरिक कारणले मात्र होइन कि नेपालको चीनसँग मजबुत अन्तर्राष्ट्रिय सम्बन्ध र प्रतिबद्ध सरकार भएको हुनाले भारतले हस्तक्षेप गर्न सजिलो थिएन ।’
सन् १९७५ मा सिक्किमलाई भारतमा गाभ्न रअका तत्कालीन प्रमुख काओको निर्देशन र योजनामा ‘र’ अधिकारीहरू के शंकरण नैयर, पिएन बनर्जी र एजित सिंह सयाली र जिबिएस सिन्धुले प्रत्यक्ष भूमिका निर्वाह गरेका थिए । तराई विभाजनसम्बन्धी योजना बनाउन पनि सोही टिम संलग्न थियो । त्यतिवेला बनर्जी ‘र’को कोलकाता स्टेसनका प्रमुख थिए भने सयाली सिक्किममै रहेर विलयका लागि तत्कालीन नेता काजी लेन्डुप दोर्जी र उनी समर्थक कार्यकर्तालाई आफ्नो प्रभावमा पारेका थिए ।
तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूका पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) समेत रहेका काओलाई १९६८ मा ‘र’को स्थापनासँगै चिफ बनाइएको थियो । इन्टेलिजेन्स ब्युरोबाट दुई सय ५० जनाको जनशक्तिसहित रअ’को स्थापना भएको यादवले किताबमा उल्लेख गरेका छन् । १० मे १९१८ मा बनारसमा कास्मिरी पण्डित परिवारमा जन्मेका काओको २० जनवरी २००२ मा मुटुको व्यथाले मृत्यु भएको थियो ।
सिक्किम विलयको भित्री पाटो सन् २०२७ पछि मात्रै सार्वजनिक हुने यादवले किताबमा उल्लेख गरेका छन् । ‘चीन र अमेरिकाजस्ता शक्तिराष्ट्रबाट उत्पन्न हुने जोखिममाझ तीन हजार वर्गमाइल क्षेत्रफल ओगटेको सिक्किम गाभियो । काओले त्यसबारे विस्तृत संस्मरण लेखेका छन् जसलाई नेहरू मेमोरियल म्युजियम एन्ड लाइब्रेरीमा राखिएको छ, काओले आफ्नो निधन भएको २५ वर्षपछि मात्र त्यो सार्वजनिक गर्नू भनेका छन् । सन् २०२७ पछि त्यो सम्भवतस् खुल्नेछ,’ यादवले लेखेका छन् ।
सन् १९७१ मा बंगलादेश निर्माण (पाकिस्तान विभाजन)मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका काओले १९७५ मै भारतमा माओवादी खतराको मूल्यांकन गरेको र अहिले सरकारले गम्भीर आन्तरिक सुरक्षा चुनौती स्वीकार गर्नुपरेको पनि यादवको विश्लेषण छ ।
0 comments:
Post a Comment