Sponsor

यसरी भयो क्यान स्थापना

विसं १९९५-९६ तिर महेन्द्रशमशेर सानो गौचरनमा क्रिकेट खेल्थे । त्यतिबेला क्रिकेट खुला रूपमा खेलिँदैन्थ्यो । पहुँचवाला राणाहरूको महलमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो । त्यसका कारण थिए, राणा प्रधानमन्त्री जुद्धशमशेर ।


एकपल्ट जुद्धशमशेर लमक-लमक गर्दै हात्ती चढेर सहरतर्फ आउँदै गर्दा उनले देखेछन्, सानो टुँडिखेल -हालको आर्मी हेडक्वार्टर)मा एक हुल केटाहरू क्रिकेट खेलिरहेका । त्यो देखेर अत्तालिएका जुद्धशमशेरले तत्कालै आदेश दिएछन्, यस्तो डरलाग्दो खेल खेल्नु हुन्न । बरु यसभन्दा हकी बेस । नेपालमा क्रिकेटलाई लोकपि्रय बनाउन मदनशमशेर खुब खटिएका थिए । त्यसको पनि कारण थियो, त्यतिबेला राणा प्रधानमन्त्री थिए, उनकै पिता चन्द्रशमशेर । त्यसैले चन्द्रशमशेरका पालामा नेपालमा क्रिकेटको चहलपहल सुरु भइसकेको थियो । भरतशमशेरका छोरा ब्रह्मशमशेरको बबरमहल, मदनशमशेरको श्रीदरबार, अर्जुनशमशेरको सिंह महल र नरशमशेरको बहादुर भवनमा क्रिकेटको ठूलै चहलपहल हुन्थ्यो । तर, जुद्धशमशेरका पालामा आएर क्रिकेटले छोटो समय प्रतिबन्ध झेल्नुपर्‍यो । दरबारभित्र हुने क्रिकेट प्रतियोगितामा प्रायः दरबारभित्रै कार्यरत कर्मचारी सक्रिय हुन्थे । यसमा बढी सक्रिय थियो, दीक्षित परिवार । त्यतिबेला ३५-४० ओभरको खेल हुन्थ्यो । पाटन क्रिकेटका लागि सबैभन्दा उपयुक्त स्थल मानिन्थ्यो । दरबारमा क्रिकेट सिके पनि त्यहाँ कार्यरत थुप्रै कर्मचारी आफ्नो छुट्टै टोली बनाउन आतुर थिए । किनभने, दरबारबाट खेल्दा आफ्नो उपस्थिति दरिलो नहुने र मौका पाउन पनि गाह्रो पथ्र्यो । विसं २००१ सम्म आइपुग्दा कल्याणमणि दीक्षित, त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, सिंहप्रताप शाह र कुमारमणि दीक्षितजस्ता प्रतिभा देखा परिसकेका थिए । यिनीहरूले नै आफ्नो छुट्टै टोली बनाएर त्यही साल सानो गौचरनमा भारतीय दूतावाससँग मैत्रीपूर्ण खेल खेलेका थिए । यी खेलाडीको दरबारबाहिरको यो पहिलो खेल थियो । यी खेलाडी सम्मिलित टोलीले पछि मदनशमशेरको टोलीसँग पनि दुइटा म्याच खेलेको थियो । यसरी नै आफ्नो छुट्टै समूह बनाएर करिब दुई वर्ष क्रिकेट खेलेका खेलाडीको समूहले २००३ सालमा एउटा क्लब स्थापना गर्ने निर्णय गर्‍यो । र, क्लबको नाम जुराइयो, क्रिकेट एसोसिएसन अफ नेपाल -क्यान) । क्यान स्थापना इङ्ल्यान्डको चर्चित मेरिलेबोन क्रिकेट क्लब -एमसीसी)को अवधारणा अन्तर्गत भएको थियो । राणाहरूको टोलीविरुद्ध कडा प्रतिस्पर्धा गर्ने उद्देश्यले स्थापना भएको १२ सदस्यीय क्यानको संस्थापक अध्यक्ष थिए, सिंहप्रताप शाह । कुमारमणि महासचिव । यस्तै, अन्य सदस्यमा त्रैलोक्यनाथ उप्रेती, शारदाभक्त पन्त, मुकुन्दशमशेर थापा, पीताम्बरशमशेर थापा, कल्याणमणि दीक्षित, बन्सीराम भण्डारी, द्वारिकानाथ रेग्मी, रेशमराज, नरेन्द्र राणा र तारादेव भट्टराई । क्यानको स्थापनाअघि कुमारमणिले आफ्ना पिताजीमार्फत त्यतिबेलाका चिफ साहेब मोहनशमशेरबाट स्वीकृति लिएका थिए । "सुरुमा क्यान क्लबका रूपमा थियो । पछि मात्र यसले संघको रूपमा मान्यता पायो," क्यानको अध्यक्षका रूपमा करिब ४० वर्ष बिताएका जयकुमारनाथ शाह भन्छन् । यस्तै, क्यानमा लामो समय सक्रिय अर्का पूर्वक्रिकेटर माधव रिमाल क्रिकेटमा सोखिन व्यक्तिहरू मिलेर क्यान गठन गरेको सम्झन्छन् । ००७ सालमा प्रजातन्त्र आएपछि क्यानकै झन्डामुनि ००८ सालमा नेपाली खेलाडी देशबाहिर पहिलो क्रिकेट प्रतियोगिता खेल्न भारतको पटना पुगेको थियो । नरशमशेरको सक्रियतामा प्लेन चढेर पटना उडेको नेपालले पटना मेडिकल कलेज मैदानमा चारवटा मैत्री खेल खेलेको थियो । यो प्रतियोगिता खेल्न क्यान टोलीलाई सरकारले पैसा उपलब्ध गराएको थियो । त्यतिबेला प्रतियोगिता खेल्न जानुअघि आर्थिक सहयोग माग गर्दै क्यानका पदाधिकारी तथा खेलाडी तत्कालीन युवराज महेन्द्रकहाँ पुगेका थिए । यतिबेला चन्दाबापत ३-४ हजार रुपियाँ पनि उठाइएको थियो । नरशमशेरकै सक्रियतामा तीन वर्षपछि ०११ सालमा फेरि क्यान टोली कोलकातामा मैत्रीपूर्ण खेल खेल्न गएको थियो । क्यान स्थापनापछि कल्याणमणि र कुमारमणि ००६ सालमा भएको पहिलो एसियन क्रिकेट कन्प|mेन्समा भाग लिन भारतको कोलकाता पुगेका थिए । त्यो मिटिङमा नेपाललगायत भारत, पाकिस्तान, बर्मा, सिलोन -श्रीलंका) र मलेसिया समावेश थिए । क्लबका रूपमा दर्ता भए पनि क्यानले त्यतिबेला क्रिकेटरहरूलाई एकजुट पार्न सफल भएको थियो । त्यसैले ०१५ सालमा नेपाली खेलकुदलाई व्यवस्थित गर्न राष्ट्रिय खेलकुद परिषद् स्थापना हुँदा क्यानलाई क्रिकेटको आधिकारिक संस्थाको मान्यता दिइयो ।


 लोगोमा गैँडा 


 नेपाल क्रिकेट संघ (क्यान)को लोगो गैँडा हुनुमा रोचक कहानी जोडिएको छ । राणाहरूको दरबारबाहिर पनि क्रिकेट खेल्ने उद्देश्यले ००३ सालमा क्यानको स्थापना हुँदा यसको लोगो के राख्ने भन्ने विषयमा ठूलै विचार विमर्श भएको थियो । तर, तत्कालीन महासचिव कुमारमणि दीक्षितले गैँडा राख्ने प्रस्ताव अघि सारेपछि सहजै स्वीकृत भयो । दुई वर्षअघि ८९ वर्षको उमेरमा निधन हुनुअघि दिएको अन्तर्वार्तामा उनले एउटा ल्याटिन उपन्यासमा पढेको 'राइनो अट्याक्ट इन द स्टम्प' भन्ने वाक्यबाट आफूलाई क्यानको लोगोमा गँैडा राख्ने प्रेरणा मिलेको बताएका थिए । "मैले गैँडाले जस्तै क्रिकेटमा पनि अट्याक गर्ने स्टम्पलाई नै हो भन्ने तर्क राखेपछि पास भयो," उनले पाँच वर्षअघि अन्तर्वार्ताका क्रममा भनेका थिए ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment