सिंगो माओवादी आन्दोलनमा एउटा नाम जबर्जस्त जोडिएर आउँछ, नन्दकिशोर पुन ‘पासाङ’ । राङसी–९, रोल्पाका नन्दकिशोर पुनलाई जनयुद्धले ‘पासाङ’ बनायो । जनयुद्धमा छद्म नाम राख्ने प्रचलनअनुरुप पुनले आफ्नो नाम पासाङ राखेका हुन् । जनयुद्धको तयारी र सुरुवाती चरणमा भने उनले आफ्नो नाम ‘लिफङ’ राखेका थिए ।
पासाङको जन्म रोल्पाको राङसी–९ मा ७ कात्तिक ०२२ मा भएको हो, बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट । पुन पाँच भाइमध्ये माइला हुन् । उनका तीन दिदीबहिनी छन् ।
रोल्पाको किसान परिवारमा जन्मेका पासाङले बाल्यकालमा निकै कष्ट र अभाव झेलेर आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए ।
किसान परिवारका पासाङका बाबु रामसुरको सम्पत्ति गाउँका ठालुले खोसेका थिए । पछि रामसुर मुद्दा लडे र प्युठान अड्डाबाट मुद्दा जितेर खोसिएको सम्पत्ति फिर्ता लिए । ८२ वर्षीय रामसुर अझै पनि गाउँमा कृषिमा सक्रिय छन् ।
पासाङका पाँचै दाजुभाइले आइएभन्दा माथिको अध्ययन गरेका छन् । जेठा दाजु वीरबहादुर पुन इन्जिनियर, साइलो भाइ भीमप्रकाश उच्च माविको प्राचार्य, काइला भाइ दीपक शिक्षण पेसा छाडेर खेती कृषिमा लागेका छन् । कान्छो भाइ कमल भने अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुँदा राज्य दमनको सिकार भए ।
पासाङको प्रेमविवाह भएको हो, जंकोट–१ माडिचौरकी हस्तमाली पुनसँग, ०३९ मा, जतिबेला पासाङ ९ कक्षामा पढ्दै थिए । पासाङका दुई छोरा छन्, जेठा जितेन्द्र र कान्छा दिपेश । जनयुद्धमा हस्तमाली स्थानीय पार्टी कमिटीमा थिइन् । छोराहरू जितेन्द्र र दिपेश पनि सानै उमेरमा पढाइ छाडेर बन्दुक बोकेर जनयुद्धमा सहभागी भए ।
सात कक्षामा पढ्दै गर्दा प्रहरी वारेन्ट
आठ वर्षमा स्थानीय प्राविबाट तीन कक्षा उत्तीर्ण गरेपछि तत्कालीन निमावि राङसीमा भर्ना भएका पासाङले ०७३ सालमा सात कक्षा उत्तीर्ण गरे । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना हुन पुगेका पासाङलाई प्रहरीले वारेन्ट जारी गरेको थियो । प्रहरीको वारेन्टसँगै विद्यालय प्रशासनले स्कुल वा राजनीतिमध्ये एक छान्न चेतावनी दिएसँगै उनी थवाङ गएर पढ्न थाले ।
सात कक्षा पढ्दा अनेरास्ववियु छैटौंको इकाइ अध्यक्ष रहेका पासाङ सोही विद्यालयबाट दोस्रो जिल्ला सम्मेलनको प्रतिनिधि भएका थिए । त्यतिबेला जिल्ला सम्मेलनमा सहभागी हुन जाँदा दिनभर ओढारमा लुकेर फर्केको कुरा पासाङले यसअघि नै सार्वजनिक गरेका छन् ।
लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा उनी थप सक्रिय भएका थिए । ०४२ सालमा थवाङबाट एसएलसी उत्तीर्ण गरेका पासाङले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट आईएसम्मको अध्ययन पूरा गरेका थिए । ०४५ मा दाङमा क्याम्पसमा पढ्दा उनी मशाल समूहको अध्यक्ष थिए ।
टाउकाको मूल्य र पाखुरामा गोली
राज्यविरुद्ध लागेको आरोपमा प्रशासनले पासाङको टाउकाको मूल्य जनयुद्ध अगाडि नै तोक्यो, रुपैयाँ ३५ हजार । ‘जहाँ भेट्यो त्यहीं मार्नू’ भनेर प्रशासनले प्रहरी परिचालन गर्यो । नेकपा (माओवादी) माओवादी नबन्दैको पार्टीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि प्रशासनले उनलाई बढी टार्गेट गर्यो । ०५१ को स्थानीय चुनावका बेला पक्रेर १५ दिन हिरासतमा राख्यो । पछि ९ मंसिर ०५१ मा गाउँमा मेला लागेका बेला इरिबाङको चप्कामा प्रहरीले उनलाई पक्राउ गर्न खोज्यो । लाठी चलाउन माहिर पासाङले प्रहरीलाई लाठीले ढालेर भाग्दै गर्दा प्रहरीले गोली चलायो । त्यो गोली पासाङको पाखुरामा लागेको थियो । पासाङले आफ्ना पितासँग लाठी चलाउने कला सिकेका थिए । मेलामा प्रहरीबाट स्थानीय लोकबहादुर घर्ती र मनबहादुर पुन मारिए ।
त्यसपछि पासाङ पूर्ण भूमिगत भए । प्रहरीबाट बच्न उनले जनयुद्धअघि नै आफ्नो घरभित्र २५ मिटर लामो सुरुङ खनेका थिए । जनयुद्ध सुरु भएको एक महिनापछि उनकी आमाको निधन भयो । आमाको अन्तिम पुण्यतिथिमा पासाङ घर पुग्न सक्ने आशंकामा प्रहरीले छापामा मार्यो । त्यहीबेला प्रहरीले सुरुङबारे थाहा पाएको थियो । प्रहरीले सुरुङमा पासाङलाई त भेटेन, तर काइँला भाइ दीपकलाई भेट्यो । गोली चलाएर घाइते बनाई गिरफ्तार गर्यो । दीपक झन्डै पाँच वर्ष जेल बसे ।
पार्टी राजनीति
पासाङ ०४६ सालमा तत्कालीन मशालको पार्टी सदस्य भएका हुन् । वासुदेव भन्ने नेताले पार्टी सदस्यता दिएका थिए । पछि शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गरे । ०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकता केन्द्र मशालको सदस्य तथा युवक संगठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा ०४८ सालदेखि नै पूर्णकालीन सदस्य भएर काम गरे ।
एकताकेन्द्र बनेलगत्तै भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा सेक्रेटरी रहेको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य थिए । पासाङ जनयुद्धको तयारी गर्दा वाइसिएल रोल्पा जिल्लाअध्यक्ष र सैन्य प्रशिक्षक भए । १ फागुन ०५२ मा तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा आक्रमण गर्यो । त्यही क्रममा रोल्पाको होलेरीस्थिति इलाका प्रहरी कार्यालय आक्रमण गर्दा पासाङ उत्तरपश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर थिए ।
पासाङ ०५४ मा पार्टीको क्षेत्रीय ब्युरो सदस्य भए । ०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा ०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटब्युरो सदस्य बने । ०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका पासाङ ०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिए । सोही जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यहरूको निर्वाचनमा उनी स्थायी समिति सदस्यमा निर्वाचित भए ।
राज्यविरुद्ध लागेको आरोपमा प्रशासनले पासाङको टाउकाको मूल्य जनयुद्ध अगाडि नै तोक्यो, रुपैयाँ ३५ हजार । ‘जहाँ भेट्यो त्यहीं मार्नू’ भनेर प्रशासनले प्रहरी परिचालन गर्यो ।
सैन्य यात्रा
०५२ मा जनयुद्धको थालनी भएको घोषणा गर्न गरिएको चारमध्ये होलेरी आक्रमणका सहकमान्डर पासाङ पछि कमान्डर बने । रोल्पामा तीनवटा लडाकु दल थिए, ती सबैलाई मिलाएर माओवादीले स्वयंसेवक दल बनायो र त्यही दलले होलेरीमा आक्रमण गर्यो ।
माओवादीले ०५३ मा विभिन्न दलहरूलाई स्क्वायडमा रूपान्तरण गर्यो, तीन स्क्वायडको कमान्ड पासाङले गरे । ०५५ मा टास्कफोर्स बन्यो । त्यसको कमान्डर पनि पासाङ भए । ०५६ मा प्लाटुनहरूलाई समेटेर कम्पनी बन्यो, त्यसको पनि कमान्डर पासाङ भए ।
सरकारसँगको पहिलो वार्ता असफल हुन लागेपछि ०५८ कात्तिकमा माओवादीले रोल्पाको कुरेलीमा सैन्य भेला गरेर औपचारिक रुपमा जनमुक्ति सेनाको गठन गर्यो । बटालियन स्तरको संरचना बनायो । त्यो बटालियनको कमान्डर पासाङ भए । ०५९ मा माओवादीले जनमुक्ति सेनाको ब्रिगेड संरचना बनायो, कमान्डर पासाङ नै भए । त्यसपछि बनेको दुईवटा डिभिजनमा उनी पश्चिम डिभिजन कमान्डर भए । पूर्वी डिभिजन कमान्डर वर्षमान पुन थिए । लगत्तै माओवादीले तीनवटा डिभिजन बनायो । पासाङ मध्य, अनन्त पूर्व र जनार्दन शर्मा प्रभाकर पश्चिम डिभिजनको कमान्डर भए । ०६२ मा भएको बहुचर्चित चुनबाङ बैठकपछि माओवादीले सातवटा डिभिजन बनायो । अध्यक्ष प्रचण्ड सुप्रिम कमान्डर तथा अनन्त, पासाङ, प्रभाकर र चन्द्रप्रकाश खनाल बलदेव डेपुटी कमान्डर बने । शान्ति प्रक्रियापछि प्रचण्डले सुप्रिम कमान्डर छाडेपछि जनमुक्ति सेनाको प्रमुख पासाङ भए । माओवादीले सैन्य संरचना बनाएको सुरुदेखि अन्तिमसम्म प्रमुख कमान्डर बने ।
‘हारे हतकडी, जिते संसार’को कसम खाएर जनयुद्धमा लागेका पासाङको नाम युद्धकालभरि चर्चामा रह्यो । आफ्नो नेतृत्वमा आफैं आक्रमणको योजना बनाएर अगाडि बढ्ने फौजी कमान्डरको पहिचान बनाएका पासाङले आफ्ना कमान्डका कुनै लडाइँ हारेनन् ।
युद्धकालभरि जितको कथा रचेका पासाङ दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–४ बाट कांग्रेस नेता गगन थापासित पराजित भएका थिए ।
प्रमख सैन्य कारबाही
आफ्नो नेतृत्वमा आक्रमण गर्ने हो भने पासाङले सबै योजना आफैँ बनाउँथे । परिपक्व तयारी गर्ने र हिम्मतका साथ लडाइँको नेतृत्व गर्ने उनको कुशल नेतृत्व शैली धेरैले प्रशंसा गर्छन् । उनको नेतृत्वमा भएको कुनै पनि लडाईं माओवादीले हारेन ।
पश्चिम नेपालमा माओवादीले गरेको ठुल्ठूला लडाइँ, जुन माओवादीले जितको छ, सबै पासाङकै नेतृत्व, रक्की र योजनामा भएका थिए ।
पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उनकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम लिस्नेमा तत्कालीन शाहीसेनालाई पराजित गर्दा पासाङ नै कमान्डर थिए ।
शान्ति प्रक्रियाका नायक
शान्तिप्रक्रिया जारी रहँदाभर उनले जनसेनालाई संयमतासाथ जिम्मेवार बनाएर राखे । सातवटै डिभिजनका कमान्डरले उनलाई साथ दिए । यसमा उनको सैन्य नेतृत्व कलाले काम गर्यो ।
शान्तिप्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्र संघ अन्तर्गतको जिएमसिसीको भाइस कमान्डर रहेर काम गर्ने क्रममा उनले जर्मन, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, बेल्जियम, चीन, भारत, बर्मा, थाइल्यान्डलगायत मुलुकमा पुगेर नेपालको शान्ति प्रक्रियाबारे क्लास दिए ।
राष्ट्रभक्त
पासाङ राष्ट्रियताप्रति निकै संवेदनशील छन् । नेपालमा जे छ, त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उनको बानी छ । १७ जेठ ०६९ मा उनको दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेको थियो । उनी मृत्युको संघारमा थिए । सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्न थालेको प्रयासलाई उनले अस्वीकार गरे ।
उनले अस्पतालको आइसियु कक्षबाट घोषणा गरे, ‘साधारण नागरिकले जस्तै नेपालमै उपचार गर्छु, मर्नुपरे नेपालमै मर्छु, तर विदेशमा गएर उपचार गर्दिनँ ।’ जतिबेला डाक्टरले अवस्था ‘क्रिटिकल’ भएको र दुवै मिर्गौलाले ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगिसकेको बताएका थिए । पछि मिर्गौला नाटकीय रुपमा ‘रिकभर’ हुनु उनीमा भएको बलियो आत्मबलले काम गरेको बताउँछन् डाक्टरहरू । पासाङले नेपालका अस्पताल र नेपालका डाक्टरहरूप्रति आफ्नो पूर्ण विश्वास भएको बताएका थिए ।
दक्ष प्राविधिक
पासाङ सैनिक कमान्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिक पनि हुन् । जनयुद्धको सुरु भएको एक वर्षपछि उनले बार बोर बन्दुक बनाए । त्यसपछि प्राविधिक विभागको प्रमुखको जिम्मा पनि सम्हालेर थ्री–नट–थ्री राइफल, कतुवा पेस्तोल, टु–इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल बनाए । पछि जनसेनाले जनसैन्य प्रतिष्ठान बनायो, अलग्गै प्राविधिक विभाग बनायो, त्यो विभागले हतियारहरूको आविष्कार पनि गर्दै गयो ।
पुस्तक र साहित्य
जनयुद्धमा माओवादीले बनाएको सैन्य संरचनाका लागि आवश्यक पर्ने सैन्य कोर्स पासाङले नै बनाएका हुन् । त्यसक्रममा उनले माओको बेसिक ट्याक्टिस, क्लसबिथको अन वार, सन्जुको आर्ट अप वारलगायत सैन्य विज्ञानका पुस्तक अध्ययन गरे । आफ्नो अनुभव र ती पुस्तकको अध्ययनका आधारमा उनले ‘आधारभूत सैन्य शिक्षा’ कोर्स तयार पारे, भाग १ देखि भाग ५ सम्मको । त्यही कोर्सको आधारमा माओवादीले युद्ध लड्यो ।
उनको साहित्यमा पनि विशेष रुचि छ । थुपै्र फुटकर गीत तथा कविता लेखेका छन् । केही गीत संगीतबद्ध हुन बाँकी छन् । वर्ग संघर्षको चरणमा उनले लेखेको ‘जनताहरू जाग्दै छन्, जाग्दै छन्’ गीत चर्चित थियो । युद्ध उत्कर्षमा चढ्दै गर्दा हामी राता मान्छे, हुरीका सन्तान हौं हामी’ गीत निकै चर्चित रहे । शान्ति प्रक्रियापछि लेखेको उनको पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अंग्रेजी भाषामा प्रकाशित छ ।
मृत्यु नजिक
पासाङ जनयुद्धअगाडि, जनयुद्ध र जनयुद्धपछाडि गरी दर्जनाँैपटक मृत्युको मुखबाट फर्कनुभएको छ । जनयुद्ध सुरु हुनुअघि ०५१ मै प्रशासनले उनको टाउकोको मूल्य तोकिएको थियो । ९ मंसिर ०५१ मा उनको घरनजिकै चल्ने स्थानीय मेलामा प्रहरीले प्रहार गरेको गोली उनको छातीमा लाग्यो । तर भागेर बाँच्न सफल भए । २१ चैत ०५६ मा उनकै नेतृत्वमा लडाकु दलले रुकुमको तकसेरामा रहेको इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्दा प्रहरीको जवाफी फायरको गोली उनको आँखा छेउबाट गयो । उनको एउटा आ“खा क्लियर छैन ।
२४ वैशाख ०६९ मा तत्कालीन जनमुक्ति सेनाले रोल्पाको गाममा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेकमाथि हमला गर्यो । आक्रमणका कमान्डर पासाङ सहयोगीसहित ब्यारेकतर्फ बढ्दै गर्दा प्लाटुन कमान्डर धर्मेन्द्रले उनलाई रोकेर आफू अगाडि बढ्नुभयो । आर्मीको गोली धर्मेन्द्रलाई लाग्यो । र, उनको सहादत भयो । धर्मेन्द्रले पासाङलाई रोकेर अगाडि नबढेको भए त्यो गोली पासाङलाई लाग्नेवाला थियो ।
त्यसो त उनी शान्ति प्रक्रियापछि पनि एकपटक गम्भीर बिरामी परे । तर, बलियो आत्मबलका कारण मृत्युलाई जिते ।
आफ्नै मृत्युको खबर
जनयुद्धको दौरान पासाङले थुपै्रपटक आफ्नो मृत्युको खबर सुने । केही मुत्युको खबरको आफैँले खण्डन गरे । १९ वैशाख ०५९ मा रोल्पाको लिस्नेमा रहेको आर्मी क्याम्पमा तत्कालीन जनमुक्ति सेनाले आक्रमण गर्दा रेडियो नेपालले ‘लिस्ने जंगलमा लुकेर बसेका आतंककारीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा सात सय माओवादी मारिएका छन् । हालसम्मको ठूलो क्षति माओवादी आतंककारीहरूले व्यहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुन सक्ने आशंका गरिएको छ’ भनेको थियो ।
कुनै सुविधाको पद लिएनन्
माओवादी शान्ति प्रक्रियामा आएको झन्डै १० वर्ष पुग्न लाग्दा पनि पासाङले कुनै पनि सुविधाको पद लिएनन् । उनका धेरै सहपाठी कोही मन्त्री कोही सभासद् र कोहीले अन्य राजनीतिक नियुक्ति खाइसकेका छन् ।
अहिले उनी गणतन्त्र नेपालको दोस्रो उप–राष्ट्रपतिमा निर्वाचित हुँदै बहादुर भवनको यात्रा तय गर्न सफल भएका छन् ।
भूकम्पपछि टहरोमा
१२ वैशाखमा आएको विनाशकारी भूकम्पपछि उनी आफू पराजित भएको क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनामा सक्रिय भए । कपनस्थित डेरा घर चर्किएपछि उनी त्यसयता टहरोमा बस्दै आएका छन् ।
Source:- ratopati.com
0 comments:
Post a Comment