श्रीदेव शर्मा |
नेपाल चीन सिमाको सुरुवातको एउटा इतिहास छ । वि.सं. २०१७ सालमा नेपाली सेनाका सुवेदार लालबहादुर मुस्ताङ क्षेत्रमा घुम्न जाँदा चीनिया सैनिकले गोली हानी हत्या गर्यो । यो सँगै त्यस क्षेत्रमा सिमा विवाद उत्पन्न भयो । त्यस बेला म नापी विभागको कर्मचारी थिए । सर्वेयर पदमा कार्यरत । उक्त घटनापछि चीनियाँ पक्ष मुस्ताङको उक्त क्षेत्र हाम्रो हो भन्ने र नेपालको सरकार हाम्रो हो भन्ने विवाद चल्यो । उक्त विवाद समाधानका लागि मलाई उक्त क्षेत्रमा के भएको हो भनी पत्ता लगाउनका तत्कालिन श्री ५ सरकारले त्यसतर्फ पठायो । यसपछि मात्र नेपाल-चीन सीमाको काम सुरु भएको हो ।
मुस्ताङपछि ‘तिङ्कर–लिपु–लग्ना’ मा खटिएँ
मुस्ताङमा भएको सिमा विवादका विषयमा मैले श्री ५ को सरकारलाई विस्तृत विवरण पेश गरेको थिए । मैले बुझाएको विवरण र मेरो कामबाट प्रभावित भएर मलाई सरकारले ‘नारा’ यो जुन लिपु लेक क्षेत्र छ, तिङ्कर लिपु भञ्ज्याङ्को लागि सर्वे गर्न पठायो । ‘तिङ्कर–लिपु–लग्ना’ त्यसलाई व्यास ऋषी हिमाल भनिन्थ्यो त्यतिवेला ।
वि.सं. २०१९ सालमा म त्यस क्षेत्रमा पुग्दा भारतीय सेना त्यहाँ क्याम्प बनाएर बसेका थिए । नेपाल र भारतको सिमाको दुरी २५ किलोमिटरभन्दा बढी छैन । म आएर उनीहरुलाई सोधेँ, ‘तपाईँहरु यहाँ आएर किन बस्नुभयो ? यो नेपालको भूमि हो ।’ उनीहरुले आफूँहरु अर्डर आएर बसेको र जे भारत सरकारले जिम्मा लगाउँछ हामीले त्यही गर्ने हो भने । त्यसपछि हामीले आएर नेपाल सरकारलाई रिपोर्टिङ् गर्यौँ । त्यसपछि कहाँ बाट हामीले सर्वे गर्ने भनेर सोध्यौँ ।
‘तिङ्कर–पिलु–लग्ना’ मा काठको सिमास्तम्भ गाड्यौँ
धेरै देशमा पनि सिमाको काम गर्ने सर्वेयरहरु हुनुहुन्थ्यो । मेजर पदमबहादुर खत्री नेपाल चीन सिमा कमिटिमा उहाँ प्रमुख हुनुहुन्थ्यो । यो सिमानाको सुरुवात लिपुलेक छाडेर, लिपुलेकको स्केच मात्र बनाएर छाडियो ।
चीनिया पक्षबाट लिपुलेकको नक्सा मात्र बनाउने, दक्षिणतिर नजाने र यो सिमा कहाँ जोडियो भनेर पछि तीन सरकार बसेर टुंगो लगाउने गरी त्यसवेला ‘तिङ्कर–पिलु–लग्ना’ बाट सर्वे सुरु गर्ने र त्यहीँ नै काठको सिमास्तम्भ खडा गर्ने गरी काम थाल्यौँ । र हामीले चार माइलको ट्रोपोग्राफिक सर्वे गर्यौँ ।
नक्सा बनाउनुभन्दा अगाडि हामीले चार माइलको सर्वे गर्यौँ नहर हाउस भनेर ।
त्यसैलाई हामीले हाम्रो सिमारेखाको १ नं. पिल्लर कायम गर्यौँ तिङ्करमा । र त्यसपछि हाम्रो सिमारेखा पुरै लग्न तिर गुज्रिन गयो । त्यहाँ हामीलाई कुनै काम गर्न अफ्ठ्यारो परेन् । चीनिया पक्ष र हामी बसेर काम गर्यौँ । त्यहाँ काम गर्दा हामीलाई केही मानिसहरुले सोध्ने गर्थे, ‘सिमाना कहाँ कहाँ पर्यो ?’ भनेर । हामीले तिङ्करमा पर्यो भन्यौँ । त्यो पनि ‘पानी ढल’ सिद्धान्त (जहाँबाट मुहान सुरु हुन्छ, त्यहीँबाट सिमा सुरु हुने सिद्धान्त) अनुसार तिङ्करमा सिमाको एक नं. स्तम्भ कायम भएको हो ।
त्यसपछि मेरो एरिया मानसरोवर भन्दा दक्षिण लाप्चेभञ्ज्याङ्मा पर्यो । हामी त्यहाँ सर्वे गर्न गयौँ । त्यहाँ पनि त्यस्तै गरी काम गर्यौँ । त्यो स्थान १२ नं. मा पर्न गयो ।
लाप्चे भञ्ज्याङ्मा सीमास्तम्भ खडा गरेपछि तस्बिरमा श्रीदेव र चीनिया अधिकारी ।
कुमाउका कमिस्नरको सन्देश दलाई लामालाई, ‘लिपुलेक नेपालको हो’
लिपुलेकको विषयमा मलाई अरु कुरा थाहा भएन् । यत्ति कुरा के थाहा भयो चीनिया पक्षबाट कि नेपाल र अङ्ग्रजेको युद्धपछि, कुमाउको कमिस्नरले दलाई लामा र उनको ‘क्यासल’ (मन्त्रालय जस्तो दलाई लामाले बनाएको संरचना) आज देखि नेपालको सिमाना लिपुलेक लग्नामा भयो भनेर सन्देश पठाएको रहेछ । लिपुलेक लग्ना कालीको पानी ढल (अरु नदी केही पनि छैन्) ‘पानीको ढलो’ त्यहाँबाट कायम भएको छ । लिपु नेपालको हो भन्ने यो प्रमाण चीनिया पक्षसँग छ भन्ने कुरा मैले चीनिया पक्षबाटै सुनेको हुँ ।
हामीले चीनिया पक्षको नक्सा हेर्यौँ । लिपुलेकको नक्सा थियो । उनीहरुसँग भएको नक्सा चीनिया भाषामा भएको हुनाले हामीले अरु बुझ्ने कुरै भएन् । सर्वे लाइनको हिसाबले यो ठाँउमा लिपुलेक छ भन्ने थाहा भयो । लिपुलेक हाम्रो हो भन्ने थाहा भयो । त्यो १ नं. सिमा थियो । उहाँहरुको लामो सिमाना भएकाले अरु पनि थियो । हामीले त्यसवेला एक पटक क्याम्पमा हेरेका थियौँ । हामीले नेपालको सिमा लिपुलेकमा पर्यो भन्ने कुरा नक्सा बनाएर हाम्रा टिम लिडरलाई बुझाएका थियौँ । हाम्रो टिम लिडर शाही नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल शेरबहादुर सिंह हुनुहुन्थ्यो, त्यो नक्सा उहाँलाई दिएका हौँ ।
सर्वे टोली र तत्कालिन शाहि नेपाली सेनाको साथमा श्रीदेव रातो घेरामा ।
ताक्लाकोटमा भारतीयको नाम थिएन
त्योबेला त्यस क्षेत्रमा व्यासीहरु बस्थे । उनीहरुले फापर र उवाको खेती गरेर तिब्बतमा लगेर बेच्ने गर्थे । त्यहाँबाट नुन ऊनको व्यापारको काम उनीहरु गर्थे । त्यो वेलामा ताक्लाकोट ठूलो बजार थियो । त्यहाँ भारतीय भनेको शब्द पनि थिएन् । खाली नेपालीहरुले व्यापार गर्थे । त्यो वेलामा व्यापार गर्ने नेपाली व्यासीहरु हुन् । नेपालको दार्चुलादेखि कुटी, गुञ्जीसम्मका गाउँहरुका उनीहरुले नै व्यापार गर्थे । तिब्बतको व्यापार, नाकाको हिसावले पनि व्यापारीहरुको हैसियतले पनि पुरै एकाधिकार नेपालीहरुकै थियो ।
नेपाल-चीन सीमा समितिको सर्वे टोलीमा श्रीदेव उभिएको लहर दायाँबाट दोस्रो ।
हामीलाई यसको बारेमा कसैले सोध्न आएन
राजनैतिक कुराहरु हामी कर्मचारीहरुले जान्दैनौँ । हामीलाई बोल्न हुने र नहुने भन्ने कुरा पनि थाहा भएन् । हामीलाई यस विषयमा कसैले सोध्न पनि आएन् ।
२०३८ सालमा म महाकालीको झुलाघाटमा भन्सार हाकिम बनेर जाँदा मैले धेरै गाडीहरु आएको देखेँ किन आयो भनेर सोध्दा, यहाँ नेपालमा भारतले बाँध बनाउँदै छ भनेर उनीहरुले भने । त्यतिवेला पनि नेपालका पत्रकारहरुले यो कुरा थाहा पाएका थिएनन् । कञ्चनपुर जस्तो ठाउँमा अञ्चलाधीश बस्ने ठाँउमा भारतले नेपालीभूमि अधिग्रहण गरेर बाँध बनाउँदासमेत यहाँ बोल्न सक्ने हैसियत भएको कोही थिएन् । त्यसवेला लिपुलेक हाम्रो हो भनेर बोल्ने कसैको तागत नै थिएन् ।
लिपुलेक नेपालको भन्ने पहिलो व्यक्ति को ?
लिपुलेक हाम्रो हो भनेर भन्ने, एक एक खुट्टाले कदम गनेर नाप्ने नेपालको पहिलो वृष्टिस राजदुत गार्डनर र हर्षदेव जोशी हुन् । त्यो वेला १८१६ मा गार्डनर कुमाउको कमिस्नर हुनुहन्थ्यो । उहाँहरुले त्यो क्षेत्रमा गएर खुट्टाले एक एक गरी नापेर नेपालको सिमाना छुट्टाएको हो लिपुलेकमा । पछि तिनै गार्डनर नेपालमा राजदुत भएर आए ।
ती नक्सा कहाँ छन् ?
नेपाल चीन सिमासम्बन्धि कुनै पनि कागज पेकिङ् (त्यतिवेलाको चीनको राजधानी) र काठमाडौँमा जस्ताको त्यस्तै छ । म २०१९ सालमा लिपुलेकमा पिल्लर गाड्न जाँदा त्यहाँ विभिन्न खालका सम्झौताहरु पनि भएका थिए ।
चरिचराउ, बसोबासको सन्धीहरुमा पनि मैले ल्याप्चेभञ्ज्याङ्मा बसेर हस्ताक्षर गरेको छु । त्यो कागजात जस्ताको तस्तै एउटा पनि फरक नपरेर परराष्ट्र मन्त्रालय र पेकिङ्मा छ ।
नक्साकोबारेमा नबोल्न भनेर दस्तखत गरायो
त्यतिवेला नेपाल चीन सम्बन्धको बारेमा । सिमा र नक्साको बारेमा कसैलाई पनि बोल्न दिइएको थिएन् । त्यतिवेला सातवटा टिम थिए । सातैवटा टिमका सदस्यलाई यस विषयमा बोल्ने छैनौँ भनेर हामीलाई कागज गराएको थियो ।
चीनको नागरिकता पायौँ
हामीले त्यतिवेला सिमाको सर्वे गर्नेवेलामा चीनिया नागरिकतासमेत पाएका थियौँ । हामी चीनिया नागरिक हौँ भनेर भन्न सक्ने खुबी पनि छ ।
चीन सरकारसँग दुःख लाग्छ
अहिले चीन र भारतले नेपालको भूमी प्रयोग गरेर व्यापार गर्ने भन्ने सम्झौता गरेको सुन्दा दुःख लागेको छ । चीन सरकारलाई यसमा न कुनै फाइदा छ । उसले नेपालको कहिल्यै पनि कुभलो गरेको छैन् । मलाई लाग्छ, चीनले अहिले पनि लिपुलेक नेपालको हो भन्दिने हो भने समस्याको समाधान हुन्छ ।
~ halkaro.com बाट ।
0 comments:
Post a Comment