Sponsor

फेसबुकले किन हटायो नाकाबन्दीबारेको यो लेख ?नाकाबन्दीबारे के लेखिएकाे थियाे ?

Vishal Arora
काठमाडाैं । भारतले नेपालाई दुई महिनाभन्दा बढी समयदेखि नाकाबन्दी गरेर संकट उत्पन्न गरिरहेको छ । भारतले नेपालको संविधानप्रति असन्तुष्टी जनाउँदै नाकाबन्दी गरेपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा नै यसको विरोधहरु भइरहेका छन् । भारतले गरेको नाकाबन्दी नेपालजस्तो भूपरिवेष्ठित मुलुकले पाउने अधिकारमाथिको आक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय जगतले छिमेकी मुलुकबाट पारवहन अधिकार रोक्न नहुने भनी ब्यापाक आलोचनाहरु भएका छन् ।

भारतले गरेको नाकाबन्दीको विषयलाई लिएर विशाल अरोराले R.I.P., India’s Influence in Nepal शीर्षकमा दी डिप्लोम्याटमा लेख लेखे । नेपालमा गरिएको नाकाबन्दी कुटनीतिक आत्महत्याको कदम भएको अरोराले टिप्पणी गरेका छन् । भारतले नेपाल–भारत सीमामा लगाएको नाकाबन्दीलाई नयाँ दिल्लीले आफ्नो बहादुरी ठानेको लेखकको बुझाई छ । भारतले गरेको नाकाबन्दीलाई नेपालमा वैशाख १२ को विनाशकारी भूकम्पपछि अर्को विपत्तिका रुपमा लिइएको छ । नाकाबन्दीले इन्धन संकट मात्र नभई औषधि तथा भूकम्पका राहत सामग्रीहरुको समेत आपूर्ति हुन सकिरहेको छैन ।




अरोराले लेखेको यो लेखलाई कतिपय नेपाली न्यूज पोर्टलहरुले भावानुवाद गरेर प्रकाशन पनि गरे । तर उनको लेखलाई सामाजिक सञ्जाल फेसबुकलाई शेयर गर्न रोक लगाएको छ । फेसबुकमा शेयर गरिएको यो लेख फेसबुक प्रशासनले हटाइदिएको छ ।
वास्तवमा यो भारतले गरेको नाकाबन्दी र यसले नेपालमा पारेको प्रभावका बारेमा अरोराको निजी विचार हो । जुन विचारले वास्तविकतालाई पनि केलाउने काम गरेको छ । तर नेपालमा नाकाबन्दी गरेर भारतले दिएको कष्टको बारेमा लेखिएको लेखलाई समाजिक सञ्जाल फेसबुकमा अटाउनै नसक्ने कुरा के थियो । आखिरमा फेसबुक नेपाली नागरिकको पनि मन मुटुमा बसिसकेको सामाजिक सञ्जाल हो । यसले अरोरालाई मात्र होइन, फेसबुक प्रयोगकर्ता नेपालीहरुको मन समेत दुखाएको छ ।

अरोरा लेख्छन्– नयाँ दिल्लीले नेपालका मधेसी कार्यकर्ताहरुले संघीय सिमांकन तथा संसद र सरकारी निकायहरुमा प्रतिनिधित्वका सन्दर्भमा नयाँ संविधानमा भएको व्यवस्थाप्रति असन्तुष्ट भएर गरेको उग्र प्रदर्शनलाई आपूर्ति अवरोधको कारणका रुपमा अघि सार्दै आएको छ । नेपालको दक्षिणी क्षेत्रमा रहेमा मधेसी नागरिकहरु बस्छन् जो भारतीय मूलका हुन् र उनीहरुमध्ये धेरैका आफन्त र साथीहरु भारतको सीमाभित्र छन् ।

चुहावट भएको एउटा दस्तावेज अनुसार नयाँ दिल्लीले काठमाडौंलाई नेपालको संविधानमा मधेसी जनताका चासोहरु सम्वोधन गर्न भनेको थियो । तर, नेपालका नीति निर्माताहरुलाई यसलाई लत्याए र ‘ठुल्दाई’ को अनुशासनमा आफूहरु नबस्ने संकेत दिए । नाकाबन्दीले गर्दा मधेसबाहेक सम्पूर्ण नेपालभरी भारतविरोधी भावना उच्चरुपमा फैलिएको छ । भारतप्रतिको बढ्दो घृणा कुनै सामाजिक विषयवस्तु मात्र नभएर राजनीतिक वास्तविकता पनि बनिरहेको छ ।

नाकाबन्दीभन्दा अगाडि नेपालका दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले भारतीय हितप्रति सहानुभूतिशील रहेको विश्वास गरिन्थ्यो । अहिलेको संविधानसभामा ६०१ सिटमध्ये यी दुई पार्टीको हिस्सा ३७१ सिट रहेको छ । आज यी दुवै शक्ति भारतको मित्रका रुपमा गणना गरिदैनन् ।

तेस्रो शक्तिका रुपमा रहेको एकीकृत नेपाल कम्प्युनिस्ट पार्टी माओवादी, जसको संसदमा ८० सीट छ, विगतदेखि नै भारतको समर्थक होइन । यस्तै संसदमा २४ सीट रहेको हिन्दूवादी दक्षिणपन्थी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जसले भारतको सत्ताधारी भारतीय जनता पार्टीको रुची अनुकुल नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनस्र्था्पित गर्नुपर्ने असफल माग राखेको थियो, ले समेत नाकाबन्दीपछि नयाँ दिल्लीको सार्वजनिक रुपमा आलोचना गर्दै आएको छ ।

गणित सरल छ । ६०१ सांसदमध्ये कम्तिमा ४७५ सांसदहरु एउटा ह्यासट्यागमा सहमत छन्, जुन उनीहरुको देशमा ट्रेन्ड भएको छ, ब्याकअफइन्डिया ।

नयाँ दिल्लीले नेपालमा लामो समयदेखि हस्तक्षपकारी अभ्यास ग¥यो । नेपालको अर्थतन्त्र भारतसित निर्भर रहेकाले मात्रै यो सम्भव भएको होइन, विगत केहि दशकमा नयाँ दिल्लीले उब्जनी गरेका थुप्रै प्रभावशाली स्थानीय मित्रहरुले गर्दा पनि हो । के विश्वास गरिन्छ भने, अहिलेको घटनाक्रमभन्दा भन्दा अगाडी नेपालले भारतको सहमति बेगर कुनै पनि ठूला राजनीतिक निर्णय लिएको थिएन ।

विश्वमा अन्यत्र रहेका क्षेत्रीय शक्तिहरुले जस्तै भारतले पनि आफ्ना स्थानीय मित्रहरुको सहयोगमा स्थानीय विवादहरुलाई दोहन गरेर आफ्ना कुटनीतिक लक्ष्यहरु हासिल गर्न सफल भयो । ती मित्रहरुले सधैं आफ्नो राष्ट्रको हितमा आघात पार्ने काम गरेनन् होला, तर पारस्परिक लाभ हुने विषयमा विदेशी सहयोग खुशीसाथ स्वीकार गरे । यो कुनै संयोग होइन, चाहे राजा ज्ञानेन्द्र हुन् वा माओवादी नेता प्रचण्ड हुन्, भारतको हस्तेक्षपलाई ‘काउन्टर’ गर्न जसले चीनको सहयोग लिन खोजे, उनीहरुले शक्ति गुमाए ।

वास्तवमा भारत भविश्यमा आफ्ना चाहनाहरुको परिपूर्तिका लागि फेरि पनि पर्दा पछाडिबाट खेल खेल्ने रणनीतिमा फर्किन सक्छ । तर, समस्या के छ भने यसका लागि नयाँ दिल्लीले आफू अनुकुलका स्थानीय मित्रहरु धेरै नभेट्न सक्छ ।

~khabardabali.com
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment